‘के हाम्रा वृत्तचित्रहरू फेस्टिभलमा मात्र प्रदर्शन गर्ने हो?’
‘वृत्तचित्रले सामाजिक, राजनीतिक, आर्थिक मुद्दालाई प्रत्यक्ष रूपमा देखाउनुपर्छ भन्ने बुझाइकै कारण वृत्तचित्रमा सिनेमाभन्दा पनि पत्रकारिताको संस्कृति हावी छ। भविष्यमा कलात्मक तरीकाले वृत्तचित्र बन्दै गए भने यी धारणा परिवर्तन हुन सक्छन्।’
सुनिर पाण्डे र राजन कठेतले वर्षौंको मेहनतपछि बनाएको वृत्तचित्र ढोरपाटन : नो विन्टर हलिडेज काठमाडौंको सीटीसी सिनेमा हलमा तीन साताभन्दा बढी प्रदर्शन भयो। दुई जना निर्देशक र एक जना छायाकारले यो वृत्तचित्र बनाउन निर्जन गाउँमा साढे दुई महीना बिताएका थिए।
विदेशका विभिन्न फिल्म फेस्टिभलमा समेत प्रदर्शन गरिएको र निकै प्रशंसा कमाइरहेको यस वृत्तचित्रका उनै निर्देशकद्वय पाण्डे र कठेतसँग सेवा भट्टराईले गरेको कुराकानीको सम्पादित अंश :
हिउँदमा बाग्लुङको एउटा सिंगो गाउँ नै बेंसी झर्दा पनि दुई जना वृद्धा भने गाउँको चौकीदारी गरेर बसेको कथामा वृत्तचित्र बनाउनुभएको छ। यो विषयवस्तुबारे कसरी परिचित हुनुभयो र यसैमा वृत्तचित्र बनाउने निर्णय किन गर्नुभयो?
सुनिर : हेर्ने कथाको यूट्यूब च्यानल हेर्दै गर्दा मलाई ‘चौकिनीको कथा’ को विषय र पात्रले छोयो। ‘उहाँहरूले एक तरीकाले गर्नुभएको छ, हामी चाहिं त्यहाँ गएर पूरै हिउँद काटेर फिल्म बनाऔं’ भनेर मैले राजनलाई भनें। यसपछि शुरू भयो वृत्तचित्र बनाउने क्रम।
त्यहाँका दुई जना पात्रहरू विशेष छन्। त्यहाँ आप्रवासनको कुरा छ, पुस्ताहरूबीचको दूरीको कुरा छ, महिलाको अनुभवको कुरा छ। साथै, नेपालको भूगोल सुन्दर छ भन्ने एकथरीको बुझाइ भए पनि त्यो भूगोल त्यहींका मानिसका लागि भने कष्टकर छ, उनीहरू मुश्किलले जीवनयापन गरिरहेका छन्। यही द्वन्द्व र विपरीत परिस्थितिले हामीलाई वृत्तचित्रतर्फ तान्यो।
त्यो दुर्गम ठाउँमा छायांकनका लागि महीनौं बिताउँदाको अनुभव कस्तो रह्यो? पात्रहरूको कठिन जीवन त वृत्तचित्रमा देखिन्छ, तपाईंहरूको बसाइँ चाहिं कत्तिको कठिन रह्यो?
