वात्स्यायनले कोर्न नसकेको एउटा चित्र
अक्षर नसिक्दै अँगार र खरीढुंगाले भित्ता र आँगनमा चित्र बनाउन शुरू गरेका दुर्गा बराल कार्टून र चित्रकलाका बादशाहका रूपमा दरिएका छन्।
वात्स्यायन अर्थात् वरिष्ठ कलाकार दुर्गा बरालले कति चित्र कोरे, कति कार्टून बनाए, कति तस्वीर खिचे होलान? यकीन छैन। “दुई हजारको हाराहारीमा कार्टून कोरें कि!,” वात्स्यायन अड्कल लगाउँछन्। कति आधाउधीमै च्यातिन्छन्, कति पूर्ण भएपछि पनि डस्टबिनमा फालिन्छन्। किनकि उनको कला पहिले उनैलाई मन पर्नुपर्छ, आफूलाई मन नपरे अरूलाई देखाउँदैनन्।
जब आफू सन्तुष्ट हुन्छन् अनि मात्रै अरूलाई देखाउँछन्, छाप्न पत्रपत्रिकामा पठाउँछन्। त्यसैले उनका हरेक कलाकृति जँचेका हुन्छन्। “मेरा सबै कार्टून चित्र राम्रा छन्,” पोखराको नदीपुरस्थित निवासमै रहेको स्टुडियोमा भेटिएका वात्स्यायन भन्छन्, “राम्रो बनेपछि मात्रै म अरूलाई देखाउँछु। नराम्रो त आफैंसँग नि राख्दिनँ, छाप्न पठाउँदिनँ, अरूलाई पनि देखाउँदिनँ।”
वात्स्यायनको धेरै समय स्टुडियोमै बित्छ, अझ पोखरामै। आठ वर्षको छँदा कास्कीकै आर्वाबाट पोखरा झरेका उनलाई अन्यत्र जान मनै लागेन। बाँधेर राख्यो, पोखराले।
एक पटक किशोरावस्थामा कला सिक्न काठमाडौं छिरेका थिए। केही समय बिताएर २०२६ सालमा पोखरा फर्किए। त्यति वेला २६ वर्षे तन्नेरीले काठमाडौंमा कामकाज सिक्ने उमेर ढल्किसकेको महसूस गरे। अनि पोखरामै बसेर काम गर्ने सुर कसे।
काठमाडौंबाट पोखरा फर्किएपछि कामकाज त गर्नै थियो। के गर्ने भन्ने यकीन थिएन। उनी फोटोग्राफीतिर लागे। एक जना साथी थिए, खेमनारायण श्रेष्ठ। उनकै फोटो स्टुडियोमा फोटो खिच्ने काम पाए। केही समयपछि श्रेष्ठले नै पोखराको महेन्द्रपुलमा फोटो स्टुडियो बनाइदिए। त्यसको नाम थियो, फोटो संसार। उनले त्यसैलाई आफ्नो संसार बनाए।
रीलमा ‘ब्ल्याक एन्ड ह्वाइट’ तस्वीर खिच्ने समय थियो त्यो। महँगो रीलमा सीमित तस्वीर खिच्नुपर्थ्यो। ग्राहकलाई होइन, पहिले उनलाई तस्वीर चित्त बुझ्नुपर्थ्यो। महँगो रीलको चिन्ता थिएन। जसरी हुन्छ ग्राहकको राम्रो तस्वीर आउनुपर्थ्यो। जुन आफूलाई चित्त बुझ्छ, त्यो रिल मात्र धुलाएर ग्राहकको हातमा तस्वीर राख्थे।
राम्रो तस्वीर ननिस्किए आफैं च्यातेर फ्याँकिदिन्थे र फेरि खिच्थे। त्यसैले तस्वीर खिचाउन आउने बढ्न थाले। “अब त्यसरी फोटो खिचेपछि किन राम्रो हुँदैनथ्यो त, फोटो खिचाउन आउनेको भीड लाग्थ्यो,” फोटो संसारको दैनिकी सम्झिँदै उनी भन्छन्, “कमाउनुपर्ने पैसाभन्दा पसलको खर्च बढी हुन थाल्यो।”
