वैकल्पिक विश्वबारे विमर्श गर्न संसारभरका नागरिक नेपालमा
वैकल्पिक विश्वबारे विचार विमर्श गर्न संसारका विभिन्न देशका नागरिक काठमाडौं आइपुगेका छन्।
विश्व सामाजिक मञ्चको नेतृत्वमा विश्वभरका सामाजिक आन्दोलन र नागरिक संगठनको सामूहिक शक्ति काठमाडौंमा एकत्रित हुन लागेको हो। बुधबार विश्व सामाजिक मञ्च नेपाल आयोजक समितिले पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी दिएको छ।
कार्यक्रममा सरकार, राजनीतिक दलका प्रतिनिधि र सुरक्षा निकाय व्यक्ति बाहेक सबैको उपस्थिति रहने आयोजक समितिका सदस्य नरेन्द्र खतिवडाले बताए। यसका लागि सबै तयारी पूरा भएको उनले जानकारी दिए। यसका लागि धेरै देशका नागरिक काठमाडौं आइसकेका छन् भने केही आउने क्रममा छन्।
नवउदारवाद, भूमण्डलीकरण, पूँजीवाद, जलवायु संकट, पुरुषसत्ता, जातजाति, छुवाछूत तथा रंगभेद, नश्लभेद, लैंगिकता तथा यौनिकताका आधारमा हुने हिंसा, विभेद विरुद्ध एकजुट भएर गरिने विश्वभरका सामाजिक आन्दोलन र नागरिक संगठनको सामूहिक शक्तिलाई एकत्रित गर्दै मञ्चले परिचालन गर्दै आएको छ। त्यही क्रममा मञ्चको १६औं संस्करण नेपालमा आयोजना गर्न लागिएको हो।
‘अर्को विश्व सम्भव छ’ भन्ने नारा दिइएको संस्करण फागुन ३ देखि ७ गतेसम्म काठमाडौंमा चल्नेछ। यसमा १३ वटा मूल विधामा आधारित भएर ठूलासाना गरी ४०२ वटा कार्यक्रम गरिने भएको छ।
कार्यक्रममा हालसम्म विश्वभरबाट ९२ देशका एक हजार २५२ वटा संस्था तथा समूह स्वआयोजकका रूपमा दर्ता भएका छन्। कार्यक्रममा करीब ४० देखि ५० हजार जनाको सहभागिता रहने जनाइएको छ। विश्व सामाजिक मञ्च-२०२४ को बिहीबार काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन गरिंदै छ।
हरेक दिन विभिन्न देशका कला, साहित्य, संस्कृति झल्किने कार्यक्रम हुने भएका छन्। कार्यक्रमका विभिन्न सत्र नेपाली, अंग्रेजी, फ्रेन्च, स्पेनिश, अरबिक र पोर्चुगिज भाषामा अनुवाद गर्ने व्यवस्था मिलाइएको छ। कार्यक्रमभर ७५० जना स्वयंसेवक परिचालन गरिने जनाइएको छ।
यो पनि पढ्नुहोस् : वैकल्पिक विश्व खोज्दै विश्व सामाजिक मञ्चको सम्मेलन