वैकल्पिक विश्व खोज्दै विश्व सामाजिक मञ्चको सम्मेलन
नेपालमा हुन लागेको विश्व सामाजिक मञ्चको सोह्रौं सम्मेलनले नयाँ विश्वको सम्भावना पर्गेल्दै छ।
के तपाईं काठमाडौंका सडकमा इन्धनबाट चल्ने दुईपांग्रे र चारपांग्रे गाडी नचढी साइकलमा वा हिंडेरै एक कुनाबाट अर्को कुना पुगेको कल्पना गर्न सक्नुहुन्छ? लैंगिक, जातीय लगायत सबै किसिमका विभेद अन्त्य भएको समाज कस्तो होला भनेर सोच्न सक्नुहुन्छ? सबै मानिस समान भएको समाज कल्पना गर्न सक्नुहुन्छ?
कल्पनाको शक्ति कस्तो हुन्छ भन्नेबारे प्रख्यात बेलायती लेखक जेके रोलिङको भनाइ छ, ‘कल्पना नै सबै आविष्कार र नवीनताको जग हो।’ कल्पनाको यही उच्चतम आयामलाई छुने गरी काठमाडौंमा फागुन ३ देखि ७ गतेसम्म हुन लागेको विश्व सामाजिक मञ्च (वर्ल्ड सोसल फोरम)को सोह्रौं सम्मेलनमा नयाँ विश्वको परिकल्पना गरिंदै छ। मञ्चको नारा नै छ- ‘अर्को विश्व सम्भव छ।’ वर्तमान विश्वमा प्रचलनमा रहेका नवउदारवाद, पूँजीवाद र विश्वव्यापीकरणभन्दा फरक व्यवस्थाको काल्पनिकीमा विश्व सामाजिक मञ्चले स्थापनाकाल अर्थात् सन् २००१ देखि नै यो नारा अँगाल्दै आएको छ।
यस मञ्चले भावी सम्भावनाको परिकल्पना मात्र गर्दैन, लक्ष्यित भविष्य निर्माणका रणनीति पनि खोजी गर्छ। सन् १९७१ मा स्थापित विश्व आर्थिक मञ्चमा पैसालाई केन्द्रबिन्दु बनाएर भविष्य निर्धारण गर्ने सिद्धान्तहरूबारे छलफल गरिन्छ। विश्व सामाजिक मञ्चले भने त्यसको ठीक विपरीत समाज र प्रकृतिलाई केन्द्रमा राखेर विश्वको भविष्य निर्धारण गर्ने रणनीतिबारे विमर्श गर्छ।
मञ्चको नेपाल आयोजक समितिमा रहेका गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष नेत्रप्रसाद तिमल्सिना प्रचलित व्यवस्थाहरूले पैदा गरिरहेको असन्तुलन र असमानता चिर्न मञ्चको शुरूआत भएको बताउँछन्। उनी भन्छन्, “पूँजीवादी अर्थतन्त्रको असन्तुलित व्यवस्थाले निश्चित देश र निश्चित व्यक्ति धनी हुँदै जान्छन् र गरीब झन् गरीब हुँदै। धनी देशको शोषण र दोहनकारी प्रवृत्तिलाई प्रतिरोध गर्न नै यो मञ्चको थालनी भएको थियो।”
भविष्यको परिकल्पना गरे पनि मञ्चले विगत र वर्तमानमा अभ्यास भएका वैकल्पिक व्यवस्थाबाट पनि सिकिरहेको विश्व सामाजिक मञ्चका नेपाल आयोजक समितिका सदस्य शैल साथीको भनाइ छ। “काठमाडौंमा निजी सवारीसाधनलाई निरुत्साहित गर्ने गरी सार्वजनिक यातायात व्यवस्थित बनाउने र एक ठाउँबाट अर्को ठाउँ १० देखि १५ मिनेटको पैदलमा पुगिने शहर बनाउने हाम्रो एउटा कार्यक्रमको परिकल्पना छ,” उनी भन्छन्, “विगतमा त काठमाडौं उपत्यकाका अधिकांश मानिस सार्वजनिक सवारीसाधनबाटै यात्रा गर्थे, सबैले निजी गाडी किन्न सक्दैनथे। काठमाडौं, पाटनका पुराना बस्तीहरूको बनावट हेर्दा हिंडडुललाई प्राथमिकता दिएको देखिन्छ। त्यसैले विगतका अभ्यासबाट पाठ सिकेर भविष्य निर्धारण गर्ने विकल्प पनि प्रस्तुत गर्दै छौं,” उनी भन्छन्।
