सिंगो परिवार संगठित ठगीको शिकार, घरबास उठ्ने अवस्था
जापान जाने लोभमा धादिङको दुर्गम हिमाली भेगको एउटा तामाङ परिवार आफ्नो जायजेथा गुमाएर उठिबास हुने अवस्थामा पुगेको छ।
धादिङको उत्तरी हिमाली क्षेत्र री गाउँमा कोदो, मकै, गहुँ, आलु बाहेकका अन्न फल्दैन। त्यहाँका बासिन्दा जंगलमा निगालो काटेर थुन्चे, मान्द्रो, डालो लगायत सामान बुन्छन्। ती सामान धादिङका मुख्य बजारदेखि कास्की, गोरखा, तनहुँ, लमजुङ, नुवाकोट जस्ता आसपासका जिल्लाका बजारमा बिक्री गरी केही रकम आर्जन गर्छन्।
कान्छीमाया तामाङको परिवारले पनि यस्तै दुःख गरेर केही रकम जोगायो र २०७४ सालमा पोखराको ग्यारजातीमा १६ लाख रुपैयाँमा चार आना घडेरी जोड्यो।
जापानमा राम्रो आम्दानी हुने भन्दै बहिनी धनकुमारीले खबर ल्याएपछि दिदीबहिनीले आआफ्ना छोराछोरीलाई त्यहाँ पठाउने सल्लाह गरे। धनकुमारीका दुई छोरी छन् भने कान्छीमायाका दुई छोरा; जेठो २१ वर्ष र कान्छो १६ वर्षका। धनकुमारीले दुवै छोरी प्रिस्किला, रेविका र कान्छीमायाले जेठो छोरो शक्तिमानलाई पठाउने भए। “छोराछोरी विदेश गएर कमाइदिए हामीलाई बुढेसकालमा आरामको जीवन होला भन्ने सोचियो,” कान्छीमाया भन्छिन्।
धनकुमारीसँग फेसबूक मार्फत चिनजान भएका अमृत भन्ने सुवास गुरुङले २०७९ कात्तिकतिर प्रतिव्यक्ति १६ लाख रुपैयाँमा जापान पठाइदिने र त्यसका लागि सात-आठ जना हुनुपर्ने बताएका थिए। गुरुङले आफू जापानमै रहेको र नेपालमा राधा थापा महतलाई सम्पर्क गरेर प्रक्रिया अगाडि बढाउने उपाय पनि बताइदिएका थिए। जापानको विमानस्थलमा मासिक चार लाख ८० हजार रुपैयाँ कमाइ हुने भनिएको थियो। त्यसपछि निरक्षर धनकुमारीको मन लोभियो। “हिमाली गाउँमा हामीले गरेको दुःख सम्झिएँ,” उनी भन्छिन्, “राम्रो कमाइ हुन्छ भने आफन्तहरूको पनि भलाइ होस् भनेर सबैलाई सुनाएँ। उनीहरू पनि जान तयार भए।”
४३ वर्षीया कान्छीमायाले छोरो शक्तिमानलाई पठाउने भइन्। ४० वर्षीया धनकुमारीले आफू सहित दुई छोरीलाई जापान उडाउने सपना देखिन्। कान्छीमाया र धनकुमारीका ठूलीआमाकी छोरी ५५ वर्षीया कुमारीमाया तामाङ पनि छोरो आशिषलाई जापान पठाएर बहिनीहरू जस्तै सुखद भविष्य बिताउने योजनामा गाँसिन पुगिन्। धनकुमारीका माइला बुबाका छोरा बमबहादुर तामाङले पनि यो अवसर गुमाउन चाहेनन् र छोरा दानियललाई फुपूका छोराछोरीको साथ लगाएर जापान पठाउन सुर कसे। नातेदारबीच पारिवारिक सल्लाहपछि सबै जना खर्च जोहो गर्नतिर लागे।
