सामाजिक विकृति विरुद्ध आवाज उठाउन ५५ देशका नागरिक काठमाडौंमा
काठमाडौंको भृकुटीमण्डपमा बिहीबार शुरू भएको विश्व सामाजिक मञ्चको सम्मेलनमा ५५ मुलुकका नागरिक सहभागी छन्।
‘अर्को विश्व सम्भव छ’ भन्ने मुख्य नाराका साथ आयोजना भएको सम्मेलनमा दलित, आदिवासी, अल्पसंख्यक, मजदूर, महिला, किसान, युवा, पर्यावरण, जल, जमीन, जंगलका क्षेत्रमा कार्यरत अभियन्ता सहभागी छन्। चार दिनसम्म चल्ने सम्मेलनमा आफ्ना हकअधिकारको पैरवीका लागि संसारका विभिन्न क्षेत्रबाट नागरिकहरू काठमाडौं आएका हुन्। भारतबाट आएकी पुष्पाले संसारभरिका आदिवासी एक भएको सन्देश दिन आफू सम्मेलनमा सहभागी हुन नेपाल आएको बताइन्।
त्यस्तै, याशिकाले भारतमा विद्यालयदेखि बजारसम्म दलित समुदायको पहिचानलाई विभेदको सूचकका रूपमा प्रयोग हुने शब्दले सम्बोधन गर्ने प्रचलन रहेको बताउँदै दुःख व्यक्त गरिन्। दलितका लागि वकालत गर्दै आएको नक्डोर सामाजिक संस्थाको प्रतिनिधित्व गर्दै आएकी याशिकाले भारतमा शैक्षिक क्षेत्रमा भइरहेको निजीकरणमा रोक लगाउन दबाब दिने उद्देश्यले सम्मेलनमा सहभागी भएको बताइन्।
भारतमा सरकारले विद्यालयलाई नजरअन्दाज गर्दै मन्दिरमा बजेट विनियोजन गरिरहेको उल्लेख गरिन्। युवालाई प्राविधिक शिक्षा प्रदान गर्नुपर्ने वेला राज्यले अन्धविश्वासको खाडलमा धकेलिरहेको उनको भनाइ थियो।
त्यस्तै, उत्तर प्रदेशबाट सम्मेलनमा सहभागी सन्तोष यादवले दिहाड़ी मजदूर अर्थात् दैनिकी कामदारका लागि बस स्टप, रेल्वे स्टेशन जस्तै दिहाड़ी स्टेशनको व्यवस्था हरेक शहरमा बनाउन माग गर्दै आएको बताए। दिहाड़ी मजदूर संगठनको उत्तर प्रदेश महामन्त्री रहेका यादवले गाउँदेखि शहर प्रवेश गर्ने मजदूरका लागि उचित र सुरक्षित स्थान नभएको कारणले हरेक मुलुकमा मजदूर स्टेशन बनाउनुपर्ने आफ्नो माग रहेको बताए।
भारतको झारखण्डबाट सहभागी भएका रोशन होरोले विशेषगरी भारतमा लोकतन्त्र संकुचित भइरहेको उल्लेख गर्दै लोकतन्त्र रक्षाको आवाज उठाउन काठमाडौंको यात्रामा आएको बताए। भारतमा सामुदायिक लोकतन्त्र कमजोर हुँदै गएको र निजीकरणको प्रभाव बढिरहेको उनको भनाइ थियो।
झारखण्डका आदिवासीको जल, जमीन र जंगलमाथि स्वामित्व सरकारको इशारामा निजीकरण भइरहेको उनले बताए। जंगलमा निर्भर रहने आदिवासीलाई विस्थापन गरी बहुमूल्य वस्तुमाथि उद्योगीको नियन्त्रण बढ्दै गएकाले आवाज उठाउन सम्मेलनमा आएको उनको भनाइ थियो।
राजस्थानबाट सम्मेलनमा सहभागी शंकर दासले भारतमा सामाजिक आन्दोलनलाई किनारातिर धकेल्दै धार्मिक राजनीति बढ्दै गएको बताए। यससँगै दलितलाई जमीन, शिक्षा र रोजगारबाट सरकारले विमुख गरिरहेको विरोधमा काठमाडौं आइपुगेको उनले बताए।
भारतको राजधानी नयाँ दिल्लीबाट सम्मेलनमा आएका नवीन गौतमले युवालाई उचित तरीकाले शिक्षा हासिल गर्न समस्या भइरहेको बताए। यो सम्मेलनमा सहभागी भएर विश्वभरका दलित, बहुजनको साथ खोज्न र उनीहरूको आन्दोलनप्रति ऐक्यबद्धता जनाउन खोजेको उनको भनाइ थियो।
संसारका विभिन्न देशबाट काठमाडौं पुगेका अभियन्ताले आफ्नो देशका समस्या राख्नेछन्। त्यसमाथि संसारभरका अभियन्ताले सम्मेलनमा विचारविमर्श गर्नेछन्।