सडक दुर्घटना : लुम्बिनी प्रदेशमा तीन दिनमा २२ जनाको मृत्यु
लुम्बिनी प्रदेशमा फागुनयता मात्रै सडक दुर्घटनामा ज्यान गुमाउनेको संख्या २२ पुगिसकेको छ भने घाइतेको गम्भीर अवस्था हेर्दा यो संख्या अझै बढ्न सक्ने ट्राफिक प्रहरीको भनाइ छ।
फागुन लागेकै दिन पाल्पामा जीप दुर्घटना हुँदा १० जनाको ज्यान गयो। १३ जनाको सीट क्षमता रहेको जीपमा २७ जना यात्रु सवार थिए। उकालोमा जीपले तान्न नसकेपछि दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ।
बिहीबार कपिलवस्तुको सुरही नाकामा बस दुर्घटना हुँदा पनि १० जनाले ज्यान गुमाउनुपर्यो। सोही बसमा सवार अन्य ३० जना घाइते भएको प्रहरीको भनाइ छ। बस तीव्र गतिमा रहेका कारण दुर्घटना भएको जनाइएको छ।
गत महीना दाङको भालुवाङमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो। तीव्र गतिमा रहेको बस ट्राफिक प्रहरीलाई छल्दै सोझै राप्ती नदीमा खसेको थियो। यी घटना त प्रतिनिधिमूलक मात्र हुन्। लुम्बिनी प्रदेशमा मात्रै चालू आर्थिक वर्षको ६ महीनामा मात्रै सडक दुर्घटनामा २८५ जनाले ज्यान गुमाएको प्रहरी तथ्यांक छ। फागुनमा मात्रै ज्यान गुमाउनेको संख्या २२ पुगिसकेको छ। घाइतेको गम्भीर अवस्था हेर्दा यो संख्या अझै बढ्न सक्ने ट्राफिक प्रहरीको भनाइ छ।
विशेषतः प्रदेशको पहाडी जिल्लामा भएको दुर्घटनामा परेर हताहत हुने संख्या बढी छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले प्रारम्भिक अनुसन्धानमा चालककै लापरवाहीका कारण दुर्घटना हुने गरेको बताए। तीव्र गति र क्षमताभन्दा बढी यात्रु बोकेका कारण पाल्पा र कपिलवस्तुको दुर्घटना भएको उनको भनाइ छ।
हालका घटनामा चालकको लापरबाही देखिए पनि दुर्घटनामा अन्य कारणले पनि प्रभाव पार्ने गरेको उनी बताउँछन्। मुख्यतः चालक तथा यात्रुले ट्राफिक नियमको पालना नगर्नु, सडकको अवस्था, सवारीसाधनको अवस्था, मापसे, चालकहरू पेशाप्रति जवाफदेही नहुनु, भौगोलिक विकटता, अत्यधिक सवारी चाप लगायत लुम्बिनी प्रदेशका दुर्घटनाका मुख्य कारकका रूपमा छन्।
“ट्राफिक व्यवस्थापन प्रविधिमैत्री र डिजिटाइजेशन गर्न आवश्यक छ,” उनले भने, “हामीले पर्याप्त कारबाही गरेका छौं, प्रहरीले सचेतनासँगै सजाय गरे पनि त्यो पर्याप्त हुन सकेको छैन।”
उनले ट्राफिक प्रहरी प्रविधि र उपकरणमा कमजोर रहेको पनि बताए। यसका लागि स्थानीय निकायहरूसँग पटक पटक अनुरोध गरे पनि त्यो सफल हुन नसकेको उनको भनाइ छ। सडक दुर्घटना कम गर्न ट्राफिक प्रहरी मात्र नभई सबै पक्ष उत्तिकै जिम्मेवार हुनुपर्ने उनको तर्क छ।
दुर्घटना कुनै एक विशिष्ट कारणले हुने नभई यसमा धेरै तत्त्वले प्रभाव पारिरहेको बस व्यवसायीको भनाइ छ। सबै घटनामा चालकलाई मात्र दोषारोपण गरेर उम्किन नमिल्ने पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल बताउँछन्। “चालकले बस चलाउनमा ध्यान दिनुपर्नेमा ऊ यात्रुदेखि अन्य कुरामा व्यस्त हुने गरेको छ,” खरेलले भने, “यस्तोमा दुर्घटना न्यूनीकरणभन्दा पनि यात्रु कसरी बढाउने र कसरी रकम कमाउनेमै उसको ध्यान जाने गरेको छ।”
अहिले यात्रुको चापभन्दा सवारीसाधनको चाप बढी भएका कारण चालकलाई यात्रु कसरी बढाउन सकिन्छ भन्ने मानसिक तनाव रहेको उनको भनाइ छ। यस बाहेक ट्राफिक प्रहरीले एउटै प्रदेशमा १० स्थानमा जाँच गरेर चालकलाई आक्रान्त बनाएको उनको आरोप छ।
जरिवाना उठाउने सरकारको नीति पनि दुर्घटनाको कारक रहेको हुँदा प्रदेशले कति जरिवाना उठाउने भन्ने निर्क्योल हुनुपर्ने उनको धारणा छ। खरेलले ट्राफिक व्यवस्थापन व्यवस्थित गर्न कार्ययोजना बनाई ससाना विषयमा ध्यान दिनुपर्ने सुझाव दिए।
लुम्बिनी प्रदेशमा आव २०७७/७८ मा एक हजार २१२ दुर्घटनामा परी ५२७ जनाले ज्यान गुमाएका थिए। सोही आर्थिक वर्षमा एक हजार ८३ जना गम्भीर घाइते र ७४० जना सामान्य घाइते भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको तथ्यांकले देखाएको छ।
आव २०७८/७९ मा एक हजार १६४ सवारी दुर्घटनामा परी ५५१ जनाले ज्यान गुमाउनाका साथै एक हजार १२३ जना गम्भीर घाइते तथा ५१७ जना सामान्य घाइते भएका थिए। आव २०७९/८० मा भने ८९२ सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४६२ थियो। सो आवमा ७९९ जना गम्भीर घाइते तथा ४७७ जना सामान्य घाइते भएको तथ्यांकमा उल्लेख छ। -रासस