कान्छीमायाले पोखरामा रहेको चार आना घडेरी धितो राखेर ऋण निकाल्ने सोचिन्। धितो राखेर ऋण नपाएपछि उनले पोखराकै मञ्जु गुरुङलाई घडेरी राजीनामा पास गरिदिएर २० लाख रुपैयाँ ऋण काढिन्। “धनीपुर्जा राखेर मात्र नहुने रहेछ, पास नै गरिदिएँ। जापान गएपछि चार-पाँच महीनामै पैसा तिरिहालिन्छ भन्ने भयो,” कान्छीमाया भन्छिन्। उनले छोरा शक्तिमान र बहिनी धनकुमारी तथा उनका छोरीहरूको खर्चका लागि रकम जुटाउनु थियो। अपुग रकम आठ लाख रुपैयाँ पोखराकै जुनु गौतमसँग सापटी लिइन्, कपाली तमसुक गरेर। कान्छीमायाले घरखर्च र जग्गा किन्न उक्त ऋण लिएको पोखरा महानगरपालिकाको वडा नम्बर १६ को कार्यालयमा गरिएको तमसुकमा उल्लेख छ। तीन वर्षभित्र ऋण नतिरेमा चलअचल सम्पत्तिबाट असुलिने कागजमा लेखिएको छ।
यता, बमबहादुरले गंगाजमुना गाउँपालिका–१, री गाउँकै गीता लामासँग दुई खेपमा गरी १५ लाख रुपैयाँ सापटी लिए। २०७९ पुस ५ गते पाँच लाख रुपैयाँ र १३ गते १० लाख रुपैयाँ गरी गीतासँग ऋण काढेको कपाली तमसुकबाट देखिन्छ। अघिल्लो चोटि लिएको ऋण २०८० भदौ र पछिल्लो चोटिको पुस महीनाभरिमा नतिरेमा चलअचल सम्पत्तिबाट असुल्ने शर्त राखिएको छ। गंगाजमुना–१ का वडाध्यक्ष बहादुर गुरुङको रोहबरमा कपाली तमसुक भएको थियो। मुलुकी देवानी कार्यविधि संहिताको दफा ३६ को उपदफा २ मा घरायसी लेनदेनको लिखत स्थानीय तह वा वडा समितिको कार्यालयमा दुवै पक्ष उपस्थित भएर प्रमाणित गराउनुपर्ने व्यवस्था छ। अनि मात्र त्यस्ता लिखतले कानूनी मान्यता पाउँछन्।
कुमारीमायाले री गाउँकै शेरबहादुर तामाङसँग २०७९ मंसीर २० गते साढे नौ लाख रुपैयाँ ऋण लिइन्। यसको १५ दिनपछि पुस ५ गते उनले कान्छीमाया तामाङ (धनकुमारीकी दिदी होइन) सँग थप नौ लाख रुपैयाँ ऋण लिएको कागजातबाट देखिन्छ। वडाध्यक्षको रोहबरमा गरिएको दुवै मितिको कपाली तमसुकमा छोरा आशिषलाई जापान पठाउन उक्त ऋण लिएको उल्लेख छ।
धादिङको खनियाबास गाउँपालिका–१ का अब्राहम तामाङले खनियाबासका बलबहादुर तामाङसँग २०७९ माघ ३ गते तीन लाख ८० हजार रुपैयाँ र यसको १० दिनपछि फेरि रुबीभ्याली गाउँपालिका–४ का मित्र तामाङसँग साढे चार लाख रुपैयाँ ऋण लिए। घरायसी तमसुक गरिएको दुवै कागजमा ३५ दिनभित्र सावाँ र ब्याज चुक्ता नगरे अब्राहमको चलअचल सम्पत्तिबाट असुल्ने शर्त राखिएको छ। यो ऋण लिन आफूले खनियाबासको दुई रोपनी जग्गा धितो राखेको उनले हिमालखबरसँग बताए।
यसरी यो परिवारका सात जना जापान जान सुवास गुरुङले भने अनुसार ८१ लाख सात हजार रुपैयाँ विभिन्न मितिमा राधा थापा महतको ब्यांक खातामा जम्मा गरियो। पारिवारिक सदस्यहरूबाट उठाएर धनकुमारीले रकम जम्मा गरिदिएकी हुन्। कागजात अनुसार २०७९ मंसीर १ गतेदेखि माघ ५ गतेसम्मको ६५ दिनको अवधिमा उनीहरूले यति ठूलो रकम बुझाएका हुन्। राधाको माछापुच्छ्रे र कुमारी ब्यांकको खातामा यो रकम जम्मा गरिएको थियो।