बिहानदेखि साँझसम्म व्यस्त हुन्थे। ग्राहकको घुँइचो लाग्थ्यो। कामकाज चलेकै थियो तर पसल घाटामा गयो। किनकि एउटै मान्छेका धेरै फोटो खिच्दा महँगो रील सकिन्थ्यो, पैसा भने एउटै फोटोको आउँथ्यो। त्यसपछि साथी श्रेष्ठले सुझाए, “तिमी व्यवसाय गर्न सक्दैनौ, त्यही आफ्नो कलातिर लाग।”
अनि फोटो स्टुडियो छाडेर चित्रकलातिर लागे। २०३२ सालमा पोखराको मोहरिया टोलमा चित्रकलाको स्टुडियो खोले, इगल आई आर्ट स्टुडियो। त्यहीं बसेर चित्र कोर्न थाले। पोखरामा पहिलो पटक सम्भवत् उनैले पानी रङ भित्र्याए।
पर्यटकलाई आफ्ना चित्र बेच्न थाले। पोखराको सुन्दरता, हिमाल, पोखरा बजार, जनजीवन समेटिएका चित्र बिक्री हुँदा कमाइ पनि हुन थाल्यो। स्टुडियोमा यसरी रमाए कि १५ वर्ष बितेको पत्तै पाएनन्।
आँखामा नआउने आमाको तस्वीर
बरालले चित्र कोर्न थालेको छ दशक नाघ्यो। यो अवधिमा हजारौं चित्र कोरे, फोटोका लागि लाखौं पटक क्यामेराको बटन थिचे। कसैगरी एउटा चित्र बनाउन सकेनन्, त्यो हो आमाको।
आमा कलावतीको अनुहार कस्तो थियो, उनलाई सम्झना छैन। तीन वर्षको हुँदा आमा गुमाएका थिए। त्योसँगै आमाको माया पनि गुमाए। “आमाको माया कस्तो हुन्छ, थाहा पाइनँ,” एक छिन घोत्लिएर सेता कपाल मुसार्दै बराल भन्छन्, “आमाले आफ्नो सन्तानलाई माया गरेको देख्थें, मैले आमाको मायो कस्तो हुन्छ, महसूस गर्न पाइनँ।”
बरालको स्वभाव अन्तरमुखी छ। उनी आवश्यक परे मात्रै बोल्छन्, त्यो पनि निकै कम। सानैदेखि एकान्तमा बस्न रुचाउँथे, अहिले पनि एकान्त नै प्यारो लाग्छ। आमा नहुँदाको मनोविज्ञानले पनि आफ्नो बाल्यकालमा असर पर्यो कि भन्ने उनी ठान्छन्। त्यसले पनि आफूलाई अन्तरमुखी बनाउँदै लगेको उनी सुनाउँछन्।
बरालका हजुरबुबा मुखिया थिए, परिवार कृषिमा नै निर्भर थियो। आमा बितेपछि बुबा हरिवंश काम गर्न भारततिर लागे। त्यसपछिका पाँच वर्ष फुपूको रेखदेखमा बित्यो। “फुपूले निकै माया गर्नुहुन्थ्यो,” उनी सम्झिन्छन्।
आठ वर्षको हुँदा मावली हजुरआमाले पोखरा बोलाइन्। मामाले आर्वाबाट पोखरा ल्याएको याद छ। बिस्तारै आफ्नो घर नै बिर्सिन थाले। मावली घरलाई नै आफ्नो घर भन्न थालेको उनी सुनाउँछन्। पोखरा उनका लागि मावली गाउँ रहेन, घर नै बन्यो। घरमा पाउने सबैथोक पाएका थिए। पोखरामै बसेर पढे, एसएलसी दिए।
खरीदेखि पेन्टिङ ब्रससम्म
