पाटनका मिथकहरूको स्वैरकाल्पनिक मिठास
राधा उपन्यासमा पाटनका थुप्रै स्थानीय कथा र अवधारणा छन् जुन रैथाने नेवाः समुदायभन्दा बाहिर पाइँदैनन्।
राधा भर्खरै पाटनको कुमारी पदबाट हटेकी हुन्छिन्। अचानक भूकम्प आएर लोकमा उलटपुलट ल्याइदिन्छ। ध्वंसको माहोलमा मर्त्यलोकको सीमा-सुरक्षा कमजोर हुन पुग्छ। भूतप्रेत जस्ता नकारात्मक शक्तिलाई बाँध्ने तन्त्रमन्त्र समेत ठेगानमा हुँदैनन्। यही मौकाको फाइदा उठाउँदै अर्को लोकबाट नकारात्मक स्वार्थ बोकेका पात्र मर्त्यलोक छिर्छन्। मान्छेको विनाश गर्न ‘नरमेध’ को तयारीमा लाग्छन्। राधा तिनलाई रोक्न सक्लिन्?
ऋषि अमात्यको अंग्रेजी उपन्यास राधा: राथ अफ द मएजुको कथासार यही प्रश्नमा लुकेको छ। यही प्रश्नले उपन्यासको सम्पूर्ण रोमाञ्च बोकेको छ। मिथकलाई स्वैरकल्पनाले कुशलतापूर्वक बाँध्न सक्नु यो पुस्तकको मुख्य विशेषता हो।
उपन्यासको पृष्ठभूमिमा पाटनका मिथकहरू छन्। यीमध्ये कार्तिक नाच आदिका बारेमा वेलाबखत सञ्चारमाध्यममा आइरहने भएकाले रैथाने नेवा: समुदायभन्दा बाहिरकालाई पनि जानकारी छ। तर अमात्यले समेटेका कतिपय मिथक बाहिरी मानिसलाई खासै थाहा छैन। जस्तो- पाटन दरबार क्षेत्रको मणिमण्डप, लोकको सन्तुलन कायम राख्न कुमारीको भूमिका, मर्त्यलोक बाहिरका ख्या र काया जस्ता जन्तु, तन्त्रसिद्धि, बलि दिइसकेका मानिसको प्राण फिर्ता जस्ता प्रसंग निकै रोचक लाग्छन्।
यिनै प्रसंगले पुस्तकलाई रोमाञ्चक र ज्ञानवर्द्धक बनाएका छन्। नेपालमा यस्ता मिथकको भण्डार नै छ। तर हामीकहाँ मिथकमा आधारित आख्यान खासै लेखिएका छैनन्। यस्तोमा पुस्तकले यी मिथकबाट असंख्य रोचक कृति बुन्न सकिने सम्भावना उजागर गरेको छ।
विशेष गरेर अंग्रेजी भाषामा मिथक र लोककथामा आधारित कृति थुप्रै छन्। लर्ड अफ द रिङ्स होस् वा ह्यारी पटर, मिथकमा आधारित कुशल स्वैरकल्पनाले नै यिनलाई लोकप्रिय बनाएको हो। ह्यारी पटर र गेम अफ थ्रोन्समा ड्रागन जस्ता काल्पनिक प्राणी छन्। ट्वाइलाइट शृंखलामा ‘भम्पायर’ हरू छन्। लर्ड अफ द रिङ्समा रूखहरू हिंड्छन् जुन अवधारणा फिनल्यान्डका लोककथामा पाइन्छ।
कतिपय अवस्थामा मिथकका तत्त्व सापटी लिएर लेखकले तिनलाई आफ्नै कथामा उतारेका छन्। यिनको नायक मिथकको भन्दा बिल्कुलै नौलो पनि हुन सक्छ। लेखकले यी कथामा आफ्नै संसार र नियम बनाएका हुन्छन्। जस्तो- ट्वाइलाइट शृंखलामा ‘भम्पायर’ हरू दिउँसो घाममा देखिए भने झिलिमिली भई चम्किन्छन्। यस्तो अवधारणा अन्यत्र पाइँदैन।
