माओवादी पदाधिकारी प्रत्यक्ष निर्वाचनबाट चयन गर्न सुझाव
नेकपा (माओवादी केन्द्र)का नेताहरूले पदाधिकारीसँगै नेतृत्व प्रत्यक्ष निर्वाचनबाट चयन गर्ने व्यवस्था गर्न सुझाव दिएका छन्।
काठमाडौंमा जारी माओवादीको विधान अधिवेशनमा बोल्दै विभिन्न समूहका संयोजकले पार्टीलाई छरितो र क्रियाशील बनाउन सुझाव दिएका छन्। आफ्नो समूहबाट सुझाव पेश गर्दै माओवादी नेता हिमाल शर्माले पदाधिकारी सहित प्रत्यक्ष निर्वाचनबाट चयन गर्नुपर्ने व्यवस्था गर्नुपर्ने बताए। पार्टी र राजकीय नियुक्तिमा आलोपालोको व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो।
ओम शर्माले प्रस्तावनालाई चुस्त बनाउनुपर्ने र पार्टीको नाम फेर्नुपर्ने सुझाव आएको उल्लेख गर्दै प्रत्यक्ष निर्वाचन गर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिए। उनले केन्द्रीय सहित सबै समितिलाई छरितो बनाउन एवं जननियन्त्रित पार्टी र पार्टीनियन्त्रित सरकार बनाउनुपर्ने बताए।
त्यस्तै, अर्का नेता दिलीपकुमार प्रजापतिले पार्टीलाई जनतासमक्ष लैजान नयाँ विधानले सहयोग गर्ने विश्वास व्यक्त गरे। जातीय छुवाछूतलाई गम्भीर अपराधका रूपमा राख्नुपर्ने सुझाव दिए। केन्द्रीय सदस्यको संख्या कम गरी पूर्णकालीन पार्टी सदस्यको स्पष्ट रूपमा व्यवस्था गर्नुपर्ने बताए।
त्यसैगरी, कुमार पौडेलले पार्टीलाई विधिगत रूपमा सञ्चालनका लागि विधान पारित गरेर कार्यान्वयनमा लैजान सुझाव दिए। पार्टीले सत्ता सञ्चालन गर्नुपर्ने व्यवस्था विधानमा गर्नुपर्ने सुझाव दिंदै उनले घाइते तथा पूर्व जनमुक्ति सेनालाई विशेष व्यवस्था गर्नुपर्ने बताए।
पर्शुराम रम्तेलले पार्टी एकता, आन्तरिक मूल्यांकन र मनोनयनलाई व्यवस्थित गर्नुपर्ने र छुवाछूतलाई गम्भीर रूपमा लिने व्यवस्था गर्नुपर्ने सुझाव दिए। छलफलका क्रममा चुनाव चिह्न फेर्नुपर्ने सुझाव प्राप्त भएको उल्लेख गर्दै उनले विश्वभरका नेपालीलाई समेट्ने व्यवस्था गर्नुपर्नेमा जोड दिए।
वामदेव क्षेत्रीले विधानलाई छरितो बनाउन सुझाव दिंदै प्रदेश र स्थानीय पार्टी समितिलाई कार्यकारी बनाउने गरी विधान संशोधन हुनुपर्ने बताए। उनले पार्टीका सदस्यभन्दा पनि पार्टी शुभचिन्तकको अध्यक्षतामा अनुशासन समिति बनाएर शक्तिशाली बनाउनुपर्ने सुझाव दिए।
हरिराज अधिकारीले चुनाव चिह्न बदल्नुपर्ने सुझाव प्राप्त भएको उल्लेख गर्दै नागरिकता पाएपछि पार्टीको सदस्यता प्राप्त गर्ने व्यवस्था बनाउनुपर्ने बताए। उनले आयोगलाई शक्तिशाली बनाउनुपर्ने र सबै पार्टी समितिलाई छरितो बनाउनुपर्ने सुझाव दिए।
रञ्जित तामाङले यही अधिवेशनबाट पार्टी विधान पारित गरेर कार्यान्वयनमा ल्याउनुपर्ने सुझाव प्रस्तुत गरे। उनले सरकार र पार्टीलाई समावेश गरेर सत्ता सञ्चालन समन्वय समिति बनाउनुपर्ने बताए।
नेता झक्कुप्रसाद सुवेदीले वैज्ञानिक समाजवादमा जाने गरी प्रस्तावना लेखिनुपर्ने बताउँदै जातीय छुवाछूतलाई गम्भीर रूपमा लिनुपर्ने सुझाव दिए। उनले नागरिकता पाएपछि पार्टी सदस्यता दिनुपर्ने व्यवस्था गर्न र स्थायी समिति हटाउन सुझाव प्राप्त भएको बताए।
निर्मल आचार्यले अनलाइन मार्फत पार्टी सदस्यता नवीकरण गर्नुपर्ने व्यवस्था गर्न र पार्टीलाई प्रविधियुक्त बनाउन सुझाव दिए। उनले स्थायी समितिलाई विधानमा राख्न नपर्ने सुझाव रहेको उल्लेख गर्दै पार्टी संरक्षक समिति बनाउनुपर्ने बताए।
हालसम्म १० समूहले विधानमाथि सुझाव पेश गरिसकेका छन्। मंगलबारदेखि नेपाल प्रज्ञा-प्रतिष्ठानमा शुरू भएको अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको छ। बिहीबार बिहान ११ बजेदेखि फेरि प्रस्तुति शुरू हुनेछ।