विश्व सामाजिक मञ्चको सम्मेलन नेपालमा हुन लागेको यो पहिलो पटक हो। मञ्चको अन्तर्राष्ट्रिय समितिले सम्मेलन गर्न नेपाल नै किन रोज्यो त? “पहिलो, नेपालमा पहिले राजतन्त्र थियो, दोस्रो जनआन्दोलन भएर संघीय लोकतान्त्रिक गणतन्त्र आयो। पूर्व राजा यहीं शान्तिपूर्ण ढंगमा बसेको र सशस्त्र युद्ध बिसाएर माओवादी शान्तिपूर्ण राजनीतिमा आएको देखेर विदेशी अभियन्ताहरू आश्चर्य मान्छन्। दोस्रो, नेपाल जस्तो हिन्दूको बाहुल्य भएको देशमा धर्मनिरपेक्षता कसरी लागू भएको छ हेर्न चाहन्छन्,” तिमल्सिना भन्छन्, “यीसँगै नेपालको संविधान प्रगतिशील हुनु, कतिपय देशमा अझै प्रतिबन्धित समलिंगी विवाहलाई यहाँ कानूनी मान्यता दिइनु र जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव पर्ने देशमध्ये नेपाल पनि हुनुका कारण सम्मेलनका लागि उपयुक्त थलो बन्न पुग्यो।”
यस सम्मेलनले अरू देशलाई नेपालबारे बुझ्ने मौका दिने भएकाले धेरै फाइदा रहेको सामाजिक अभियन्ताहरूको तर्क छ। अभियन्ता जेबी विश्वकर्मा अन्तर्राष्ट्रिय स्तरको कार्यक्रममा देश-विदेशका ज्ञान आदानप्रदान हुने भएकाले नेपाललाई अन्यत्रको ज्ञानमा पहुँच हुने बताउँछन्। “समाजवादी विचार संकटमा परेको वेला यस्तो छलफल हुनु हाम्रो समाजका लागि निकै आवश्यक र महत्त्वपूर्ण हो,” उनी भन्छन्।
अहिले व्याप्त भूमण्डलीकृत पूँजीवादले नेपाललाई पनि समस्या पारेको र त्यस विरुद्ध यहींबाट आवाज उठाइयो भने झन् बलियो सन्देश जान सक्ने उनको भनाइ छ।
मञ्चको यो १६औं सम्मेलनका कार्यक्रमहरू काठमाडौंको भृकुटीमण्डप र छेउछाउका कलेज वाल्मीकि विद्यापीठ, नेपाल ल क्याम्पस र रत्नराज्य क्याम्पसमा हुनेछन्। पहिलो दिन ऐक्यबद्धता र्याली, उद्घाटन समारोह र सांस्कृतिक प्रस्तुति हुनेछन्। दोस्रो दिनदेखि भने एकै दिन १०० देखि १५० सम्म कार्यक्रम हुनेछन्। सम्मेलनमा देशभित्र र बाहिरबाट ४०-५० हजार मानिस सहभागी हुने अनुमान छ। उनीहरूको व्यवस्थापन र सहयोगका लागि करीब ६०० स्वयंसेवक खटिनेछन्।
सम्मेलनमा नि:शुल्क रूपमा सहभागी हुन पाइने व्यवस्था छ। उद्घाटन र समापन समारोह तथा एक हजार जनाभन्दा बढी सहभागी भएका कार्यक्रमहरू प्रत्यक्ष प्रसारण गरिनेछन्। कार्यक्रमस्थल र प्रत्यक्ष प्रसारणमा अडियो सुन्न पोर्चुगिज, फ्रान्सेली, स्पेनिश, अरबी र नेपाली गरी ६ वटा भाषाको विकल्प राखिने र सांकेतिक भाषाको पनि व्यवस्था गरिने मञ्चले जनाएको छ।
विश्व सामाजिक मञ्च-२०२४ का विषयगत विधा :
१. आर्थिक असमानता र आर्थिक न्याय
२. श्रम, आप्रवासन, दासत्व र मानव बेचबिखन
३. आदिवासी, जातजाति, काम र वंशका आधारमा गरिने भेदभाव तथा छुवाछूत
४. लैंगिकता, लैंगिक हिंसा र पहिचान
५. भूमि, कृषि, खाद्य सम्प्रभुता, पारिस्थितिकीय कृषि, उर्जा र प्राकृतिक स्रोत
६. शान्ति, द्वन्द्व, युद्ध, कब्जा, विस्थापन र सुरक्षा
७. शिक्षा, कला र संस्कृति
८. सञ्चार, सामाजिक सञ्जाल र मिडिया (डिजिटल समानता)
९. लोकतन्त्र, मानव अधिकार, अधिनायकवाद, कानून र न्याय
१०. स्वास्थ्य, सामाजिक संरक्षण र समानता
११. जलवायु, पर्यावरण, न्यायोचित रूपान्तरण, वासस्थान र दिगो विकास
१२. महिला, बालबालिका, युवा, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरू
१३. सामाजिक आन्दोलन, नागरिकको भूमिका र विश्व सामाजिक मञ्चको भविष्य