कांग्रेसप्रति दाहालको असन्तुष्टिको अर्थ
कोशी प्रदेशमा माओवादीका उम्मेदवार हारेको सन्दर्भमा आएको दाहालको अभिव्यक्तिलाई सत्ता गठबन्धनमा तलवितल हुन सक्ने पूर्व संकेतका रूपमा लिन सकिन्छ।
राष्ट्रिय सभाको निर्वाचनपछि नेकपा (माओवादी केन्द्र)का नेता-कार्यकर्ताबाट दुईखाले अभिव्यक्ति बारम्बार मुखरित भइरहेका छन्। राष्ट्रिय सभाको निर्वाचनमा कोशी प्रदेशमा कांग्रेसले दिएको धोका र राष्ट्रिय सभाको अध्यक्षमा माओवादीले दाबी गर्ने विषयसँग यी अभिव्यक्ति जोडिएका छन्। राजनीतिमा सानातिना दाउपेच सधैं चलिरहन्छन्। तर कांग्रेसबाट धोका पाएको कुरालाई पुष्पकमल दाहालले केन्द्रीय समितिको बैठकमै उठाएर यसको घनत्व अझ बढाएका छन्।
२०६५ साउनमा पहिलो पल्ट प्रधानमन्त्री हुँदा दाहालले आफ्नो पक्षमा बहुमत हुँदाहुँदै राजीनामा दिएका थिए। प्रधानसेनापतिलाई गरेको कारबाही राष्ट्रपति रामवरण यादवले उल्टाइदिएपछि उनले नैतिकताका आधारमा राजीनामा दिएका थिए। त्यसपछि दाहाल र माओवादीले धेरै समय र धेरै पटक राजनीतिमा नैतिकताको जग बसाउन खोजेको दाबी गर्दै आए। तर त्यसपछिका दिनमा माओवादी र तिनका नेताको व्यवहारमा १८० डिग्रीको परिवर्तन आइसक्यो। अहिले सत्ता नै माओवादीको एक मात्र ध्येय हो।
सेनापतिको कारबाहीपछि पहिलो संविधानसभाको अवधिमै दाहालले सरकारको नेतृत्व गर्ने प्रयास गरे पनि सफल भएनन्। माओवादी विरुद्ध एकजुट विपक्षीहरू र भूराजनीतिक प्रभाव त्यसको कारक थियो। धेरै राजनीतिक दाउपेच पार गर्दै माओवादीले सरकारको नेतृत्व गर्न त पायो तर त्यसको अवसर बाबुराम भट्टराईले पाए। यसरी विकसित राजनीतिक घटनाक्रमले दाहालको मनोविज्ञानलाई बदल्दै लगेको थियो।
दोस्रो संविधानसभाको निर्वाचनमा उनको दल तेस्रो भएपछि त उनलाई जनताको भन्दा बढी आफ्नै चिन्ता बढेर गयो। त्यसयता बोलीमा माओवादी पार्टी र जनजीविकाप्रति चासो व्यक्त गरे पनि व्यवहारमा आफू र आफन्तको मात्र चिन्ता देखिन्छ।
दाहालले आफ्ना राजनीतिक अडान छोडेको धेरै भइसक्यो। यसको प्रभाव सिंगो पार्टीमा परेको छ। साम्यवादी दृष्टिकोण राख्ने दार्शनिक र नेताहरूको तस्वीर झुन्ड्याएर पूँजीवादको चास्नीमा लिप्त छ दाहाल एन्ड कम्पनी। माओवादीलाई राम्ररी थाहा छ- पूँजीवादी व्यवहारले समाजवादको गन्तव्यमा पुगिंदैन। यद्यपि समाजवादको चर्चा र जनताको समृद्धि रटान दाहालले छोडेका छैनन्। यसमा उनी कति इमानदार छन्? ती कुरा अब मुख्य प्रश्न हैनन्। राजनीति गर्ने नेताले कुनै न कुनै छाप छोडेर जान चाहन्छन्। छाप छोड्न केही राम्रो काम गरौं भन्ने सोच हुन्छ नै। त्यसका लागि ‘जसरी पनि म सत्तामा पुग्नुपर्छ वा सरकारमा म नै रहनुपर्छ’ भन्नु चाहिं समस्या हो।
