नेपाल सेमिफाइनलमा मलेशियासँग पराजित
नेपाल एसीसी महिला टी-२० प्रियिमर कपको सेमिफाइनलमा मलेशियासँग पराजित भएको छ।
शुक्रबार मलेशियामा भएको सेमिफाइनल खेलमा घरेलु टोलीले नेपाललाई चार विकेटले पराजित गरेको हो। नेपालले दिएको ११६ रनको लक्ष्य मलेशियाले १९.५ ओभरमा पूरा गरेको हो।
मलेशियाका लागि इल्शा हन्टरले अर्धशतक प्रहार गरिन्। उनले ५३ बलमा ६ चौकाको मद्दतले ६९ रन बनाइन्। त्यस्तै, महिरा इस्माईले १६, मास इलिसाले १३ र वान जुलियाले ११ रन बनाए।
नेपालका लागि कविता जोशी र सीता राना मगरले दुई-दुई तथा कविता कुँवर र रुविना क्षेत्रीले एक-एक विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले पाँच विकेटको क्षतिमा ११५ रन बनाएको थियो। नेपालका लागि इन्दु बर्माले २९, डोली भट्टले २५, कविता कुँवरले २३, रुविना क्षेत्रीले २०, सीता राना मगरले ६ र कविता जोशीले दुई रन बनाए।
मलेशियाका लागि महिरा इस्माईले दुई र विनफ्रिड दुरइसिंगमले एक विकेट लिए।
यो जितसँगै मलेशिया फाइनलमा पुगेको छ। उपाधिका लागि आइतबार मलेशिया र यूएईबीच प्रतिस्पर्धा हुनेछ।