नेपालको खराब ब्याटिङ, १३२ रनमै मेटियो
ब्याटरले राम्रो प्रदर्शन गर्न नसक्दा नामिबिया विरुद्धको खेलमा नेपाल १३२ रनमै समेटिएको छ।
आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा ब्याटिङको निम्तो पाएको नेपाल सस्तैमा समेटिएको हो। शुरूआतदेखि नै दबाबमा परेको नेपालले ४०.१ ओभरमा १३२ रन मात्रै बनाउन सक्यो।
नेपालका लागि भीम सार्कीले ४४, गुल्सन झाले २१, करण केसीले १६, कुशल मल्लले १५ र पवन सर्राफले १२ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।
नामिबियाका लागि गेहार्ड इरसमसले पाँच विकेट लिए। उनले ८.१ ओभरमा २८ रन मात्रै खर्चिए। त्यस्तै, रुबेन टुम्पेलमन र ज्याक ब्रासेलले दुई-दुई तथा जान निकोलले एक विकेट लिए।
काठमाडौंमा शुरू भएको प्रतियोगितामा नेपालसँगै नेदरल्यान्ड्स र नामिबिया प्रतिस्पर्धा गर्नेछन्। समग्र लिग-२ मा क्यानडा, ओमान, स्कटल्यान्ड, यूएई र अमेरिका पनि छन्।