जब कुनै चीज प्राप्त गर्न र त्यसमा टिकिरहन कुनै सीमा नराखी जोडबल गरिन्छ, नैतिकताको खडेरी शुरू हुन्छ। नैतिकता सकिएपछि कुनै पनि व्यक्तिको अडान र स्वार्थमा तादात्म्य हुँदैन। उसले अरूको सोच र व्यवहारमा खोट देखाउँछ तर आफ्नो व्यवहारको विश्लेषण गर्दैन। दृष्टान्तमा, माओवादीले कांग्रेसबाट धोका पाएको देख्छ, लगाएको गुन भने बिर्सन्छ।
पक्कै पनि राष्ट्रिय सभाको निर्वाचनमा कोशी प्रदेशमा कांग्रेसको भूमिकामा माओवादीले शंका गर्नु जायज छ। तर अन्य प्रदेशबाट माओवादीका उम्मेदवार निर्वाचित हुनुमा कांग्रेसको अहम् भूमिका छ। गठबन्धन वा सहकार्य एउटा सोच र संस्कृति पनि हो। यो राजनीतिमा मात्र नभई अन्य सामाजिक, आर्थिक र पेशागत गतिविधिमा पनि लागू हुन्छ। फरक दल, समूह वा संस्थाबीच सहकार्य गर्दा केही असमझदारी वा विवाद सिर्जना हुनु स्वाभाविक हो। त्यसलाई निवारण गरेर जानु उत्तम विकल्प हो। कोशीको विषयमा प्रश्न उठाउँदै दाहालले कांग्रेससँगको गठबन्धनबारे सोच्ने बताएका छन्। यो स्वार्थले भरिपूर्ण कच्चा अभिव्यक्ति हो, जिम्मेवार नेताले बोल्न सुहाउने कुरा हैन। तर दाहालको अभिव्यक्तिले कति वजन राख्छ भन्ने त जगजाहेर भइसकेको छ। दलको अध्यक्ष र प्रधानमन्त्री रहेका व्यक्तिको बोलीमा वजन हुनुपर्छ भन्ने अपेक्षा जोकोहीको हुन्छ। तर सत्ताको रसास्वादनमा सम्मोहित दाहाल आफ्नो अभिव्यक्तिको गाम्भीर्यतर्फ हेक्का राख्दैनन्।
राजनीतिक इमानदारी र नैतिकताको कुरै छाडौं, दाहालमा न्यूनतम इमानदारी हुन्थ्यो भने उनी स्वयं प्रधानमन्त्री हुने चाहना राख्दैनथे। संसदीय व्यवस्थामा बहुमत पुर्याउने वा सहमति जुटाउने व्यक्ति प्रधानमन्त्री हुन्छन्। तर यो प्राविधिक कुरा मात्र हो। यही कारण प्राविधिक पक्षमा टेकेर गरिएको सौदाबाजीका कारण दाहाल अहिले प्रधानमन्त्री छन्। एक नैतिकवान् र राजनीतिक संस्कारयुक्त नेताले सौदाबाजीभन्दा बढी जनमतको कदर गर्नुपर्छ। जनमतको कदर गर्थे भने दाहालको दल सरकारको सहयोगी मात्र हुन्थ्यो, नेतृत्वकर्ता हैन। तर गठबन्धनमा असन्तुष्टि र तिक्तता पोख्न थालेका दाहालको मनोविज्ञान प्रधानमन्त्रीमा आलोपालोको अवधि सकिए पनि थप समय कुर्सीमा विराजमान हुने देखिन्छ।