नेपाली आख्यानमा मिथक र स्वैरकल्पनाको कुरा गर्दा नेपालको पहिलो उपन्यासमै यसको प्रयोग पाइन्छ। विसं १९५६ मा गिरीशवल्लभ जोशीले लेखेको वीरचरित्र दक्षिणएशियामा प्रचलित तिलस्मी कथाको परम्परामा आधारित छ। यसमा नेपाली लोककथाका वीर, मसानदेवी, राक्षस, घण्टाकर्ण, बाघेछौंडा, चुडेल, झाँक्री, निधिनी जस्ता पात्र छन्। जोशीभन्दा पछाडि मिथकलाई स्वैरकल्पनामा ढाल्ने काम खासै भएको छैन।
दक्षिणएशियाली साहित्यमा मिथकहरूको पुनर्कथन गर्ने प्रवृत्ति धेरै पाइन्छ। महाभारत, रामायण जस्ता काव्य नयाँ दृष्टिकोणबाट भन्ने, पुराण, पञ्चतन्त्र र जातक कथाको पुनःकथन गर्ने, तिनमा आधारित बाल संस्करण ल्याउने काम भएको छ। अमीश त्रिपाठी जस्ता केही लेखकले मिथकमा टेकेर नयाँ कथा त बनाएका छन्। तर संख्याका हिसाबले देवदत्त पटनायक, अशोक ब्यांकर, प्रतिभा राय, चित्रा दिवाकरुणी बनर्जी लगायतले गर्दै आएको मिथकको पुनर्कथन नै धेरै छ। बढीजसो शास्त्रीय, लिखित कथाहरूको पुनर्लेखन भएको देखिन्छ। तर रैथाने अलिखित कथाहरू यत्तिकै छन्।
अमात्यको लेखन यी दुई प्रवृत्तिको बीचमा देखिन्छ। उनले पाटनका मिथकलाई पृष्ठभूमिमा राखेर नयाँ कथा लेखेका छन्। तर यसो गर्दा मिथकको मर्म हूबहू उतार्ने कोशिश गरेका छन्। अर्थात्, पृष्ठभूमिमा उनले मिथकहरूको पुनर्कथन गरेका छन्। कुमारी लगायत पात्रको भूमिका, सिद्धिप्राप्तिको विधि वा नकारात्मक शक्तिलाई बाँध्ने जस्ता नियम प्रचलित विश्वास र अभ्यासमै आधारित छन्। यसो गर्दा यो उपन्यासले मिथकका माध्यमले रोचक शैलीमा ज्ञान समेत बाँड्न सकेको छ जुन अधिकांश स्वैरकाल्पनिक उपन्यासमा पाइँदैन।
हाल पश्चिमा र दक्षिणएशियाका प्रभुत्वशाली मिथकहरू साहित्य/फिल्म क्षेत्रमा हावी हुँदा तिनै संस्कृति र मूल्यमान्यताप्रतिको बुझाइ हावी भइरहेछ। भारतीय टेलिभिजन मार्फत हिन्दू मिथकका विभिन्न संस्करण नेपालमा पनि फैलिइरहेछन्। संस्कृतिलाई राजनीतिक ‘अजेन्डा’ बनाउनमा समेत तिनको उपयोग भइरहेछ। यस्तै कथाका पात्र, मूल्यमान्यता, पृष्ठभूमि र सामाजिक संरचना विश्वव्यापी बहसको विषय बनिरहँदा स्थानीय मिथक कता कता हराइरहेछन्।
राधा उपन्यासमा भने थुप्रै स्थानीय कथा र अवधारणा छन् जुन नेवा: समुदायभन्दा बाहिर पाइँदैनन्। कुनै पनि मिथकले सम्बद्ध समुदायको सांस्कृतिक पहिचान, मूल्यमान्यता बताउँछ। तिनका बारेमा छलफल भए मात्र ती जीवन्त रहन्छन्, आवश्यकता अनुसार परिमार्जन गरिन्छन्। छलफल नै नभए सांस्कृतिक पहिचान हराउने डर हुन्छ। यस सन्दर्भमा स्थानीय विशिष्ट कथालाई कलाका विभिन्न विधामा उतार्नु र अल्पसंख्यक समुदायका इतिहास र मूल्यमान्यताप्रतिको बुझाइ बढाउनु महत्त्वपूर्ण हुन्छ। यही काम अमात्यको उपन्यासले गरेको छ।