कपिलवस्तु दुर्घटनामा ज्यान गुमाएका दशै जनाको सनाखत
कपिलवस्तुको शिवराज नगरपालिका-१, सुरही पुल नजिकै आज बिहान भएको बस दुर्घटनामा ज्यान गुमाएका १० जनाको सनाखत भएको छ।
जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरि वलीका अनुसार मृत्यु हुनेमा रौतहटको औराही-३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, नेपाली सेनाको कालीजंग गण गोरुसिंगेमा कार्यरत सल्यानका अर्जुनकुमार योगी र भारतको उत्तरप्रदेशस्थित मुरदाबादका सकिल मुसलमान छन्।
त्यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका-१ का २७ वर्षीय राहुलराम कामी, भीमदत्त-४ का २४ वर्षीय उमेश भण्डारी, भीमदत्त-१६ का सञ्जु थापा र पुनर्वास नगरपालिकाका किन भट्टको दुर्घटनामा ज्यान गएको छ। यसैगरी, भीमदत्त नगरपालिकाकी खगेश्वरी खाती, भीमदत्त-२ का सुदीप भट्ट र पुनर्वास-९, बिसफाटाकी विमलादेवी भट्टको पहिचान खुलेको छ।
महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली यातायातको सु प प्र-०२-००१ ख ००९८ नम्बरको बस दुर्घटना भएको हो। दुर्घटनामा ३० जना घाइते भएका छन्।
उनीहरूमध्ये नौ जनालाई बुटवल रिफर गरिएको छ। अन्य घाइतेको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।