कास्कीको आर्वामा (हालको पोखरा-१३) जन्मिएका बराल सानैदेखि चित्र कोर्थे। कसको प्रभावले चित्र कोरे भन्ने उनलाई नि थाहा छैन। किनकि त्यति वेला उनको वरिपरि चित्र कोर्ने कोही कलाकार थिएनन्। न उनले कतै चित्र कारेको देखेका थिए न त कलाबारे थाहा थियो।
बालसखाहरू खेल्न जाँदा उनी भने घर वरपर नै चित्र कोर्थे। एकोहोरो रूपमा चित्र नै बनाइरहेको सम्झिन्छन्। खरीढुंगा लिएर घरआँगनमा, छपनीमा चित्र कोर्ने गरेको उनी सुनाउँछन्। त्यति वेला उनका चित्र कमलको फूल, हात्ती, रूख वा यस्तै हुन्थे। “आफ्नै गाउँको सुन्दर प्रकृति देखेर होला, म तिनलाई नैै चित्रमा उतार्न खोज्थें,” उनी बाल्यकाल सम्झिन्छन्।
गाउँमा हुने पूजापाठ, बिहे, व्रतबन्ध लगायत क्रियाकलापमा पुरोहितले बनाउने मण्डपका मुख्य चारसँगै आठ दिशामा विभिन्न प्रकारका हात्तीका चित्र बनाउने गरिन्थ्यो। हात्तीको चित्र बनाउने प्रेरणा त्यहींबाट पाएको उनी बताउँछन्। कहिले खरीढुंगा त कहिले अँगेनाबाट अँगार निकालेर बाँस, भित्ता र ढुंगामा चित्र कोर्थे। चित्रकारिताको शुरूआत र अभ्यास यसैगरी भयो।
उनले बनाएका चित्र देखेर साथीहरू दंग पर्थे। बिस्तारै साथी र शिक्षकले पनि चित्र बनाउने प्रेरणा दिन थाले। अरूले राम्रो भनिदिंदा उनलाई पनि हो कि जस्तो लाग्यो रे! अनि पछि कला नै पढ्छु भन्ने अठोट गरेको उनी सुनाउँछन्।
पोखराको पृथ्वीनारायण क्याम्पस (पीएन)मा विज्ञान संकायको दोस्रो ब्याचका विद्यार्थी थिए, बराल। जीवविज्ञान विषयमा फूल, वनस्पति, जनावर लगायतको चित्र बनाउनुपर्थ्यो। उनले बनाएको चित्र देखेरै जीवविज्ञानकी शिक्षिका एलियामा जोनले विज्ञानभन्दा कलातर्फ लाग्न प्रेरित गरिन्। जोनले छात्रवृत्तिमा विदेश गएर पढ्न पनि सुझाएकी थिइन्।
पछि त्रिभुवन विश्वविद्यालयले पीएन क्याम्पसमा रहेको विज्ञान संकायलाई स्वीकृति दिएन। एक वर्ष पीएन क्याम्पसमा अध्ययन गरेर उनी २०२० सालमा काठमाडौंतर्फ लागे।
चित्रकलामा केही गर्ने हुटहुटी थियो। त्यही क्रममा काठमाडौंमा घरेलु शिल्प केन्द्र र जनक शिक्षा सामग्रीमा काम गर्न थाले। त्यति वेला भने थुप्रै हन्डर खाएको उनी सुनाउँछन्।
त्यही समयमा नयाँ सन्देश पत्रिकाका सम्पादक रमेशनाथ पाण्डेसँग उनको चिनजान भयो। पाण्डेलाई पत्रिकाका लागि कार्टूनिस्ट चाहिएको थियो। बरालले काम पाइहाले।
