बजेट कार्यान्वयनमा सरकार असफल, मध्यावधि समीक्षा मार्फत आम्दानी र खर्चको लक्ष्य संशोधन
ठूलो आकारको बजेट ल्याएर बीचैमा संशोधन गरी घटाउने प्रवृत्तिले यस वर्ष पनि निरन्तरता पाएको छ।
अर्थ मन्त्रालयले चालू आर्थिक वर्षको बजेटको मध्यावधि समीक्षा मार्फत बजेटमा विनियोजित रकमलाई करीब १३ प्रतिशतले घटाएको हो। आर्थिक वर्ष २०८०/८१ मा १७ खर्ब ५१ अर्ब रुपैयाँ खर्च गर्ने योजना सहित गत जेठमा सरकारले बजेट सार्वजनिक गरेको थियो।
तर आधा अवधि पुससम्म विकासका गतिविधि सुस्त भएको हेरेर बजेटको आकार दुई खर्ब २१ अर्ब रुपैयाँ घटाइएको हो। अब यस आर्थिक वर्षमा १५ खर्ब ३० अर्ब रुपैयाँ मात्रै खर्च हुने अनुमान गरिएको छ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार यस वर्षको सात महीना सकिंदा कुल बजेटको ३९ प्रतिशत मात्रै खर्च भएको छ। त्यसमध्ये पनि विकासलक्षित पूँजीगत खर्च वार्षिक लक्ष्यको २१ प्रतिशत मात्रै भएको छ।
राष्ट्रिय गौरव भनिएका ठूला पूर्वाधार आयोजनाकै निर्माण गति सुस्त छ। यस वर्ष राष्ट्रिय गौरवका आयोजनाका लागि ६५ अर्ब ६४ करोड रुपैयाँ छुट्याइएकोमा आधा अवधि बित्दा पुस मसान्तसम्म १५ अर्ब ५० करोड रुपैयाँ मात्रै खर्च भएको छ। यो कुल छुट्याइएको रकमको करीब एकचौथाइ मात्रै हो। यसले देशमा विकास निर्माणको गति सुस्त रहेको देखाउँछ।
अर्थ मन्त्रालयले सबैभन्दा धेरै पूँजीगत खर्च घटाएको छ। यस वर्षको बजेटले विकासका काम गर्न तीन खर्ब दुई अर्ब रुपैयाँ छुट्याएको थियो। तर अपेक्षा अनुसार खर्च नभएपछि मध्यावधि समीक्षा मार्फत संशोधन गर्दै दुई खर्ब ५४ अर्ब रुपैयाँ मात्रै खर्च हुने नयाँ लक्ष्य राखिएको छ। शुरूको अनुमानबाट पूँजीगत खर्च करीब ४६ अर्ब रुपैयाँ घटाइएको छ।
खर्चको अनुमान मात्रै होइन सरकारको आम्दानी पनि लक्ष्य अनुसार नहुने पक्का भएको छ। अर्थ मन्त्रालयले यस वर्ष राजस्व आम्दानी शुरूको अनुमानका तुलनामा १५ प्रतिशतभन्दा बढीले घट्ने आकलन गरेको छ। यस वर्ष १४ खर्ब २२ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखिएकोमा मध्यावधि समीक्षा मार्फत संशोधन गरी १२ खर्ब दुई अर्ब रुपैयाँ मात्रै राजस्व उठ्ने नयाँ लक्ष्य निर्धारण गरिएको छ।
साउनदेखि पुससम्म राजस्व संकलन लक्ष्य अनुसार भएको छैन। यस अवधिमा ६ खर्ब ६८ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखिएकोमा जम्मा पाँच खर्ब १५ अर्ब रुपैयाँ मात्रै राजस्व उठेको छ। यो लक्ष्यका तुलनामा करीब २३ प्रतिशत थोरै हो। यद्यपि गत वर्षको यही अवधिका तुलनामा भने राजस्व संकलन ६.५ प्रतिशतले बढेको छ।