आईएमएफ भ्रमण टोलीको निष्कर्ष : नेपालको ऊर्जा पूर्वाधार क्षेत्रमा लगानीमैत्री वातावरण छ
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को भ्रमण टोलीले नेपालको अर्थतन्त्रमा विविध चुनौतीका बावजूद ऊर्जाको पूर्वाधार क्षेत्रमा लगानीमैत्री वातावरण रहेको जनाएको छ।
टोलीले नेपालको समग्र अर्थतन्त्रको विकास र स्थितिबारे छलफल गरी भ्रमणको समापनका अवसरमा आफ्ना निष्कर्ष सार्वजनिक गरेको हो। आईएमएफको एशियाप्रशान्त विभागका उपप्रमुख तथा नेपालका लागि आईएमएफका मिसन प्रमुख टिडाइन किन्डाको नेतृत्वमा आएको भ्रमण टोलीले नेपालको विप्रेषण आय र पर्यटक बढ्दो भए पनि निर्यात वृद्धि नहुनु र मुद्रास्फीति बढ्नुले चुनौती देखिएको निचोड निकालेको छ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा किन्डाले विदेशमा बसाइँसराइ रोकिनुपर्ने र राजस्व परिचालनका दायरा बढाउनुपर्नेमा पनि जोड दिए। यसका साथै आसन्न लगानी सम्मेलनमा विद्यमान चुनौतीका सम्भावनालाई पहिल्याएको पनि उनको भनाइ थियो।
टोलीले अर्थमन्त्री प्रकाशशरण महत, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ, नेपाल राष्ट्र ब्यांकका गभर्नर महाप्रसाद अधिकारी लगायतसँग छलफल गरेको थियो। छलफलमा कोषका एशियाप्रशान्त क्षेत्रका उपनिर्देशक गुल्डे वल्फ लगायत सहभागी थिए। -रासस