फिल्मी शैलीको कारोबार
जब उनीहरूले मोटो रकम बुझाए, सुवास गुरुङ एकाएक सम्पर्कविहीन भए। “हामी त जापान उड्ने भनेर सरसामान प्याक गर्न थालिसकेका थियौं,” धनकुमारी भनिछन्, “एक हप्ताभित्र उड्ने हो, सबै जना एक ठाउँ भेला भएर बस्नू भनेका थिए। तर पैसा दिएपछि लैजाने मान्छे गायब भयो।”
ब्यांक खाता नम्बर भए पनि राधासँग उनीहरूको प्रत्यक्ष चिनजान थिएन। लामो समयसम्म सुवास सम्पर्कविहीन बनेपछि मात्र उनीहरू आफूहरू ठगिएको चाल पाएर छाँगाबाट खसे झैं बने। त्यत्रो रकम डुबेपछि उनीहरूले सुवास र राधाको खोजी गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय, कास्कीमा निवेदन दिए।
जिल्ला प्रशासन कार्यालयले निवेदन जिल्ला प्रहरी कार्यालयमा पठाइदियो। प्रहरीले राधालाई पक्राउ गरेर उपस्थित गरायो। उनले पैसा ब्यांकबाट निकालेको कबोल गरिन्। तर प्रहरीले पैसा दिनुपर्छ भनेर राधालाई नभनेको बरु उल्टै कहिले फाइल छैन त कहिले भोलि, पर्सि आउनू भनेर दुई महीना झुलाइदिएको धनकुमारीले दुखेसो पोखिन्। “बयान दिने वेला पनि राधा थापाको परिवारका सबैलाई भित्र बोलाउँथ्यो, हामीलाई चाहिं एक्लाएक्लै,” उनी भन्छिन्, “यो त प्रहरीले उनीहरूलाई साथ दिएको छ भनेर जतिसुकै लाटो मानिसले पनि बुझ्ने कुरा हो नि।”
प्रहरीले अनुसन्धान राम्ररी नगरेपछि उनीहरू जिल्ला प्रशासन कार्यालयमा फर्किए। प्रशासन कार्यालयकै सल्लाहमा २०८० साउन ३ गते धनकुमारीले वैदेशिक रोजगार विभागमा जाहेरी दिइन्। विभागले अनुसन्धानपछि साउन २८ गते वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गर्यो। वैदेशिक रोजगारीका मुद्दा हेर्न उच्च अदालतका तीन जना न्यायाधीश तोकिएको हुन्छ।
राधाले आफूले धनकुमारी लगायतलाई जापान पठाउन उक्त रकम नलिएको बरु आफैं जापान जाने मनस्थिति बनाइरहेका वेला सुवास गुरुङसँग फेसबूक मार्फत चिनजान भएको दाबी गरेकी छन्। सुवासले भने अनुसार नै आफूले नयाँ ब्यांक खाता खोलेको र त्यहाँ जम्मा भएको रकम निकालेर पोखराको याम्दी पुलमा सुवासले भनेको व्यक्तिलाई नगदै दिएको विभागको अनुसन्धानका क्रममा र वैदेशिक रोजगार न्यायाधिकरण (अदालत) दुवै ठाउँमा राधाले बताएकी छन्। जापानमा बसिरहेको दाबी गर्ने सुवासले आफ्नो घर चितवन बताएको बाहेक केही पनि थाहा नभएको पनि उनले अदालतमा भनेकी छन्। साथै, त्यति ठूलो रकम दिने व्यक्तिबारे आफूलाई केही थाहा नभएको जिकिर गरेकी छन्।
