सरुभक्तका ६ बाल पुस्तक एकसाथ लोकार्पण
साहित्यकार सरुभक्त श्रेष्ठका ६ वटा बाल पुस्तकको एकसाथ लोकार्पण गरिएको छ।
सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलका अवसरमा शुक्रबार बाल पुस्तकहरूको लोकार्पण गरिएको हो। उपन्यास अँध्यारो कोठा, नाटक संग्रह राक्षस र बालबालिका, चित्रकथा गाँडाहरूको गाउँ, पशुपन्छीको जुलुस, कथा संग्रह नातिका कथा र कविता संग्रह झ्याउँ झ्याउँ झ्याँकिरीको लोकार्पण भएको छ।
सरुभक्तसँगै साहित्यकार ध्रुव घिमिरे, पाठक मनुषी भण्डारी, पुस्तकका चित्रकार पल्पसा मानन्धर, अर्पिता शाक्य र प्रकाशन गृह परिचय पब्लिकेशनका निर्देशक दीपेन्द्र भट्टले पुस्तकको लोकार्पण गरे।
बाल्यकालमा सुनेका कथा, कविता र गीतबाट आफू आकर्षित भएर साहित्यमा लागेको सरुभक्तले बताए। साहित्यमा बालबालिकाको अभिरुचि हुने भएकाले बाल साहित्यका कृति सिर्जना गरेको उनको भनाइ छ।
“आफैंलाई बालक उमेरदेखि नै बाल साहित्यमा अभिरुचि हुन्छ भन्ने मनभित्रबाट भावना उत्पन्न भएको थियो। त्यो भावनाका कारणले वेलावेला विभिन्न व्यस्तताको बीचमा पनि बाल साहित्यका कृति सिर्जना गरेको छु,” सरुभक्तले भने।
उनले प्रत्येक दिनजसो राति सुत्ने वेला नातिलाई कथा सुनाउने गरेको सुनाए। “मैले देखेका, भोगेका र पढेका विभिन्न सन्दर्भ जोडेर तत्काल कथा सिर्जना गरेर नातिलाई सुनाउँथें। नाति मेरो कथा सुन्दासुन्दै कतिखेर निदाइसक्थ्यो। पछि यी कथाहरू मैले कति पटक दोहोर्याएर नातिलाई सुनाएँ कि मलाई कण्ठस्थ भो,” उनले भने, “एक दिन मैले के सोचें भने यी कथालाई यत्तिकै छोड्नुभन्दा लिपिबद्ध गरेमा अरू नातिनातिनाहरूका लागि पनि उपयुक्त हुन्छ। ती कथामध्ये केही छानेर यो पुस्तक जन्मेको छ।”
नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तका तीन दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन्। उनले पागल बस्ती उपन्यासबाट मदन पुरस्कार पाएका थिए।
यो पनि पढ्नुहोस् : भक्तदेखि सरुभक्त