१० मेगावाटसम्मका जलविद्युत् आयोजनाको पीपीए खुलाउने प्राधिकरणको निर्णय
नेपाल विद्युत् प्राधिकरणले स्वदेशी साना लगानीकर्ताको विद्युत्मा लगानी प्रोत्साहन गर्न १० मेगावाटसम्मका जलविद्युत् आयोजनाले उत्पादन गर्ने बिजुली किन्ने निर्णय गरेको छ। प्राधिकरणले यस्ता आयोजनासँग विद्युत् खरीदबिक्री सम्झौता (पीपीए) खुला गर्ने निर्णय गरेको हो।
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा माघ २४ मा बसेको प्राधिकरण सञ्चालक समितिको ९६३औं बैठकले १० मेगावाटसम्मका नदी प्रवाही (आरओआर) र अर्धजलाशययुक्त (पीआरओआर) जलविद्युत् आयोजनासँग जहिले र जति पनि पीपीए गर्ने निर्णय गरेको हो। प्राधिकरणले यसअघि कोटा तोकेर मात्रै विद्युत् खरीद गर्ने गरेको थियो।
१० मेगावाटसम्मका जलविद्युत् आयोजनाको विद्युत् ‘लेऊ या तिर’ प्रावधानका आधारमा खरीद गरिनेछ। अर्थात्, आयोजनाले उत्पादन गर्ने विद्युत् नकिनेमा विद्युत् प्राधिकरणले ती आयोजनालाई क्षतिपूर्ति तिर्नुपर्नेछ। यसले विद्युत् आयोजनाको बजार सुनिश्चितता हुन्छ। आयोजनाको विद्युत् सुक्खा याम (मंसीर १६ देखि जेठ १५) र वर्षा याम (जेठ १६ देखि मंसीर १५) का लागि हाल कायम रहेको दर क्रमशः रु.८.४० र ४.८० प्रतियुनिटमा खरीद हुनेछ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थानीय प्राकृतिक स्रोतको अधिकतम प्रयोग र स्वदेशी साना लगानीकर्ताको लगानी जलविद्युत् क्षेत्रमा प्रोत्साहन गर्न १० मेगावाटसम्मका आयोजनामा उत्पादन सम्मिश्रणका आधारमा तय गरिएको पीपीए सीमा लागू नहुने व्यवस्था गरिएको बताए। “कोटाका कारण १० मेगावाटसम्मका जलविद्युत् आयोजनाको पीपीए हुन सकिरहेको थिएन, अब १० मेगावाटसम्मका आयोजनालाई उक्त कोटा लागू नहुने भएकाले जहिले र जति क्षमताको पनि पीपीए गर्न सकिन्छ। यसले स्वदेशी साना लगानीकर्तालाई प्रोत्साहन गर्नेछ,” घिसिङले भने।
उनले ग्रिड आबद्ध सम्झौता भएका र हुने १० मेगावाटसम्मका जलविद्युत् आयोजनाको पीपीए जति र जहिले पनि गर्ने बताए। १० मेगावाटसम्मका ८९ वटा आयोजनाले पीपीएका लागि प्राधिकरणमा निवेदन दिएका छन्। आयोजनाको क्षमता ३५१ मेगावाट छ। त्यसमध्ये १९५ मेगावाटका ४४ आयोजनासँग ग्रिड आबद्ध सम्झौता सम्पन्न भइसकेको छ।
दीर्घकालीन रूपमा आन्तरिक उत्पादनबाटै विद्युत्मा आत्मनिर्भर हुने उद्देश्यले आगामी १० वर्षमा उत्पादन गरिने १५ हजार मेगावाटको लक्ष्यलाई आधार मानी विद्युत् प्रणालीमा जलाशययुक्त आयोजनाको २५ प्रतिशत, पिकिङ आरओआर (बिजुलीको माग बढी हुने बिहानबेलुका पूर्ण क्षमतामा चलाउन सकिने आयोजना)को ३० प्रतिशत, नदी प्रवाहमा आधारित आयोजनाको ४५ प्रतिशत अंश रहने गरी उत्पादन सम्मिश्रण तय गरिएको थियो। सोही आधारमा पीपीएको सीमा तय गरिएको थियो।
