अनिल र भीमको शतकमा नेपालको ‘ह्वाइटवास’
अनिल साह र भीम सार्कीले शतक प्रहार गरेपछि नेपालले क्यानडासँगको एकदिवसीय शृंखला ‘ह्वाइटवास’ गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको तेस्रो एकदिवसीय खेल नेपालले नौ विकेटले जितेको हो। क्यानडाले दिएको २३३ रनको लक्ष्य नेपालले ४४.३ ओभरमा एक विकेट गुमाएर सजिलै पूरा गरेको हो।
नेपालका लागि अनिल साह र भीम सार्कीले शतक प्रहार गरे। साहले १२४ बलमा ११२ रन बनाए। उनले १२ चौका र दुई छक्का प्रहार गरे।
त्यस्तै, सार्कीले १२९ बलमा १०१ रन बनाए। उनले ११ चौका र एक छक्का प्रहार गरे। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यो उनको पहिलो शतक हो।
क्यानडाका लागि डिल्लोन हेलिगरले एक विकेट लिए। अन्य बलरले राम्रो प्रदर्शन गर्न सकेनन्।
यसअघि ब्याटिङ गरेको क्यानडाले आठ विकेटको क्षतिमा २३२ रन बनाएको थियो। क्यानडाका लागि नवनीत धालिवालले अर्धशतक प्रहार गरे। उनले ८२ बलमा पाँच चौकाको मद्दतले ५० रन बनाए।
त्यस्तै, निखिल दत्तले ४५, साद विन जाफरले ३१, हर्ष ठाकरले २९, श्रेयस मोव्वाले २५ र श्रीमन्त विजयरत्नेले २२ रन बनाए।
नेपालका लागि हेमन्त धामीले तीन, कुशल मल्लले दुई, ललित राजवंशी र आकाश चन्दले एक-एक विकेट लिए।
नेपालले क्यानडासँगको एकदिवसीय शृंखलाका तीनै खेल जितेको छ। पहिलो खेल सात रनले जितेको थियो भने दोस्रो खेलमा क्यानडालाई चार विकेटले पराजित गरेको थियो।