कुनै पनि सहकार्य कमजोरीविहीन हुँदैन। तर दाहालले कोशीको विषयलाई बखेडा गर्ने बहानाका रूपमा प्रयोग गर्न खोज्दै छन् भन्ने स्पष्ट छ। त्यो ठूलो धोका वा अक्षम्य गल्ती हैन। तर स्वार्थले समस्याको निराकरण गर्दैन, अझ गहिरो पार्छ।
दाहाल र माओवादीबारे लेखकले यी तर्क गरिरहँदा अरू नेता र दलले चाहिं जनमत अनुसार व्यवहार गरे त भन्ने प्रश्न उठ्न सक्छ। निश्चय नै अरूले पनि गरेनन्। इतिहासमा दर्ज भएका तथ्यलाई तर्कहरू पेश गरेर बदल्न सकिंदैन। प्रधानमन्त्री हुन अनेक हर्कत गरेका नेताहरू हामीमाझ नै छन्। कतिपय ती नेता फेरि पनि प्रधानमन्त्री हुनेछन्। दाहाल स्वयं पनि ती नेताहरूको संगतमा परे र त्यस्तै भए। अपेक्षा यति थियो, जनता र देशको अवस्था कायापलट गर्ने नाममा दशक लामो क्रान्ति हाँकेर आएको दाहाल एउटा मानकका रूपमा खडा हुनुपर्थ्यो। जनता र देशका लागि लिएको अडान र उनको स्वार्थमा तादात्म्य हुनुपर्थ्यो। तर त्यस विपरीत उनी राजनीतिक लहरमा हेलिंदै आए। उनलाई जसरी पनि सत्ता चाहिएको छ। सत्ताको लोभ यति पलाएको छ, एमालेले प्रधानमन्त्रीका लागि सघाएमा कांग्रेससँगको सम्बन्ध छिनभरमै तोड्नेछन्। कोशी प्रदेशमा माओवादीका उम्मेदवार हारेको सन्दर्भमा गठबन्धनको भविष्यबारे सोच्ने अभिव्यक्तिलाई त्यसको पूर्व संकेतका रूपमा लिन सकिन्छ।
कुनै पनि सहकार्य कमजोरीविहीन हुँदैन। तर दाहालले कोशीको विषयलाई बखेडा गर्ने बहानाका रूपमा प्रयोग गर्न खोज्दै छन् भन्ने स्पष्ट छ। त्यो ठूलो धोका वा अक्षम्य गल्ती हैन। तर स्वार्थले समस्याको निराकरण गर्दैन, अझ गहिरो पार्छ। कांग्रेसले वेलैमा दाहाललाई मनाउन नसके राष्ट्रिय सभाको अध्यक्षको निर्वाचन अझ पेचिलो बन्न सक्छ। यही वेला दाहालले लिक बदल्न सक्छन्। किनभने उनी भविष्यको उपलब्धि सोच्ने हैन, पलपलको लाभ हेर्ने अवसरवादी बनेका छन्। यसै पनि अहिलेको गन्धबन्धनबाट उनले अब लाभ पाउने केही कुरा छैन।
दाहाल र उनको दलमा अब आत्मविश्वास देखिंदैन। जनमतको आधारमा ठूलो दल हुने आधार माओवादी स्वयंले देखिरहेको छैन। पार्टीका विभिन्न कार्यक्रम र गतिविधिले पनि नेता-कार्यकर्तामा ऊर्जा भर्न सकेको छैन। यो निराशामा महत्त्वपूर्ण योगदान अध्यक्ष दाहालको ढुलमुले चरित्रको छ। यद्यपि उनी आफ्नो स्वार्थका लागि मात्र पार्टी पंक्तिलाई प्रयोग गरिरहेका छन्। कार्यकर्ताको पीडा र निराशाले उनलाई छुन छोडिसक्यो। यस्तोमा उनले अर्को दलसँग राजनीतिक स्थायित्व र देशको समृद्धिका लागि भन्दा आफ्नै स्वार्थपूर्तिका लागि सहकार्य गर्ने हुन्। जुन उनले गरिरहेका छन्।