त्यति वेला पत्रिकामा कार्टून छाप्ने चलन थिएन। अंग्रेजी, हिन्दी पत्रिकाले छापेका कार्टूनबाट नेपालमा भर्खर सिको गर्न थालिएको थियो। सम्पादक पाण्डे कार्टूनका लागि विचार दिन्थे र त्यसै अनुसार बराल कार्टून बनाउँथे। “कार्टून बनाउन समाज र राजनीतिबारे अध्ययन र जानकार हुनुपर्छ, मलाई राजनीतिमा रुचि थिएन,” बराल भन्छन्, “सम्पादकले विदेशको कार्टून बनाउने तरीका हेर्न र नियमित सम्पादकीय पढ्न भन्नुभयो। मैले त्यसै गरें।”
नयाँ सन्देश र जनक शिक्षा केन्द्रमा काम गरिरहेकै वेला जापान जाने मौका मिल्यो। तीन महीना जापान पुगेर कला सम्बन्धी तालीम लिए। त्यसपछि भने काठमाडौं बसिरहन मन लागेन र पोखरा फर्किए। कला पढ्ने हुटहुटीले काठमाडौं पसेका बरालले कला त पढ्न पाएनन् तर कार्टूनसँग परिचित भएर फर्किए।
निःशुल्क कार्टुन
पोखरा फर्किएर आफ्नै आर्ट स्टुडियोमा काम गरिरहेका थिए। काठमाडौं छाडेदेखि कार्टूनको काम पनि रोकिएको थियो। काठमाडौंमा भेटघाट भएका साथीहरूले आफ्नै पत्रिका प्रकाशन गर्न थालेका थिए।
२०३३ सालतिरको कुरा हो, कार्टून बनाइदिनू भनेर काठमाडौंका साथीहरूले आग्रह गरे। अनि राष्ट्र पुकार पत्रिकामा काम गर्न थाले। त्यसपछि त मातृृभूमि, देशान्तर, सुरुचि, गोरखापत्र, कान्तिपुर लगायत पत्रिकामा कार्टून बनाए।
उनी कार्टून बनाउँथे अनि साइकल चढेर पोखराको विमानस्थल पुगेर सक्कल प्रति नै काठमाडौं पठाइदिन्थे। त्यति वेला फ्याक्स, स्क्यान आइसकेको थिएन। त्यसैले पनि त्यस वेलाका आफ्ना कार्टून नष्ट भएको बराल बताउँछन्।
यी सबैमा काम गरुन्जेल पैसा पाएका थिएनन्। “साथीहरूलाई सहयोग भनेर बनाइदिन्थें, उनीहरू पनि दिन सक्ने अवस्थामा थिएनन्,” बराल भन्छन्, “कान्तिपुरमा आएपछि हो मैले पैसा पाएको।”
पञ्चायती व्यवस्थामा पत्रिकाहरू नियन्त्रित थिए। व्यवस्था विरुद्ध छिसिक्क लेख्दा पनि स्पष्टीकरण दिनुपर्ने, जेल जानुपर्ने अवस्था थियो। केही पत्रिकाले प्रजातन्त्र, मानव अधिकार र स्वतन्त्रताको माग गर्दे लेख्न शुरू गरिसकेका थिए। “स्वतन्त्र भएर बोल्न, विचार राख्न पाउनुपर्यो। व्यवस्था परिवर्तन गर्नुपर्छ भन्नेबारे मैले पनि बुझें,” बराल पञ्चायतकालीन दिन सम्झिन्छन्, “पञ्चायत विरुद्धको मिसनलाई सहयोग गर्नुपर्छ भनेर काम गर्न शुरू गरेका थिएँ।”
वात्स्यायनको जन्म र कार्टुनमा काग
सत्ता विरुद्ध व्यंग्यात्मक कार्टून कोर्न थालेपछि जोखिम त हुन्थ्यो नै। त्यसैले अर्को नाम प्रयोग गर्ने सोच बनाए। उनी पृथ्वीनारायण क्याम्पसमा कला प्रशिक्षक पनि थिए। क्याम्पसमै पढाउने प्राध्यापक सोमनाथ पौडेलसँग छद्म नामका लागि सुझाव मागे। पौडेलले ‘६४ कला जानेको मान्छे वात्स्यायन हो, यो नाम राख्दा राम्रै होला’ भनेर सुझाए।
