तत्काल युद्धविराम गर्न इजरायललाई मित्रराष्ट्रहरूको अनुरोध
इजरायलले गाजाको रफाहमा गर्न थालेको ‘विनाशकारी’ र ‘ध्वंसात्मक’ आक्रमणको अस्ट्रेलिया, क्यानडा र न्यूजिल्यान्डले विरोध गरेका छन्।
इजरायलले निरन्तर आक्रमण गर्दै गएपछि प्यालेस्टिनी नागरिक उत्तरी गाजाबाट भाग्दै दक्षिणको रफाह पुगेका छन्। त्यहाँ पनि आक्रमण हुन थालेपछि इजरायलका मित्रराष्ट्रहरूले ‘सर्वसाधारण त्यहाँबाट अन्यत्र जाने स्थान नभएको’ बताउँदै तत्कालै युद्धविरामका लागि आग्रह गरेका हुन्।
गाजापट्टीको दक्षिणमा इजिप्टको सिमानामा रहेको रफाह शहरमा युद्धअघि दुई लाख ५० हजार प्यालेस्टिनीको बसोबास थियो। इजरायलले गाजामा आक्रमण बढाउँदै लगेपछि अहिले यस शहरको जनसंख्या १० लाख ५० हजार जति पुगेको अनुमान छ। त्यहाँ लाखौं मानिस त्रिपाल टाँगेर बसिरहेछन्।
फागुन ३ मा अस्ट्रेलिया, क्यानडा र न्यूजिल्यान्डका प्रधानमन्त्रीले संयुक्त विज्ञप्ति जारी गर्दै इजरायललाई ‘मित्रहरूको सल्लाह स्विकार्न’ आग्रह गर्दै तत्काल मानवीय युद्धविरामका लागि अनुरोध गरेका छन्।
यसअघि संयुक्त राष्ट्रसंघका उच्च अधिकारी मार्टिन ग्रिफिथले रफाहमा इजरायली आक्रमण ‘आमहत्या’ बन्न सक्ने चेतावनी दिएका थिए। उनले फागुन २ मा त्यस्तो चेतावनी दिएका थिए।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याँक्रोले पनि गाजामा भइरहेको मानवीय क्षति ‘असह्य भएको’ भन्दै तत्काल युद्ध रोक्न चेतावनी दिएका थिए।
आफ्ना मित्रराष्ट्र र अन्तर्राष्ट्रिय संस्थाले बारम्बार निन्दा गरे पनि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू भने रफाह शहरमा आक्रमण रोक्ने पक्षमा छैनन्। उनले आफ्नो सेनालाई स्थल आक्रमणका लागि तयारी गर्न आदेश दिएका छन्।
सञ्चारमाध्यमसँग कुराकानी गर्दै प्रधानमन्त्री नेतन्याहूले दक्षिणी शहरबाट हमासलाई उन्मूलन गरेर छोड्ने दाबी गरेका छन्। “हामी पूर्ण विजय हासिल नगर्दासम्म लड्नेछौं, त्यसमा रफाहमा शक्तिशाली आक्रमण पनि पर्छ,” उनले भनेका छन्।
गत असोज २० गतेयता गाजामा भएको इजरायली आक्रमणमा परी अहिलेसम्म २८ हजार ५७६ जना प्यालेस्टिनीले ज्यान गुमाइसकेका छन् भने ६८ हजार २९१ जना घाइते भएका छन् जसमध्ये अधिकांश बालबालिका र महिला छन्।
(बीबीसी, अलजजिरा र अरब न्यूजको सहयोगमा)