वैदेशिक रोजगार न्यायाधिकरणले राधालाई भोलिपल्ट नै अर्थात् साउन २९ गते तीन लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिए पनि अन्तिम फैसला हुँदा भने दोषी ठहर गरिदिएको छ। गत माघ २ गते न्यायाधिकरणका अध्यक्ष कृष्ण गिरी, सदस्यद्वय निशा बानियाँ र उद्धवप्रसाद पुडासैनीको इजलासले दोषी ठहर गर्दै साढे एक वर्ष कैद र ८१ लाख सात हजार रुपैयाँ बिगो र क्षतिपूर्तिस्वरूप बिगोको आधा रकम ४० लाख ५३ हजार ५०० रुपैयाँ भराउनुपर्ने फैसला गरेको छ। यस्तै, जरिवाना डेढ लाख रुपैयाँ भराउनुपर्ने र यसको चार प्रतिशत पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसलामा उल्लेख छ।
“हामीलाई ठगी गरेको ठहर त भएको छ तर त्यो पैसा कसरी र कहिले पाउँछौं भन्ने थाहा छैन,” कान्छीमाया भन्छिन्।
घरबास उठ्ने अवस्था, अनुसन्धानले जरो भेटाएन
राधा दोषी ठहर भए पनि दुर्गम भेगका सिंगो सीमान्तीकृत समुदायको उठिबास हुने गरी भएको यो ठगीको मुख्य योजनाकार को हो भन्ने अनुसन्धानले खुलाउन सकेको छैन। गंगाजमुना गाउँपालिकाको वडा नम्बर १ मा पर्ने री गाउँमा तामाङ समुदायको बाहुल्य रहेको वडाध्यक्ष बहादुर तामाङ बताउँछन्।
यस्तो सीमान्तीकृत समुदायको नातेदारको समूहलाई नै वैदेशिक रोजगारीको लोभमा फसाएर गिरोहले घर न घाटको बनाइदिएको छ। दुःखजिलो गरेर पोखरामा जोडेको घडेरी कान्छीमायाले कानूनी रूपमा गुमाइसकेकी छिन्। किनभने ऋण लिंदा उनले धनीपुर्जा नै ऋणदाताका नाममा नामसारी गरिदिएकी छन्। “तिमीहरू गरीब रहेछौ, ऋण फिर्ता गर्यौ भने जग्गा नै फिर्ता दिन्छु त साहुले भनेका छन् तर त्यत्रो पैसा कहाँबाट ल्याएर तिर्नु र घडेरी उकास्नु,” कान्छीमाया रनभुल्ल छिन्।
वैदेशिक रोजगारीकै लागि एक वर्ष चार महीनाअघि कम्बोडिया पुगेका श्रीमान्को समेत राम्रो कमाइ नभएको कान्छीमाया बताउँछिन्। उनका श्रीमान् २०७९ कात्तिकमा आठ लाख रुपैयाँ खर्चेर कम्बोडिया पुगेका थिए। “त्यही ऋण पनि तिर्न सकिएको छैन,” उनी भन्छिन्। री गाउँमा पनि केही जग्गा रहे पनि ऋण नतिरे त्यो पनि जाने डर रहेको उनले सुनाइन्। “घरविहीन हुने भयौं, कतै जानुपर्दा पनि १००–५०० मागेर हिंडिरहेका छौं,” धनकुमारी र कान्छीमाया भन्छन्।
अदालत र अनुसन्धानका क्रममा पीडितहरूले सुवास गुरुङ भन्ने व्यक्ति राधाका पति सुमन महत भएको बताएका छन्। तर विभागले यो पाटोबारे अनुसन्धान नै गरेको छैन। अदालती मिसिल अनुसार महत दम्पतीको मोबाइलको डिजिटल फरेन्सिक ल्याब (डीएफएल) परीक्षण, कल डिटेल रेकर्ड (सीडीआर) समेत हेरिएको छैन। “संगठित तवरमा यो अपराध भएको घटनाक्रमबाट देखिन्छ,” विशेष सरकारी वकीलको कार्यालयका एक अधिकृत भन्छन्, “तर यति ठूलो ठगी कसले गरेको हो भन्ने खुल्दैन। ठगी गरेर जम्मा गरेको त्यत्रो रकम नै कसैले कहिल्यै नचिनेको मानिसलाई दियो भनेर कसरी पत्याउनु?”
