पोखरेली क्लबले जगाएको फूटबल ‘क्रेज’
बसपार्कको खुला चौरमा खेल्दै, सिक्दै शुरू भएको पोखरेली क्लबले देशभरि नै फूटबलको ‘क्रेज’ बढाएको छ।
पोखराको पुरानो बसपार्क। पृथ्वीचोकैमा अवस्थित बसपार्कमा चौबीसै घण्टा यात्रु र गाडीको आउजाउ भइरहन्छ। आन्तरिक तथा बाह्य यात्रुको चहलपहलले रात-साँझ माहोल एकनासै देखिन्छ।
तीन दशकअघि भने अलि फरक थियो। बसपार्क वरपरका युवा भेला हुन्थे। तिहारमा देउसीभैलो खेल्थे। उठेको पैसाले सामाजिक काम गर्थे, बसपार्क र वरिपरिको क्षेत्रमा। उनीहरूले २०५२ सालतिर आफूहरूलाई ‘सहारा ग्रूप’ भनेर नाम दिएका थिए।
२०५५ सालमा आएर अर्को चहलपहल थपियो। बिहान-साँझ खुला चौरमा भेला हुने गरेका युवा फूटबल सिक्थे, खेल्थे। पोखरामा पर्यटक आगमनको क्रमसँगै खेलकूदका गतिविधि पनि बढ्न थालेका थिए।
त्यही वेला पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समिति, पोखराले कास्की जिल्लास्तरीय अन्तरक्लब रारा कप फूटबल प्रतियोगिता आयोजना गर्यो। यो प्रतियोगिता पोखरा रंगशालामा हुने भयो।
बसपार्कको चौरमा फूटबल खेल्ने युवाले पनि प्रतियोगितामा सहभागी हुने सोच बनाए। तर खुला चौरमा एकअर्कासँग फूटबल सिकिरहेका उनीहरूलाई प्रशिक्षकको आवश्यकता पर्यो।
सबै युवा मिलेर पूर्व बेलायती आर्मी रामचन्द्र गुरुङकहाँ गए। प्रशिक्षक भइदिन अनुरोध गरे। गुरुङ फूटबल खेल्थे र भर्खर अवकाश पाएर स्वदेश फर्किएका थिए। अन्ततः तिनै युवा सहित विक्रम थकालीको कप्तानीमा सहारा युवा क्लब गठन भयो र गुरुङले प्रशिक्षकको भूमिका स्वीकार गरे।
जिल्लास्तरीय प्रतियोगिता नजिते पनि युुवा टोलीले गरेको उत्कृष्ट प्रदर्शनले अभिभावकलाई पनि खुशी बनायो। बसपार्क र वरपरका स्थानीय बासिन्दा रंगशाला पुगेर आफ्ना सन्तान र क्लबलाई प्रोत्साहन गरेको कप्तान विक्रम थकाली सम्झिन्छन्।
त्यति वेला फूटबल खेलेका हरिराम (सुरज) गुरुङले अझै पनि त्यो प्रतियोगिताको प्रदर्शन बिर्सेका छैनन्। पोखरा रंगशालामा राम्रो प्रदर्शन गरेको सुनाउँदै गुरुङ भन्छन्, “प्रतियोगिता निकै सफल भयो, हाम्रो समूह क्वार्टरफाइनलसम्म पुगेको थियो।”
अर्कातिर, त्यति वेला पोखराको पृथ्वीचोक बसपार्क क्षेत्र अव्यवस्थित थियो। खुला शौच, हिउँदमा धूलो, बर्खामा हिलो हुन्थ्यो। युवा लागूऔषधको लतमा फस्दै गएका थिए। सामाजिक विकृति बढ्दै गएका थिए।
बसपार्कको यस्तो हालत देखेपछि ‘केही गर्नुपर्छ’ भन्ने अठोट बनाए। फूटबल खेल्ने, बसपार्क क्षेत्र सुधार्ने र सामाजिक विकृतिलाई हटाउने संकल्प लिए।
त्यसका लागि बसपार्कमा रहेको सहारा बाल आधारभूत (त्यति वेला प्राथमिक) विद्यालयको आँगनमा भेला भएका युवाले विधिवत् रूपमा २०५५ भदौ ३० मा सहारा क्लब पोखरा स्थापना गरे। यसअघि नै सहारा युवा क्लब भनेर खेलिसकेकाले ‘सहारा क्लब’ भनेर नाम जुराए।
यसरी सहारा विद्यालयको आँगनमा भेला भएर गठन गरिएको क्लबले पछि गएर नेपालमा फूटबलको ‘ब्रान्ड’ नै स्थापित गर्ला भन्ने उनीहरूले सोचेका थिएनन्। क्लबको पहिलो कार्यसमितिका पदाधिकारी तथा सदस्य अहिले विगत सम्झिँदा चकित हुन्छन्। त्यो अवस्थाबाट शुरू भएको फूटबल यात्राले अहिलेको छवि बनाउँदा आत्मसन्तुष्ट पनि छन्।
