ललिता निवासमा प्रकरणमा विजयकुमार गच्छदारले पाए सफाइ
ललिता निवासको सरकारी जग्गा निजी स्वामित्वमा लगेको प्रकरणमा पूर्व मन्त्री विजयकुमार गच्छदारले सफाइ पाएका छन्।
विशेष अदालत, काठमाडौंका न्यायाधीशहरू खुशीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले गच्छदारलाई सफाइ दिएको हो। उनीसँगै पूर्व मन्त्री डम्बरबहादुर श्रेष्ठले पनि सफाइ पाएका छन्।
बालुवाटारस्थित प्रधानमन्त्री निवास विस्तार गर्ने निर्णय भएको थियो। त्यस क्रममा १९ रोपनी सरकारी जग्गा व्यक्तिको स्वामित्वमा लगिएको थियो। मन्त्रिपरिषद्को सामूहिक निर्णय भएकाले त्यसमा कुनै व्यक्तिविशेषलाई दोषी करार गर्न उचित नहुने विशेष अदालतको ठहर छ।
यस प्रकरणमा मीनबहादुर गुरुङ, रामकुमार सुवेदी, शोभाकान्त ढकाल लगायत जग्गा खरीदबिक्री गर्नेहरूलाई भने दोषी ठहर गरिएको छ। उनीहरूलाई दुई वर्ष कैद र जनही ८० लाख ४८ हजार जरिवाना गरिएको छ।