अन्य घटना पनि यस्तै
री गाउँको तामाङ समुदायलाई ठगेकै शैलीमा पोखरामा अन्य दुई घटना पनि भएका छन्। आफूलाई जीवन गुरुङ भनी चिनाउने व्यक्तिसँग फेसबूक मार्फत हेटौंडाकी ममताकुमारी मण्डलको चिनजान हुन्छ। मण्डल विदेश जाने तयारी गर्न थापाथलीस्थित ग्यालेक्सी गर्ल्स होस्टलमा बस्छिन्। होस्टलमै खाना पकाउने शर्मिला रानामगर घलेले जीवन गुरुङको फेसबूक आइडी दिएर मण्डलसँग चिनजान गराइदिएको कागजातबाट खुल्छ। जीवनले जापानमा मासिक तीन लाख रुपैयाँ कमाइ हुने रोजगारी खुलेको भन्दै मण्डललाई भनेपछि उनी जापान जान तयार भइन्। रकम नेपालमै रहेकी उषा श्रेष्ठको खातामा हाल्न जीवनले अह्राए। मण्डलले २०७९ कात्तिक २ गतेदेखि १५ गतेको १३ दिनभित्र १७ लाख ३० हजार रुपैयाँ उषाको सिद्धार्थ ब्यांक खातामा जम्मा गरिदिइन्।
उषाले खाता उक्त रकम जम्मा हुनुभन्दा तीन दिनअघि मात्रै खोलेकी थिइन्। नयाँ खाता खोल्न जीवनले नै लगाएको उषाले अदालत र अनुसन्धान अधिकृतसमक्ष बताएकी छन्। तामाङ परिवारको रकम जम्मा गर्न पनि सुवास गुरुङले नयाँ खाता नै खोल्न लगाएका थिए।
रकम बुझाएपछि जीवन गुरुङ फेसबूकबाट हराएपछि ममताका बुबा सकलदेव मण्डलले २०७९ मंसीरमा वैदेशिक रोजगार विभागमा जाहेरी दिए। श्रेष्ठलाई तनहुँ प्रहरीले २०७९ फागुन १५ गते पक्राउ गरेर विभागमा बुझाएको थियो। विभागमा दिएको बयानमा उषाले जीवन गुरुङसँग फेसबूकमा चिनेको र पोखरामा घरजग्गा किन्न केही पैसा अपुग भएकाले आफूलाई खाता खोल्न लगाएको बताइन्। जीवनले अह्राए अनुसार नै उक्त रकम पोखराको याम्दी पुल नजिकै पुगेर विकास बास्तोलालाई नगद नै बुझाएको बताएकी छन्। तर बास्तोलाको ठाउँ–ठेगाना केही पनि थाहा नभएको उनले बताएकी छन्। तामाङ परिवारबाट जम्मा भएको रकम पनि राधा थापा महतले नगदै याम्दी पुलमै पुगेर अर्को व्यक्तिलाई दिएको बताएकी थिइन्।
रकम दिने व्यक्तिको विस्तृत विवरण थाहा नभएपछि अनुसन्धान यहीं टुंगियो र उषालाई प्रतिवादी बनाएर न्यायाधिकरणमा मुद्दा दायर भयो, २०७९ चैतमा। उषाले अदालतमा बयान दिंदा भने पोखरा पुगेपछि आफूलाई केही मानिसले अपहरण शैलीमा घेराउ गरेको बताएकी छन्। त्यही वेला जीवन गुरुङलाई फेसबूक मेसेन्जरमा फोन गर्दा तिनै व्यक्तिलाई रकम दिनू भनेपछि आफूले त्यसै गरेको बताइन्। अपहरण शैलीमा उक्त रकम लगेकोबारे भने श्रेष्ठले कतै उजुरी गरिनन्। न्यायाधिकरणले २०७९ चैत ६ गते उषासँग १० लाख रुपैयाँ धरौटी माग गर्यो। उनी रकम तिरेर थुनामुक्त भइन्।
