संसारका किसानका समस्यामाथि एउटै मञ्चमा विमर्श
वैकल्पिक विश्वको खोजीमा स्वीट्जरल्यान्डदेखि अफ्रिकासम्मका भूमिहीन किसान, सुकुम्बासी र आदिवासीले काठमाडौंमा एउटै मञ्चमा छलफल गरेका छन्।
काठमाडौंमा जारी विश्व सामाजिक मञ्चको १६औं सम्मेलनमा सहभागी विभिन्न देशका नागरिकले भूमिका लागि गरिरहेको संघर्षबारे आआफ्ना कथा सुनाएका हुन्। भारतका भूमि अधिकारकर्मी निकोलस बार्ला र मेवा साहारिया, स्वीट्जरल्यान्डकी बार्बरा, भारतको झारखण्डका चुन्नुलाल, केन्याका किराबा क्यारोबिकी र मालीका मसा कोनेले आफ्ना समस्या सुनाएका छन्।
आदिवासी भूमि अधिकारकर्मी निकोलस बार्लाले भारतमा विकासका नाममा किसानलाई विस्थापन गरिएको बताए। “विकासले भूमिहीनलाई न्याय दिनुभन्दा पनि विस्थापन गरिरहेको छ,” उनले भने।
त्यस्तै, नेपालमा भूमि अधिकारका क्षेत्रमा क्रियाशील जगत देउजाले भूमि सुधार विना समाजवादको कुरा सार्थक नहुने बताए। “भूमि जमीनको टुक्रा मात्र होइन, यो सामाजिक, आर्थिक र जीवनसँग जोडिएको छ,” देउजाले भने।
त्यस्तै, स्वीट्जरल्यान्डकी अभियन्ता बार्बराले त्यहाँ पनि किसानलाई समस्या भइरहेको सुनाइन्। “अहिले किसानको कपास बिक्दैन। उनीहरूको जीविकोपार्जनको स्रोत नै नभएको अवस्था छ,” उनले भनिन्।
उत्तर प्रदेशको झाँसीकी आदिवासी भूमि अधिकारकर्मी मेवा साहारियाले आफ्नो समुदाय जंगलमा बस्ने गरेको र अहिले विस्थापन भएको सुनाइन्। “पहिला खानेकुरा थियो। उनीहरू आत्मनिर्भर थिए तर अहिले झुप्रामा बस्छन्,” उनले भनिन्, “जमीन भनेको शिक्षा, स्वास्थ्य दिने साधन हो तर उनीहरू यसैबाट वञ्चित भइरहेका छन्।”
अर्का अभियन्ता चुन्नुलालले भूमिका लागि भएका आन्दोलनको चर्चा गरे। उनले सरकारले ल्याउने नीति कार्यान्वयन नहुँदा समस्या भएको बताए। “भूमि सम्बन्धी लोकप्रिय नीति ल्याइन्छ तर कहिले कार्यान्वयन हुँदैन,” उनले भने।
केन्याका अधिकारकर्मी किराबा क्यारोबिकीले भूमि आन्दोलनको उपलब्धि सुनाए। “केन्यामा कुनै पनि मान्छेलाई विस्थापन गरिएको छैन,” उनले भने, “विस्थापन नगरे पनि जीविकोपार्जनका लागि लडिरहनुपरेको छ।”
अफ्रिकी मुलुक मालीका अधिकारकर्मी मसा कोने विदेशीले प्राकृतिक स्रोतसाधनको दोहन गरेकाले समस्या भइरहेको बताए। “हाम्रो देश लामो समय उपनिवेशमा रह्यो। प्राकृतिक स्रोतको दोहन भयो,” उनले भने, “अहिले स्वतन्त्र त भयौं तर प्राकृतिक स्रोतको दोहन रोकिएको छैन, लडिरहनुपरेको छ।”
सम्मेलनमा सहभागी हुन विभिन्न देशका नागरिक काठमाडौंमा भेला भएका छन्। फागुन ३ देखि शुरू भएको सम्मेलन फागुन ७ गतेसम्म चल्नेछ।