‘पूँजीवाद हावी हुँदा स्वास्थ्य र शिक्षा जोखिममा छ’
फिनल्यान्डका वातावरण तथा लोकतन्त्रका अभियन्ता प्राध्यापक थोमस वेलग्रेनले पूँजीवाद हावी भएकाले स्वास्थ्य र शिक्षा जोखिममा रहेको बताएका छन्।
काठमाडौंमा शुरू भएको विश्व सामाजिक मञ्चको १६औं सम्मेलनको उद्घाटन समारोहमा बोल्दै प्राध्यापक वेलग्रेनले साना साना देशमा पनि पूँजीवाद हावी भएकाले सबैको पँहुचमा हुनुपर्ने स्वास्थ्य र शिक्षा जोखिममा रहेको बताए। उनले भने, “पूँजीवादी शक्तिलाई हटाउन त्यति सजिलो छैन। तैपनि सबैको ऐक्यबद्धता भएमा अवश्य हामीले खोजेको अर्को विश्व सम्भव हुनेछ।”
यो सम्मेलनको उद्देश्य पनि पूँजीवाद विरुद्धकै एउटा संघर्ष भएको उनको भनाइ थियो। उनले यस्ता कार्यमा युवा शक्तिको महत्त्वपूर्ण भूमिका रहने बताए।
नेपालले विभिन्न चुनौतीबीच पनि लोकतन्त्र स्थापित गर्न सकेकोमा प्राध्यापक वेलग्रेनले प्रशंसा गरे। केही विभेद भए पनि अन्य मुलुकको तुलनामा नेपालले लोकतन्त्रको स्थापना गर्न सकेको उनको भनाइ थियो।
त्यस्तै, घर बचाउ आन्दोलनमा काम गर्दै आएकी भारतकी अभियन्ता मेधा पाटकरले विश्व सामाजिक मञ्चको यो सम्मेलन हिंसाको विरुद्धमा भएको बताइन्। हिंसालाई हटाएर अहिंसा र शान्ति कायम गर्ने यस सम्मेलनको ध्येय रहेको उनको भनाइ थियो।
“पछिल्लो समय विकासका नाममा पनि विनाश भइरहेको छ। विकासका नाममा हाम्रा खनिज, वनजंगल, जमीन नाशिंदै गएका छन्,” उनले भनिन्, “अब हामीले विकासको अवधारणालाई नै परिवर्तन गर्न आवश्यक छ।”
यसमा उनले नदीको उदाहरण दिइन्। उनले भनिन्, “हामीले तटबन्ध बनाएर होइन, नदीलाई बग्न दिएर विकासको परिकल्पना गर्नुपर्छ।”
विश्व सामाजिक मञ्चको सम्मेलनको उद्घाटन कार्यक्रममा भारत, फिनल्यान्ड, अफ्रिका, बाङ्लादेश लगायत मुलुकबाट आएका अभियन्ताले सीमान्तीकृत समुदायको न्याय, जलवायु, शान्ति, समानता लगायत विषयमा मन्तव्य राखेका थिए। उद्घाटन समारोहमा विभिन्न समुदायको संस्कृति झल्किने सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो।
ट्रेड युनियन महासंघका पूर्व अध्यक्ष लक्ष्मण बस्नेतको अध्यक्षतामा भएको उद्घाटन समारोहको अधिकारकर्मी रेणु अधिकारीले सहजीकरण गरेकी थिइन्।
‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ बिहीबार शुरू भएको सम्मेलन फागुन ७ गतेसम्म सञ्चालन हुनेछ। यसमा १३ वटा मुख्य विधा अन्तर्गत ४०२ वटा शीर्षकमा छलफल हुनेछ। सम्मेलनका लागि विभिन्न देशबाट सामाजिक अभियन्ता काठमाडौं आएका छन्।