थुनामुक्त भएपछि उषाले मण्डल पक्षलाई मिलापत्रका लागि राजी गराइन्। दुवै पक्ष मिलापत्र गर्न राजी भएपछि न्यायाधिकरणका अध्यक्ष गिरी, सदस्यद्वय बानियाँ र पुडासैनीको इजलासले गत माघ २० गते मिलापत्रको आदेश दियोे। उषाबाट मण्डल परिवारसँग लिएको १७ लाख ३० हजार र त्यसको ५० प्रतिशत हर्जाना सहित २५ लाख ९५ हजार रुपैयाँ बिगो भराउन माग गरिएको थियो। तर उषाले नौ लाख रुपैयाँ दिने भएपछि मण्डल परिवार मिलापत्र गर्न राजी भयो।
रुकुम मुसिकोटका हरिबहादुर कामीलाई गत मंसीरमा फेसबूक मार्फत चिनजान भएका रविन आलेमगर भन्ने व्यक्तिले ब्यांक खाता खोल्न लगाए। पोखरामा बस्ने हरिबहादुरले एनएमबी र माछापुच्छ्रे ब्यांकमा खाता खोले। त्यहाँ दैनिकजसो रकम जम्मा हुन थाल्यो। आफू विदेशमा भएको र गार्मेन्ट कारखानाको पैसा भन्दै रविनले आफूलाई भन्ने गरेको हरिबहादुरले न्यायाधिकरणमा दिएको बयानमा भनेका छन्। खाता प्रयोग गर्न दिए बापत रविनले आफूलाई मासिक ३५ हजार रुपैयाँ दिने आश्वासन दिएको उनले बताएका छन्। करीब १५ दिन ब्यांकिङ कारोबार गर्न लगाएपछि रविन फेसबूकबाट हराएको र एक पैसा नपाएको पनि उनले बताएका छन्।
रविन फेसबूकबाट अलप भएपछि हरिबहादुरका दुर्दिन सुरु भए। अशोककुमार गुरुङ, रोशन दाहाल सहित आठ जनाले हरिबहादुर विरुद्ध वैदेशिक रोजगार सम्बन्धी कसूरमा विभागमा जाहेरी दिए। त्यसपछि पक्राउ परेका हरिबहादुरले आफूले विदेश पठाउँछु भनेर कसैबाट रकम नलिएको बताए। यसका साथै आफ्नो खातामा जम्मा भएको रकममध्ये केही नगद नै र केही मोबाइल ब्यांकिङको माध्यमबाट रविनले भनेको मानिसलाई पठाइदिएको बताए। आफ्नो मोबाइल नम्बरबाट सम्पर्क गरेर २९ लाख ८३ हजार रुपैयाँ रविनले भनेको मानिसलाई नगद नै दिएको पनि हरिबहादुरले अनुसन्धानका क्रममा बताएका छन्। अभियोगपत्र पल्टाउँदा विभागले यो पाटोमा अनुसन्धान गरेको देखिंदैन। न हरिबहादुरको ब्यांकिङ कारोबार केलाएको छ न कल डिटेल रिपोर्ट (सीडीआर) नै।
जाहेरीकर्तामध्येका एक रोशन दाहालका अनुसार उनीहरूलाई महेश गौतम नाम गरेका फेक आईडीका फेसबूक प्रयोगकर्ताले स्लोभाकियाको कारखानामा काम खुलेको भन्दै रकम जम्मा गर्न लगाएका थिए। रकम जम्मा गर्न हरिबहादुरको खाता नम्बर दिएका थिए। “यी सबै घटना हेर्दा ठूलो संगठित गिरोह नै ठगीमा लागेको देखिन्छ तर यसको अनुसन्धान गम्भीर तवरमा भएको छैन,” विशेष सरकारी वकीलको कार्यालयका एक अधिकारी भन्छन्, “वैदेशिक रोजगारीमा ठगिने घटनाको अनुसन्धान राज्यको प्राथमिकतामा नपरेको महसूस गरें।”