शैक्षिक संस्थामा विस्फोटको योजना बनाउने माओवादीका दुई कार्यकर्ता पक्राउ
भूमिगत नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का दुई जना कार्यकर्ता पक्राउ परेका छन्।
सोमबार मोरङ प्रहरीले इलाम, माम्सेबुङ गाउँपालिका-१, गजुरमुखीका ३८ वर्षीय प्रवीण मिश्र र पाँचथर, याङवरक गाउँपालिका-१ का ३० वर्षीय विपिन अधिकारीलाई पक्राउ गरेको हो।
उनीहरूले पार्टी महासचिव महावीरले हस्ताक्षर गरेको चन्दा माग गरिएको पत्र शैक्षिक संस्थाहरूमा दिने गरेका थिए। प्रहरीका अनुसार चन्दा नदिने शैक्षिक संस्थामा विस्फोट गराउने उनीहरूको योजना थियो।
जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलले सो समूहले पार्टीको महाधिवेशनका नाममा चन्दा उठाउँदै आएको बताए। “सुनसरीका शैक्षिक संस्थामा रकम उठाएर मोरङ आएको पाइएको छ, विस्फोट गराएर आतंकित बनाउने योजना विफल पारिएको छ,” पोखरेलले भने।
उनीहरूले प्रेसर कुकरमा तार र डेटोनेटर जडान गरेर राखेको पनि फेला परेको थियो। नेपाली सेनाको बम डिस्पोजल टोलीले मंगलबार उक्त पाँच लिटरको कुकर बम निष्क्रिय पारेको छ। उक्त वस्तुको अवशेष परीक्षणका लागि प्रयोगशाला पठाइने पोखरेलले बताए।
पक्राउ परेका मिश्रले विप्लव र वैद्य समूहमा रहेर पनि काम गरिसकेको प्रहरीले बताएको छ। काठमाडौंस्थित भीमसेनगोलामा भाडामा बस्दै आएका उनी तत्कालीन माओवादीको विद्रोही सेनामा पनि थिए। उनले केही वर्ष झापामा सक्रिय राजनीति पनि गरेका थिए।
दुवै जनासँग प्रेस प्रतिनिधि परिचयपत्र पनि भेटिएको छ। काठमाडौं-४, धुम्बाराही ठेगाना भएको मुक्तिनाथ प्रकाशन गृहले उक्त परिचयपत्र जारी गरेको देखिएको छ।
फागुन ५ देखि ९ गतेसम्म चल्ने नवौं महाधिवेशनको तयारीका लागि भनेर उनीहरूले कोशी प्रदेशका निजी लगानीमा स्थापित ठूला शैक्षिक संस्थामा चन्दा माग्दै आएका थिए। चन्दा माग गरिएको पत्रमा ‘जनयुद्धको बाँकी कार्यभार पूरा गर्दै सर्वहारा वर्गको राज्यसत्ता स्थापना गर्न नेपालमा वर्ग संघर्ष’ गर्ने उल्लेख छ।