बराललाई ‘वात्स्यायन’ नाम मन पर्यो। त्यसपछि उनले आफ्ना कार्टूनमा ‘वात्स्यायन’ नाम प्रयोग गर्न थाले। उनी भन्छन्, “आफूलाई भूमिगत राख्न ‘वात्स्यायन’ नाम राखेको थिएँ।”
२०५२ सालमा कान्तिपुर पत्रिकामा कार्टून बनाउन शुरू गरेका बरालले २७ वर्ष काम गरे। कान्तिपुरले कोसेली संस्करण पनि निकाल्न थाल्यो। त्यसमा पनि कार्टून बनाउनुपर्ने भयो। कान्तिपुरमा राजनीतिक-व्यंग्यात्मक कार्टून छापिन्थे, कोसेलीमा सामाजिक विषयका।
दुवै थरीका कार्टूनलाई फरक बनाउन कोसेलीमा कागको प्रयोग गरे। काग देखेपछि ‘वात्स्यायन’ को कार्टून भनेर छुट्टियोस् भनेर त्यसो गरेको उनी सुनाउँछन्। “त्यति वेला कौवा प्रकाशन भन्ने संस्था थियो। हास्यव्यंग्यसँग सम्बन्धित त्यो संस्थाले मलाई पुरस्कृत गरेको थियो। त्यसमा कौवाको चित्र थियो। मैले त्यही सम्झिएँ,” बराल भन्छन्, “कौवा राख्दा हास्यव्यंग्य पनि हुन्छ र काग सन्देशवाहक चरा पनि हो भनेर राखें।”
‘राति आफ्नै कार्टून सम्झिएर हाँस्छु’
वात्स्यायनका कार्टून जन्मने प्रक्रिया छन्। पत्रपत्रिका पढ्छन्, टेलिभिजन हेर्छन्, मान्छेका कुरा सुन्छन्। चिया पसल, किताब पसल, विशेषत: मान्छे भेला हुने ठाउँमा गरिने राजनीतिक, सामाजिक चर्चालाई ध्यान दिन्छन्।
त्यसपछि सोच्छन्, विचार गर्छन्, त्यसलाई पेचिलो, व्यंग्यात्मक बनाउन के गर्ने भन्नेबारे मन्थन गर्छन्। अनि बल्ल खाका बनाउँछन्। पहिलो दिन खाकामै सकिन्छ भने दोस्रो दिन रङ भरेर पूरा गर्छन्। “सातामा एउटा कार्टून कोरें भने पाँच दिन त सोच्नुपर्छ, कार्टून बनाउन सजिलो छैन,” वात्स्यायन भन्छन्, “कार्टून त जसले हेर्दा पनि सजिलोसँग बुझ्ने हुनुपर्छ, हाकिमदेखि ज्यामी काम गर्नेसम्म।”
कार्टून नबनुन्जेल त्यसकै तनावले अरू कुरा सोच्दैनन्। मुश्किलले तयार भएको कार्टून छाप्न पठाइसकेपछि मध्यरातमा कैयन् पटक एक्लै हाँसेको उनी सुनाउँछन्। “कार्टून बनाउन्जेल तनाव हुन्थ्यो, कार्टून पठाइसकेपछि भोलि पत्रिकामा छापिएर आउँदा कस्तो होला भनेर सोच्थें,” उनी भन्छन्, “अनि राति आफूले बनाएको कार्टून सम्झिएर हाँसो लाग्थ्यो।”
