‘जनयुद्ध दिवस’ मनाउन गाउँपालिकाले बिदा दियो, वडाले मानेन
माओवादी सशस्त्र विद्रोह शुरू भएको दिनलाई ‘जनयुद्ध दिवस’ का रूपमा मनाउन खोटाङको खोटेहाङ गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरे पनि यही गाउँपालिकाका दुई वटा वडा कार्यालयले भने सेवा प्रवाह जारी रहने बताएका छन्।
गाउँपालिका अध्यक्ष उदिमबहादुर राईले सोमबार सार्वजनिक बिदा सम्बन्धी सूचना जारी गर्दै ‘जनयुद्ध दिवस’ का दिन गाउँ कार्यपालिकाको कार्यालय, गाउँपालिका अन्तर्गतका विद्यालय, स्वास्थ्य संस्था लगायत सरकारी तथा गैरसरकारी कार्यालय, संघसंस्था लगायतमा सार्वजनिक बिदा गरिएको जानकारी दिएका थिए। तर गाउँपालिकाको ७ नम्बर वडा कार्यालयका अध्यक्ष शिवप्रसाद फुयाँल र ४ नम्बर वडा कार्यालयका अध्यक्ष तिलकबहादुर बस्नेतले तत्कालै अर्को सूचना जारी गरेर सेवा प्रवाह चालू रहने सूचना जारी गरेका थिए। यस्तै, वडाभित्रका सरकारी तथा गैरसरकारी संघसंस्थालाई कार्यालय सञ्चालन गर्न भनेका छन्।
सर्वोच्च अदालतको फैसला र मन्त्रिपरिषद्को माघ २५ गतेको बैठकको निर्णय तथा गृह मन्त्रालयको माघ २९ को पत्र अनुसार ‘जनयुद्ध दिवस’ मा सार्वजनिक बिदा नरहेको वडा कार्यालयको सूचनामा उल्लेख छ।
सार्वजनिक बिदा दिने/नदिने विषयमा दलीय आधारमा गाउँपालिका र दुई वडा कार्यालयको मत बाझिएको हो। गाउँपालिका अध्यक्ष राई नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित भएका हुन् भने वडाध्यक्ष फुयाँल र बस्नेत नेकपा (एमाले)बाट निर्वाचित जनप्रतिनिधि हुन्।