पीडालाई शक्तिमा बदलें : चरीमाया तामाङ
मुम्बईबाट उद्धार भएर स्वदेश फर्किएपछि आफू जस्तै समस्यामा परेकाहरूका लागि काम गर्न शक्ति समूहमा आबद्ध भएको चरीमाया तामाङले बताइन्।
म उद्धार भएर आएको पनि २८ वर्ष भएछ।
विश्व सामाजिक मञ्चको १६औं सम्मेलनलाई सम्बोधन गर्ने क्रममा चरिमाया तामाङले २८ वर्ष अघिको त्यो घटना सम्झिइन्। यति भनिरहँदा उनका आँखा रसिला भएको प्रस्टै देखिन्थ्यो। सन् १९९६ फेब्रुअरी ५ मा उद्धार भएर स्वदेश फर्किने १८० जना किशोरीमध्ये एक थिइन्, चरीमाया तामाङ।
उनलाई सानैमा दलालले भारतको मुम्बई पुर्याएको थियो। तर आजसम्म त्यो घाउ दुखिरहन्छ। “यो समयसम्म मैले विभिन्न खालका सामाजिक लाञ्छना, आर्थिक कठिनाइ भोग्नुपर्यो। त्यो वेला सरकारले पनि हामीलाई नागरिक भनेर स्वीकार गरेको थिएन,” उनले भनिन्।
सम्मेलनमा आयोजित ‘मानव बेचबिखनको पहिचान र प्रतिक्रियाहरूको आयाम र प्रवृत्ति’ विषयक विमर्श कार्यक्रममा उनी पनि वक्ता थिइन्। भारतमा उद्धार गरिएपछि पनि ६ महीनासम्म नेपाल फर्किन नपाएको पीडा स्मरण गरिन्।
उनलाई त्यो कठिन परिस्थितिमा साथ दिने संस्थाहरू नभएको भए अहिले त्यो घटनालाई शक्तिमा बदल्ने हिम्मत आउँदैनथ्यो होला। कार्यक्रममा उनको त्यो कठिन परिस्थितिमा साथ दिने ओरेक, नवज्योति केन्द्र, एबीसी नेपाल, माइती नेपाल, स्त्री शक्ति, शान्ति पुन:स्थापना गृह लगायत संस्थाले गरेको सहयोग उनले सम्झिइन्।
अहिले उनी शक्ति समूहमा आबद्ध भएर आफू जस्तै बेचबिखनमा परेकाहरूको हक अधिकार र उद्धारका लागि खटिइरहेकी छन्। “मैले प्रयास गरें, यो शक्तिमा सबैको हातेमालो छ,” उनले भनिन्, “यो मञ्च पनि त्यस्तै अर्को एउटा हातेमालो गर्ने थलो हो।”
अहिले मानव बेचबिखनले झनै समस्या खडा गरिरहेको उनले बताइन्। यस्ता किसिमका समस्यामा परेका व्यक्तिको पहिचान कसरी गर्ने र पहिचानपछि कसरी सम्बोधन गर्ने भन्ने कुरा चुनौतीपूर्ण रहेको उनले सुनाइन्।
नेपाल सरकार र सामाजिक संघसंथाले मानव बेचबिखनमा परेका व्यक्तिको पहिचानपछि सामाजिक सुरक्षा, कानूनी सुरक्षा र आत्मसम्मानका कुरालाई ध्यान दिनुपर्ने उनको भनाइ थियो। विदेशबाट उद्धार, स्वदेश फिर्ती र पुनःस्थापनाबारे सरकारले बलियो कानूनी व्यवस्था गर्नुपर्नेमा उनले जोड दिइन्।
त्यस्तै, विश्वास नेपालकी अध्यक्ष तारा भण्डारीले देशभित्रै पनि मानव बेचबिखन भइरहेकाले सजग हुनुपर्ने बताइन्। पछिल्लो समय मानव बेचबिखन मात्र नभई मानव तस्करी पनि बढिरहेको अर्का वक्ता मीना पौडेलको भनाइ थियो। मानव बेचबिखन र मानव तस्करी सुन्दा उस्तै लागे पनि फरक विषय भएकाले फरक तरीकाले सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो।
काठमाडौंमा सञ्चालन भइरहेको मञ्चको सम्मेलनमा विभिन्न विषयमा विचारविमर्श भइरहेको छ। फागुन ३ देखि शुरू भएको सम्मेलन ७ गतेसम्म चल्नेछ।