राजन : हुन त म ढोरपाटनभन्दा दुर्गम खोटाङको निर्मलडाँडा भन्ने गाउँमा हुर्किएको हुँ। मैले १३ वर्षको उमेरमा बल्ल गाडी देखेको थिएँ। सुनिर पनि घुम्न गइरहन्छन्, त्यसैले हामी दुर्गम जीवनशैलीसँग परिचित थियौं। त्यसैले हामीले कसरी दुःख नपाउने भनेर तयारी गरेका थियौं। पहिला त हामी ग्रीष्म र शरद् ऋतुमा दुई पटक त्यहाँ पुग्यौं। हिउँदमा जाँदा के के तयारी गर्नुपर्छ भनेर बुझ्यौं। खाना, लुगा, के गर्ने? त्यहाँका मानिससँग कसरी बोल्ने? ती सबै तयारी गरिसकेपछि हाम्रो अन्तिम छायांकन सम्भव भयो।
सुनिर : हाम्रो पनि कठिन नै थियो जीवन। राजन, म, छायाकार बबिन भाइ सबैलाई चिसोले चाँडै छुन्थ्यो। काठमाडौंबाटै चिया, हट चकलेट, कफी, पाउडर दूध, चीज, किवी, भिटामिन सी जस्ता आवश्यक सामग्री लगेका थियौं। न्यानो हुने खाले थर्मल र ट्रेकिङ गियर, टोपी र फेल्टको मोजा लगेका थियौं। हाम्रो सामान मात्रै १३ झोला भएको थियो। हामीले ढोरपाटनमा कम्तीमा १०० दिन बिताउँछौं भनेर मानसिक रूपमा तयारी गरेका थियौं।
राजन : चिसो ठाउँमा खानपानको राम्रो सन्तुलन मिलायो भने बिरामी नपरिने रहेछ। ढोरपाटनबाट काठमाडौंको धूवाँधूलोमा फर्किने बित्तिकै म बिरामी भएँ। त्यहाँ चाहिं तीन महीना बस्दा एक पटक पनि खोकी लागेन। हामी गाउँबाट टाढा एउटा होटलमा बसेका थियौं। उहाँहरू आलु र भात बनाइदिनुहुन्थ्यो। छायांकन गर्न जाँदा हामी ३० मिनेट जति हिंड्थ्यौं, त्यसले व्यायाम पनि हुन्थ्यो। सबै कुराको सन्तुलन मिलेकाले हाम्रो राम्रै अनुभव भयो।
सन्तान नभएकी एक वृद्धा र तीन छोरी भए पनि सँगै नभएकी अर्की वृद्धाको माध्यमबाट वृत्तचित्रमा कस्तो समाज देखाउन खोज्नुभएको हो?
सुनिर : गाउँ होस् कि शहर, समसामयिक नेपाली समाजको भोगाइको सबैभन्दा ठूलो विषय नै आप्रवासन हो। नेपालमा यो समस्या अझ विकराल बनेर आउनेवाला छ। अहिले यहाँ युवाको जनसंख्या धेरै छ तर उनीहरू बूढो हुँदै गएपछि उनीहरूलाई हेर्ने को?
कतिपय देशमा यो समस्या आइसकेको छ। जापान, कोरियामा जन्मदर घटेको र औसत उमेर बढेको कारण समस्या छ। समाजमा बोझ नबनीकन अवकाशप्राप्त मानिसहरूलाई कसरी व्यवस्थापन गर्ने? सरकारले दिनुपर्ने सामाजिक सुविधा, आफ्ना नागरिक हेर्ने सरकारको दायित्व कसरी पूरा गर्ने भन्ने ठूलो समस्या छ उता।
ती देशमा त स्रोतसाधन छ, यस्ताखाले काम गर्ने संस्था पनि छन् र गर्ने बानी पनि छ शायद। हामीकहाँ त स्रोतसाधन पनि देख्दिनँ म, वृद्धवृद्धाका लागि वृद्धाश्रम जस्ता औपचारिक निकाय पनि देख्दिनँ। संयुक्त परिवार जस्तो वृद्धवृद्धाको स्याहार र बालबच्चाको रेखदेख गर्ने हाम्रो परम्परागत संरचना पनि अहिले भत्केको अवस्थामा छ। त्यसैले भोलि यो समस्या विकराल हुनेवाला छ।
वृत्तचित्र बनाउन महँगो पर्ने रहेछ नि हैन? जान-आउन पनि गाह्रो, सामान नै १३ भारी। यसका लागि लगानी कसरी जुटाउनुभयो? नेपाली वृत्तचित्रकर्मीले यस्तै महत्त्वाकांक्षी काम कसरी गर्न सक्छन्?
