माओवादी केन्द्रको नाम फेर्न प्रस्ताव
सत्तारूढ नेकपा (माओवादी केन्द्र)को विधान अधिवेशन काठमाडौंमा शुरू भएको छ।
कमलादीस्थित नेपाल प्रज्ञा-प्रतिष्ठानमा मंगलबार शुरु सम्मेलनमा माओवादी उपमहासचिव जनार्दन शर्माले पार्टीको नाम नेकपा समाजवादी राख्न प्रस्ताव गरेका हुन्।
शर्माको नौबुँदे पूरक प्रस्तावमा पार्टीको केन्द्रीय नीति योजना कार्यान्वयनको अलावा प्रदेश र स्थानीय तहका पार्टी कमिटीलाई राजकीय पदहरूको बाँडफाँड, निर्वाचन, सरकार निर्माण सम्बन्धी सबै अधिकार प्रयोग गर्ने व्यवस्था विधानमा राख्नुपर्ने उल्लेख छ।
तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहालले विधान मस्यौदा प्रस्तुत गरेका छन्। छलफलका लागि प्रतिनिधिहरूलाई २० समूहमा विभाजन गरिएको छ।
मस्यौदा तयार पार्न उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा महासचिव देवप्रसाद गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा, सचिव सुरेन्द्र कार्की र गणेश साह सदस्य सदस्य रहेको समिति गठन भएको थियो।
सम्मेलन उद्घाटन गर्दै अध्यक्ष दाहालले माओवादी नेता र पार्टी हेपाइमा परेको बताए। आफूहरूलाई अपमानित गर्नेको एकजुट भएर जबर्जस्त प्रतिवाद गर्नुपर्ने उनको भनाइ छ।