गण्डकीमा फेरि देखियो ‘अफ्रिकन स्वाइन फिभर’ को संक्रमण
गण्डकी प्रदेशमा फेरि ‘अफ्रिकन स्वाइन फिभर’ को संक्रमण देखिएको छ।
सुँगुर, बंगुर तथा बँदेलमा लाग्ने यो रोग सर्भिलेन्सको निरन्तरताका क्रममा कास्की, तनहुँ, लमजुङ र गोरखामा संक्रमण पुष्टि भएको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय गण्डकीले जनाएको छ। संक्रमण फैलिंदै जाँदा ठूला तथा साना बंगुर फार्ममा जैविक सुरक्षाका विधि अवलम्बन गर्न किसानलाई आग्रह गरिएको छ।
त्यसैगरी विभिन्न सचेतनाका कार्यक्रम र पशुजन्य ओसारपसारमा निगरानी बढाइएको छ। निर्देशनालयका महानिर्देशक डा. प्रेरणा सेढाईं भट्टराईका अनुसार पछिल्लो संक्रमणबाट कास्कीमा ५५, तनहुँमा ३०, लमजुङमा १४ र गोखरामा १३ गरी ११२ बंगुर मरेका छन्।
“अफ्रिकन स्वाइन फिभर अत्यन्त संक्रामक तथा उच्च मृत्युदर भएको रोग हो। हालसम्म रोग विरुद्ध भ्याक्सिन उपलब्ध छैन,” महानिर्देशक भट्टराईले भनिन्, “जैविक सुरक्षा एक मात्र विकल्प हो, त्यसैले सचेतनामा केन्द्रित छौं।”
गण्डकी प्रदेशमा गत वर्षको साउन २९ मा पहिलो पटक संक्रमण ‘आउटब्रेक’ भएको थियो। यस रोगका कारण प्रदेशमा हालसम्म १६ हजार ५५४ वटा बंगुर मरेको निर्देशनालयको तथ्यांक छ। कास्कीमा मात्र १५ हजार ३८८ वटा बंगुर मरेका छन्।
निर्देशनालयका वरिष्ठ पशु विकास अधिकृत डा. बालकुमार श्रेष्ठले रोगका कारण किसानले ५० करोड रुपैयाँ हाराहारीमा क्षति बेर्होनुपरेको बताए। “किसानले हामीलाई जानकारी गराए अनुसारको क्षतिको विवरण हो, यसभन्दा बढी पनि क्षति पुगेको हुन सक्छ,” श्रेष्ठले भने।
निर्देशनालयले रोग पुष्टि भएका क्षेत्रमा स्थलगत अध्ययन, थप सर्भिलेन्सका कार्य, फार्मको निःसंक्रमण तथा विभिन्न माध्यमबाट रोग सम्बन्धी जनचेतनामूलक सामग्री प्रचारप्रसारको कार्य भइरहेको जनाएको छ।
बंगुरमा लाग्ने अफ्रिकन स्वाइन फिभर रोग रोगी सुँगुर, बंगुर, बँदेल, जंगली बँदेलसँगको सम्पर्कबाट, किर्नाको टोकाइ, मासु वा रोगी पशुको सम्पर्कमा आएका सामग्रीको लसपस वा ओसारपसारबाट र होटल तथा भोजभतेरबाट ल्याइएका जुठो खानाका कारण सर्ने र फैलिन सक्ने बताइन्छ।
पशु स्वास्थ्य अधिकृत सुरेश श्रेष्ठले रोगको संक्रमण हुँदा पशुमा उच्च ज्वरो आउने, शरीरमा नीलो धब्बा देखिने, छेर्ने, बान्ता गर्ने, झुम्मिएर एकै ठाउँमा बस्ने, तुहिने जस्ता लक्षण देखापर्ने बताए। -रासस