राजन : अन्तर्राष्ट्रिय स्तरको वृत्तचित्रको मापदण्डमा पुग्न कति मेहनत र समय लाग्छ भनेर हामीले शुरूदेखि नै निर्क्योल गरेका थियौं। व्यक्तिगत खर्चबाट त्यो सम्भव थिएन। यस्ता वृत्तचित्र वा कलालाई विभिन्न देशमा अनुदान दिइन्छ। ती अनुदान ल्याए मात्र सम्भव हुन्छ भन्नेमा हामी प्रस्ट थियौं।
शुरूका ९-१० दिनको छायांकन पछाडि नै हामी भारतको कोलकाता हुँदै विभिन्न ठाउँ गयौं। वृत्तचित्रको पिचिङ हुने, कार्यशाला हुने ठाउँमा केही वर्ष धायौं। शुरूमा डकएज कोलकातामा एक जना कोरियन मेन्टरलाई हाम्रो प्रोजेक्ट मन पर्यो। उहाँले हाम्रो काममा केही आर्थिक सहयोग गर्नुभयो। त्यो रकम र हाम्रो व्यक्तिगत लगानी जोडेर छायांकन जारी राख्यौं।
छायांकनका क्रममा भने हामीलाई पैसा उठाउन एकदम गाह्रो भयो, किनकि हाम्रो वृत्तचित्रले सामाजिक मुद्दाको पैरवी गरेको थिएन, र धेरै अनुदान यस्ता मुद्दासँग सम्बन्धित हुन्छन्।
जेनतेन छायांकन सकिएपछि कसरी कथा अगाडि बढ्दै छ भन्ने एक किसिमको आत्मविश्वास आयो। ट्रेलरहरू बनाएर हामीले फेरि पिच गर्यौं। त्यसपछि हामीले हङकङ, दक्षिण कोरिया जस्ता ठाउँबाट केही सहयोग पायौं। त्यो पैसाले हामीले सम्पादन, ध्वनि, रङ संयोजन जस्ता काम गर्यौं। पोस्टप्रोडक्शन चरणमा राम्रो नतीजा निकाल्न निकै खर्च गर्नुपर्ने हुन्छ। यसो गरेर हामीले चार-पाँच वर्ष लगाई यो चलचित्र बनाएका हौं।
यो वृत्तचित्र बेलायतको शेफिल्डमा प्रिमियर भयो, त्यसपछि कोरियाको डीएमजेड, कोलकाताको पिपल्स फेस्टिभल लगायत अजरबैजान, कजाखस्तान र पेरुमा पनि प्रदर्शन भयो। कजाखस्तानमा त पुरस्कारै पनि जित्यो। नेपालमा पनि सीडीसी हलमा कथानक चलचित्र जसरी नै यसको प्रदर्शन भयो। यस क्रममा विदेशमा र नेपालमा वृत्तचित्रका दर्शक र बजार कस्तो पाउनुभयो?
सुनिर : विदेशमा चाहिं सिनेमाको अलि लामो इतिहास र अभ्यास भएको हुनाले, कथानक चलचित्र र वृत्तचित्र दुई वटा छुट्टाछुट्टै विधा हुन् भन्ने ज्ञान छ। वृत्तचित्रको संसार कस्तो हुन्छ, यसका विषय, यो बनाउने प्रक्रिया यी सबका बारेमा ज्ञान छ। त्यसैले दर्शकमा पनि त्यो हेर्ने लगाव छ।
नेपालमा चाहिं फिल्म फेस्टिभल भनेको एउटा ग्यालरी स्पेस जस्तो हुन्छ, जहाँ फिल्म देखाइन्छ र केही प्रश्नोत्तर गरिन्छ। विदेशका फिल्म फेस्टिभलमा बन्न लागेका प्रोजेक्टका लागि पिचिङ हुन्छ, बनिसकेका फिल्मको प्रदर्शन हुन्छ र बन्न लागेका र बनिसकेका फिल्मको लागि ‘सेल्स’ र ‘मार्केट’ गर्ने ठाउँ पनि हुन्छ।
यस्तो माहोलमा हामीले हाम्रो वृत्तचित्रलाई हलमै लगाएर दर्शक तानौं, दर्शक खोजौं, छैनन् भने सिर्जना गरौं, पहल गरौं भनेर यो साहस गर्यौं।
हामीले यस्ता वृत्तचित्रका लागि अहिलेदेखि नै दर्शक खोजेनौं भने के हाम्रा वृत्तचित्रहरू फेस्टिभलमा मात्र प्रदर्शन गरिरहने? हामीले बनाएको वृत्तचित्र हाम्रो समाजमा देखाउनुपर्छ र त्यो व्यावसायिक पनि हुनुपर्छ भन्ने लागेर हामीले यसो गर्यौं। दर्शक छन् भने कसरी ल्याउने र छैनन् भने कसरी आकर्षित गर्ने भन्ने हाम्रो एउटा प्रयोग भयो यो।
नेपालमा वृत्तचित्र क्षेत्रको अवस्था कस्तो छ? कत्तिको संख्यामा बन्दै छन् र यस क्षेत्रमा केकस्ता चुनौती छन्?
