भारतबाट ल्याएको एक करोड ८२ लाख बराबरको नेपाली नक्कली नोट बरामद
भारतबाट ल्याउँदै गरेको एक करोड ८२ लाख बराबरको नेपाली नक्कली नोट सहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
भारतको बिहारस्थित वीरपपुर-५ का २२ वर्षीय छोटु भनिने मोहमद सैयाद साफीलाई प्रहरीले पक्राउ गरेको छ। भारतीय गाडीमा बोराभित्र झोलामा लुकाएर ल्याएको एक करोड ८२ लाख ५१ हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय, सुनसरीका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीले बताए।
इनरुवा नगरपालिका-४ स्थित खोलाको पुल नजीकबाट नक्कली नोट सहित साफीलाई नियन्त्रणमा लिइएको एसपी रेग्मीले बताए। सवारीसाधन जाँचमा खटिएको ट्राफिक प्रहरीको टोलीले बीआर ११ एक्स ३४२९ नम्बरको स्कोर्पियो रोकिएको देखेपछि शंका लागेर जाँच गरेको थियो।
त्यस क्रममा गाडीभित्र लुकाएर राखिएको नक्कली नोट भेटिएको रेग्मीले बताए। बरामद गरिएको नेपाली नक्कली नोटमा एक हजारका १८ हजार २५१ थान छन्।
बरामद गरिएका नक्कली नोट भारतबाटै ल्याइएको पाइएको एसपी रेग्मीको भनाइ छ। गाडी पनि भारतबाट आएको हो।
नक्कली नोट ल्याउने व्यक्ति फरार छन्। पक्राउ परेका साफी गाडी चालक हुन्।