कार्टून र चित्रकला दुवै उनका प्रिय विषय हुन्। दुवैको छुट्टै स्वाद हुने उनी बताउँछन्। कलात्मक अनुभूति व्यक्त गर्न चित्रकला र विचार प्रदान गर्न कार्टूनको प्रयोग हुने सुनाउँछन्। चित्रकला स्वतन्त्र र आफू सन्तुष्ट भइसकेपछि पुग्छ तर कार्टूनको दायरा सीमित हुने उनको तर्क छ। “कार्टूनमा आफूले बुझेर मात्र पुग्दैन, अरूलाई पनि सजिलोसँग बुझाउने हुनुपर्छ,” उनी भन्छन्।
कार्टून बनाउँदा धर्म, जातजाति, लिंगभेद लगायत विषयमा नकारात्मक असर पर्छ कि भनेर सर्तक हुनुपर्ने बताउँछन्। राम्रो कार्टून बनाउन विचारलाई नै प्राथमिकता दिनुपर्ने उनको अनुभव छ। वात्स्यायन भन्छन्, “चित्रले सुन्दरताको भाव पैदा गर्ने हो तर कार्टूनमा विचार दिन सक्नुपर्छ। अनि बल्ल राम्रो कार्टून बन्छ।”
उनलाई आफूले बनाएका सबै कार्टून मन पर्छन् किनकि मन नपरेका कार्टून त डस्टबिनमा पुग्छन्। तथापि शुरूआततिर बनाएका केही कार्टूनले अहिलेसम्म पनि तानिराखेका छन्।
जस्तो- एउटा कार्टून थियो लोडशेडिङको समयको। विद्युत् प्राधिकरणको कर्मचारी बिल दिन मिटर रीडिङ गर्न आएको हुन्छ। बत्ती नभएका कारण लालटिन बालेर रीडिङ गर्छ।
त्यस्तै, शहीद दिवसका दिन बनाएको कार्टून पनि उनलाई विशेष लाग्छ। एउटा आन्दोलनकारी, जसले आन्दोलनमा भाग लिएको थियो। आन्दोलनले राजनीतिक परिवर्तन गयो। आन्दोलनकारी भने फाटेको लुगा लगाउँछ, जीवन चलाउन गाह्रो हुन्छ। ऊ शहीदको शालिक अगाडि उभिएर भन्छ, ‘राम्रो गर्नुभयो, बाँच्नुपरेको भए आत्महत्या गर्नुहुन्थ्यो।’
कार्टूनले प्रायः मान्छेलाई हँसाउँछ। बरालले भने गम्भीर बनाउने कार्टून पनि कोरेका छन्। त्यसमध्ये एउटा हो- शहीद दिवसकै सन्दर्भमा बनाएको। शहीदका आमा र छोरा बसेका हुन्छन्। शहीदलाई माला लगाएको छोराले देख्छ। अनि सोध्छ, ‘आज शहीद दिवस रहेछ आमा!’
पार्वतीको साथ
वात्स्यायन आफ्नो कार्टून मार्फत जति प्रभावशाली अभिव्यक्ति दिन्छन्, निजी जीवनमा ठीक विपरीत छन्। धेरै बोल्दैनन्, चूपचाप बस्छन्। विवाहको मामला पनि त्यही भयो।
१७ वर्षको उमेरमा उनको विवाह १५ वर्षकी पार्वती बरालसँग भएको थियो। विवाह गरेको पाँच वर्षसम्म दुवै जनाले बोलचाल गरेनन्। “दुवैको नबोल्ने स्वभाव छ,” बराल थप्छन्, “लाज लागेरै नबोलिएको होला।”
उनले आफ्नो विवाहबारे पनि त्यही दिन थाहा पाएका थिए, त्यो पनि अरूले भनेर। त्यति वेला उनी पोखरामै थिए। बुबाले स्याङ्जामा ‘केटी’ हेरिसकेका रहेछन् । मन पनि पराएछन्। बिहेको दिन जुराएर पर्खिबसेका रहेछन्।