आरओआर आयोजनाका लागि तय गरिएको अर्थात् ६ हजार ७५० मेगावाट सीमा पूरा भइसकेकाले १० मेगावाटसम्मका आयोजनाको समेत पीपीए हुन सकिरहेको थिएन। १० मेगावाटसम्मका अधिकांश आयोजना आरओआर आधारित छन्। प्राधिकरणले हालसम्म नौ हजार २०० मेगावाटको पीपीए गरिसकेको छ।
प्राधिकरण सञ्चालक समितिले पीपीए भइसकेका जलविद्युत् आयोजनाको क्षमतावृद्धि गरिएमा थप हुने विद्युत् खरीद गरिदिने निर्णय गरेको छ। प्राधिकरणले आयोजनाको जडित क्षमता २५ प्रतिशतसम्म वृद्धि भएमा पीपीएको सीमा लागू नहुने निर्णय गरेको हो। प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले आयोजनाको डिजाइन परिवर्तन लगायत कारण जडित क्षमताको २५ प्रतिशतसम्म अभिवृद्धिबाट उत्पादन हुने विद्युत् ‘लिऊ वा तिर’ प्रावधान राखी पीपीए संशोधन गरिने बताए।
सौर्य ऊर्जाको सीमा बढ्यो
प्राधिकरणले सौर्य जलविद्युत् आयोजनासँग गरिने पीपीएको सीमा बढाएको छ। प्राधिकरणले सौर्य आयोजनाको पीपीए प्रतिस्पर्धाबाट गर्दै आएको छ।
प्राधिकरणले हाल कायम जडित क्षमता र पीपीए भइसकेका आयोजनालाई समेत समावेश गर्दा हुने राष्ट्रिय ग्रिडको कुल क्षमताको १० प्रतिशतसम्मको सीमामा रहेर प्रतिस्पर्धाका आधारमा सौर्य ऊर्जाको पीपीए गर्नेछ। यसअघि राष्ट्रिय ग्रिडको जडित क्षमताको १० प्रतिशतसम्म सीमामा रहेर सौर्य आयोजनाको पीपीए हुँदै आएको थियो।
सौर्य आयोजनाको विद्युत् प्रतिस्पर्धाबाट खरीद गर्न प्रतियुनिट पाँच रुपैयाँ ९४ पैसा अधिकतम आधार दर तय गरिएको छ। प्रतिस्पर्धामा उक्त दरभन्दा जसले कम कबोल गर्छ, त्यही आयोजनासँग पीपीए गरिनेछ।
“नयाँ व्यवस्था बमोजिम करीब ८०० मेगावाटका सौर्य आयोजनाको पीपीए गर्न सकिनेछ, हाम्रो स्वामित्वमा रहेका २००, १३२ र ३३ केभी सबस्टेशन नजिक निर्माण हुने सौर्य आयोजनाको पीपीए गर्ने गरी प्रतिस्पर्धा गराउनेछौं,” घिसिङले भने, “जलविद्युत् आयोजना निर्माण हुन केही समय लाग्ने तर सौर्य आयोजना एक/डेढ वर्षभित्र आउने भएकाले हिउँदको बढ्दो विद्युत् मागलाई पूरा गर्न ग्रिडमा आबद्ध सौर्य ऊर्जालाई प्राथमिकता दिइएको हो।”
प्राधिकरणले प्रतिस्पर्धाबाट हालसम्म १७५ मेगावाटको सौर्य आयोजनाको पीपीए गरेको छ। त्यसमध्ये १०६ मेगावाट सञ्चालनमा आएका छन्। थप ३० मेगावाटका सौर्य आयोजना पीपीए गर्ने प्रक्रियामा छन्।