कांग्रेसले किन ‘लाइभ’ गरेन केन्द्रीय कार्यसमिति बैठक?
नेपाली कांग्रेसको फागुन ३ मा बसेको केन्द्रीय कार्यसमितिको बैठकको ‘लाइभ’ गरिएन। फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुन लागेको महासमितिको बैठकको तयारीबारे छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बसेको हो।
कांग्रेसको २०८० साउन १ गते बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले केन्द्रीय कार्यसमितिको बैठक ‘लाइभ’ गर्ने निर्णय गरेको थियो। बैठकमा सभापति शेरबहादुर देउवाले ‘लाइभ’ गर्ने प्रस्ताव राखेका थिए। देउवाको प्रस्तावमा पदाधिकारी तथा पूर्व पदाधिकारीले सहमति जनाएका थिए।
त्यसको भोलिपल्ट साउन २ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक ‘लाइभ’ गरिएको थियो। कांग्रेसले सामाजिक सञ्जाल मार्फत बैठकको प्रत्यक्ष प्रसारण गरेको थियो। त्यति वेला कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सात दिनसम्म चलेको थियो।
त्यसपछि पुसमा बसेको केन्द्रीय कार्यसमितिको बैठक भने कांग्रेसले लाइभ गरेन। त्यस्तै, बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकको पनि प्रत्यक्ष प्रसारण गरिएन।
यसलाई राजनीतिक पार्टीहरूमा अध्ययन, अनुसन्धान र दीर्घकालीन रूपमा सोचेर निर्णय गर्ने प्रवृत्ति नभएको परिणामका रूपमा टिप्पणी गर्छन् नेपाल सरकारका पूर्व सचिव शारदाप्रसाद त्रिताल। “बैठक प्रत्यक्ष प्रसारण गर्ने ‘ह्वीम’ चलेको वेला फाइदा पुग्ने ठानेर गरेको निर्णयले आफैंलाई हानि गरेपछि कांग्रेसले आफ्नै निर्णय पालना गरेन,” त्रिताल भन्छन्।
कांग्रेसले बैठक प्रत्यक्ष प्रसारण गर्न शुरू गरेपछि कुन नेता कति तथ्यपरक, मर्यादित र जिम्मेवार ढंगले आफ्नो कुरा राख्छन् भन्ने यथार्थ नागरिकले थाहा पाएको उनको भनाइ छ। त्रितालको विचारमा बैठक प्रत्यक्ष प्रसारण भएकै कारण नेताहरूले समाज, देश र अहिलेका समस्या समाधान गर्न कति बहस गरे भन्ने यथार्थ पनि सार्वजनिक भएको छ।
प्रत्यक्ष प्रसारण गरेकै कारण नेताहरू देशको समकालीन समस्याबारे केकति छलफल गर्छन् भन्ने सार्वजनिक भएपछि कांग्रेस पार्टी र नेतालाई फाइदाभन्दा धेरै घाटा गराएको त्रितालको मूल्यांकन छ। “सुशासन र पारदर्शिताका लागि गर्ने भनेको लाइभले नेताहरू नागरिकको समस्याप्रति कति गम्भीर छन् भन्ने थाहा पाउने भएपछि लाइभ रोकिएको हो, जुन राम्रो निर्णय होइन,” उनी भन्छन्।
विवेकशील साझा पार्टीका अध्यक्ष समीक्षा बास्कोटाको भने फरक धारणा छ। पार्टीको बैठकमा पार्टीलाई कसरी अघि बढाउने, अन्य पार्टीसँग प्रतिस्पर्धा गर्न कस्तो रणनीति अवलम्बन गर्ने र कार्यकर्तालाई के कुरा सर्कुलर गर्ने भन्ने विषयमा छलफल हुने भएकाले सबै बैठक ‘लाइभ’ गर्नु जरुरी नभएको बास्कोटा बताउँछिन्।
उनका अनुसार छलफलका अजेन्डा र मुद्दाको आधारमा बैठक ‘लाइभ’ गर्ने या नगर्ने निर्णय पार्टीले गर्न सक्छ। पार्टीको बैठकमा संगठन विस्तार योजना, जिम्मेवारी बाँडफाँड र पार्टी अगाडि बढाउने विविध पाटोमा छलफल हुने भएकाले ती संवाद नागरिकलाई काम नलाग्ने उनको भनाइ छ। “पार्टीको भन्दा पनि सरकारी तथा सार्वजनिक निकायमा हुने छलफल नागरिकको सूचनाको हक अन्तर्गत पर्ने भएकाले ती छलफल ‘लाइभ’ गराउनु उचित हुन्छ,” अध्यक्ष बास्कोटा भन्छिन्।
कांग्रेसको प्रचारप्रसार विभागका संयोजक मीन विश्वकर्मा ‘लाइभ’ गर्ने कुरामा कांग्रेसको कुनै नकारात्मक धारणा नभएको बताउँछन्। बिहीबारको बैठकमा पार्टीका उपसभापति तथा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले तयार पारेको आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक तथा राजनीतिक विषय समेटिएको नीतिपत्रमाथि छलफल भएको छ। यो कांग्रेस महासमिति बैठकमा प्रस्तुत हुनेछ।
यो नीतिपत्र लामो र ‘मनोटोनस’ हुने भएकाले ‘लाइभ’ नगरेको विश्वकर्माको भनाइ छ। “यसअघिका बैठकको लाइभ’ प्राविधिक साथीहरू उपलब्ध नभएर रोकेका थियौं, अहिले गोदावरीमा हुने बैठकको ‘लाइभ’ गर्ने सेटमा साथीहरू व्यस्त भएकाले नगरेका हौं,” विश्वकर्माले भने।
फागुन ७ गतेदेखि ललितपुरको गोदावरीमा हुने महासमिति बैठक ‘लाइभ’ हुने उनले बताए। “कहिलेकाहीं प्राविधिक समस्या आउँछ र रोकिन्छ, सकेसम्म हामी बैठक ‘लाइभ’ गर्छौं,” विश्वकर्माले भने।
सबैभन्दा पहिले बैठक ‘लाइभ’ गर्ने निर्णय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले गरेका थिए। काठमाडौं महानगरले अहिलेसम्म बैठकको नियमित प्रत्यक्ष प्रसारण गरिरहेको छ।