एक दिन बुबा आर्वाबाट उनलाई लिन पोखरा आए। बुबा लिन आएपछि नजाने कुरै भएन। “घर नजिक पुग्दा बारीमा रहेका छिमेकीले ‘ल दुलहा’ भनेको सुनें,” उनी त्यो दिन सम्झिन्छन्, “अनि बल्ल मेरो विवाह रहेछ भन्ने थाहा पाएँ।”
त्यति वेला आमाबुबाले भनेको कुरा काट्ने चलन दिएन। उनले पनि बुबाले भनेको काट्न सकेनन्। “आमाबुबाले जे भने पनि मान्नुपर्थ्यो,” बराल बिहेको दिनको मनोदशा सुनाउँछन्, “बुबाले बिहेको तयारीका लागि खर्च गर्नुभयो होला भन्ने सोचें। मैले नाइँ भन्ने अवस्था थिएन, अनि चूप लागेर बिहे गरें।”
बिहेपछि पार्वती पढाइ पूरा गर्न स्याङ्जा फर्किइन् भने उनी पोखरा। केही वर्षपछि उनी पोखरा आएर स्वास्थ्यसेविकाको काम गर्न थालिन्। त्यति वेला बराल काठमाडौंतर्फ लागेका थिए।
त्यही वेला तालीमका लागि पार्वती पनि काठमाडौं पुगिन्। काठमाडौं पुगेपछि बल्ल दुवै जनाको बोलचाल शुरू भएको बराल सुनाउँछन्। “हवाईजहाजसम्म छोड्न आउँदा दुवैले एकअर्कालाई हेर्यौं तर दुवै केही नबोल्ने,” बराल लजाउँदै त्यो क्षण सुनाउँछन्।
उनीहरूका चार सन्तान भए। तीन छोरा र एक छोरी। उनी चित्रकारितामा व्यस्त हुँदा सन्तानको रेखदेख सबै पार्वतीले नै गरिन्। त्यसैले सन्तान पनि आमासँग नै बढी नजिक छन्। “अहिले पनि म कम बोल्छु, उनीहरू आमासँग नै नजिक छन्,” बराल भन्छन्, “पार्वतीले पनि मलाई ‘फ्री’ छाडिदिइन्, त्यसो नगरेको भए मैले यतिका काम गर्न पाउँदिनथें, म आफ्नौ काममा व्यस्त भएँ।”
श्यामश्वेत वात्स्यायन
६ दशक रङसँग बिताए। आँखाले रङ देखे, औंलाले रङ छोए, चलाए। सात रङमा उनको प्रिय भने कालो रङ हो। कालो रङ किन? वात्स्यायन भन्छन्, “सात वटै रङको मिश्रण हो, कालो रङ।”
कालो रङ र त्यसमा पनि श्यामश्वेतको मिश्रण उनलाई असाध्यै मन पर्छ। “सबै रङले अरूको आँखा तान्छ, श्यामश्वेतले आँखा तान्दैन तर ‘एक्सप्रेसिभ’ चाहिं हुन्छ,” उनी भन्छन्।
गत वर्ष आँखाको मोतीबिन्दुको शल्यक्रिया गरेका थिए। त्यसयता आराम गरिरहेका छन्। ८१ वर्षमा पाइला चालिरहँदा शरीरमा पहिले जस्तो स्फूर्ति नभए पनि हातले कलम र ब्रस समाउन छाडेका छैनन्। विचारको प्रवाह हुँदा तुरुन्तै चित्र कोर्न मन लाग्छ तर आँखाले साथ दिंदैन, धमिलो देख्छन् र काम गर्दा छिटै थाकिहाल्छन्। तैपनि चित्रकारिताको ऊर्जाले पाइला चालिरहेका छन्।
उनै वात्स्यायनका कलाकृति नेपाल लिटरेचर फेस्टिभलमा अवलोकन गर्न पाइने भएको छ। उद्घाटनको दिन फागुन ३ मा उनका कार्टूनको संग्रह वात्स्यायन एन्ड हिज बाब्र्स भोल्यूम २ लोकार्पण गरिंदै छ भने कार्टून प्रदर्शनी हुनेछ।