कांग्रेसको दस्तावेजमा गठबन्धनको छाया देखियो : शेखर कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आसन्न महासमिति बैठकमा प्रस्तुत गर्न लागेको दस्तावेज कांग्रेसको मौलिक हुन नसकेको बताएका छन्।
शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा १६ बुँदे लिखित धारणा राख्दै उनले दस्तावेज र प्रतिवेदनमा गठबन्धनको छाया देखिएको बताए। “यहाँ प्रस्तुत प्रतिवेदन र दस्तावेजहरू हेर्दा कता कता गठबन्धनको छाया परेको हो कि जस्तो देखियो,” कोइरालाले भनेका छन्, “महासमिति बैठकमा प्रस्तुत हुने प्रस्ताव कांग्रेस पार्टीको मौलिकतामा आधारित हुनुपर्थ्यो, त्यो देखिएन।”
डा. कोइरालाले आगामी निर्वाचनमा कुनै पनि दलसँग चुनावी तालमेल वा गठबन्धन नगर्न प्रस्ताव समेत गरेका छन्। “हरेक तहका निर्वाचनमा अब उप्रान्त नेपाली कांग्रेसले कुनै राजनीतिक दलसँग चुनावी गठबन्धन वा तालमेल गर्नु हुँदैन,” उनले भनेका छन्।
विद्यमान निर्वाचन प्रणालीले कुनै पनि दलको बहुमत आउने सम्भावना नभएकाले संविधान संशोधन मार्फत निर्वाचन प्रणाली परिवर्तन गर्न सबै राजनीतिक दलसँग संवादका लागि कांग्रेसले पहल गर्नुपर्ने उनको प्रस्ताव छ।