राजन : नेपालमा वर्षमा ५०-६० वटा कथानक चलचित्र बन्छन् तर वृत्तचित्र विरलै बन्छ। नेपालमा पनि वृत्तचित्र उद्योग छ भन्ने अनुभूति कहिल्यै भएन। वृत्तचित्र पनि कथानक चलचित्र जस्तै आकर्षक रूपमा बनाउन सकिन्छ भन्ने काम कसैले गर्नुभएन।
पछिल्लो पुस्तामा चाहिं वृत्तचित्र सम्बन्धी थुप्रै कार्यशाला भइरहेकाले र युवा पुस्तामा आकर्षण देखिएकाले आशा गर्ने ठाउँ पनि छ। वृत्तचित्रमा एउटा स्वतन्त्रता पनि छ, कथानक चलचित्रमा जस्तो सयौं मान्छेको भीड जम्मा गर्नु पर्दैन।
सुनिर : हामीकहाँ वृत्तचित्र बनाउने मान्छेहरू प्रायः पत्रकार हुनुहुन्छ। त्यो संयोग मात्र होइन, वृत्तचित्र भनेको खोज पत्रकारिताको दृश्य रूप हो भन्ने बुझाइका कारण पनि हो। वृत्तचित्रले सामाजिक, राजनीतिक र आर्थिक मुद्दालाई प्रत्यक्ष रूपमा देखाउनुपर्छ भन्ने बुझाइकै कारण वृत्तचित्रमा सिनेमाभन्दा पनि पत्रकारिताको संस्कृति हावी छ। भविष्यमा कलात्मक तरीकाले वृत्तचित्र बन्दै गए भने यी धारणा परिवर्तन हुन सक्छन्।
नेपालमा वृत्तचित्र बनाउने र हेर्ने कुरालाई प्रोत्साहन गर्न केकस्ता पहल गर्नुपर्छ जस्तो लाग्छ?
सुनिर : विश्व सिनेमासँग हामी त्यति परिचित छैनौं। सबभन्दा पहिला त सिनेमा बनाउने र हेर्ने मान्छेले विश्वभरकै सिनेमा, कला, साहित्यलाई ग्रहण गर्ने क्षमताको विकास गर्नुपर्यो। यो व्यक्तिगत तहको कुरा भयो।
नीतिगत रूपमा भन्नुपर्दा, कतिपय देशले वृत्तचित्र कला-संस्कृतिसँग सम्बन्धित कुरा भएको र यसले विदेशमा आफ्नो देश चिनिन्छ भनेर अनुदान दिन्छन्। यस्ता अनुदान सिर्जना गर्न जरुरी छ।
अर्को कुरा, चलचित्र बनाउने र प्रदर्शन गर्ने सम्बन्धी नेपालका नियम ५०-६० वर्ष पुराना छन्। त्यति वेलाको प्रविधि बेग्लै थियो। सेलुलोइडमा मात्र खिचिन्थ्यो। तर अहिले साधारण फोनबाट खिचेर पनि वृत्तचित्र वा कथानक चलचित्र बनाउन सकिन्छ। त्यसैले हाम्रा नीति अद्यावधिक गरिनुपर्छ, र त्यसो गर्दा नयाँ आवाज पनि समेटियून् भन्ने हाम्रो चाहना हो।
राजन : चलचित्र निर्माण सम्बन्धी चारवर्षे कोर्समा वृत्तचित्रबारे चाहिं दुई-तीन घन्टाको एउटा खण्ड मात्रै हुन्छ। विद्यार्थीमा वृत्तचित्रबारे भोक जगाउन पनि यस विषयलाई पाठ्यक्रममा महत्त्व दिनुपर्यो।