वसन्त थकालीले पहिलो कार्यसमितिको नेतृत्व गरेका थिए। “सामाजिक काम गर्ने भनेर स्थापना गरेका थियौं, हामीलाई विश्वास गर्ने वातावरण बनिसकेको थिएन। चौरमा बैठक बस्थ्यौं,” विगत सम्झिँदै थकाली भन्छन्, “हामीले गरेका कामले बिस्तारै पत्याउन पनि थालियो, शुभचिन्तक पनि बढे। तर यति लामो यात्रा तय गर्छौं भन्ने सोचेका थिएनौं।”
त्यही वर्ष युवाले तिहारमा देउसीभैलो खेले। संकलित रकमले बसपार्कको मुहार फेर्ने योजना बनाए। सरसफाइ गरे, जीर्ण रहेको टिकट काउन्टर व्यवस्थित बनाइदिए। बसपार्कमा सार्वजनिक शौचालय नै निर्माण गरिदिए।
पोखरा बसपार्कको दुरवस्था देखेर जन्मिएको सहारा क्लबले बिस्तारै दायरा बढाउदै लग्यो। पृथ्वीचोकमा नै कार्यालय भवन निर्माण गर्यो। बर्सेनि आयोजना हुने आहा रारा पोखरा गोल्डकपको निरन्तरतासँगै विविध सामाजिक क्रियाकलाप पनि गरिरहेको छ। सहारा क्लबको २५ वर्षको इतिहासमा विदेशमा समेत शाखा स्थापना भएका छन्। अहिले सहारा क्लब बेलायत, हङकङ र अस्ट्रेलिया शाखा समेत सञ्चालित छन्।
मुख्य प्रायोजक
स्थापनाका दुई वर्षसम्म सहारा क्लब पोखराले बसपार्क व्यवस्थापनमै आफ्ना गतिविधि जारी राख्यो। २०५७ सालमा जिल्लास्तरीय क्लबबीच फूटबल प्रतियोगिता सहारा कपको आयोजना गर्यो। “युवालाई कुलतबाट बचाउन पनि फूटबल खेलाउनुपर्छ भन्ने बुझिसकेका थियौं,” संस्थापक अध्यक्ष थकाली भन्छन्, “फूटबल खेल्न, खेलाउन र सामाजिक कामका लागि जन्मिएका थियौं।”
जिल्लास्तरीय प्रतियोगिता भव्य रूपमा सम्पन्न भयो। यसबाट हौसिंदै क्लबले अर्को वर्ष पनि प्रतियोगिताको आयोजना गर्ने योजना बनायो। २०५८ सालमा भने राष्ट्रिय स्तरको ‘ए’ डिभिजन क्लब र विदेशी क्लबलाई पनि सहभागी गराउने तयारी भयो। तर त्यति वेला देश सशस्त्र द्वन्द्वको चपेटामा थियो। प्रायोजक नभेटिंदा प्रतियोगिता सञ्चालन गर्न सम्भव देखिएको थिएन।
त्यति वेला डिस्ट्रिलरी प्रालिको उत्पादन क्याराभानले फूटबल प्रायोजन गर्ने सहमति जनायो। त्यसबाट हौसिएको क्लबले ‘क्याराभान गोल्डकप’ फूटबल प्रतियोगिता नाम राखेर खेलायो।
राष्ट्रिय स्तरकोे ‘ए’ डिभिजन क्लबको भिडन्त पोखरा रंगशालामा हुने भएपछि प्रतियोगिताले चर्चा पनि पायो। दर्शकका लागि प्रवेश शुल्क २० रुपैयाँ तोकिएको थियो। दर्शकले रंगशाला खचाखच भयो। प्रतियोगिताको पहिलो उपाधि चाहिं नेपाल पुलिस क्लबले जित्यो।
पहिलो पटकमै दर्शकको भीड र कमाएको चर्चाले २०५९ सालमा हिमश्री फुड्स प्रालिले १० वर्ष प्रायोजनका लागि सम्झौता गरेको थियो। हालसम्म पनि हिमश्री फुड्सले प्रतियोगिताको मुख्य प्रायोजन गरिरहेको छ। हिमश्रीले पहिलो पटक २०५९-२०६९ सालसम्म आहा गोल्डकप र दोस्रो पटक २०६९-२०७८ सालसम्म आहा रारा गोल्डकप नामले प्रायोजन गरेको थियो। तेस्रो पटक २०७९-२०८८ सालसम्मका लागि आहा रारा पोखरा गोल्डकपको नामबाट १० वर्षे सम्झौता गरेको छ।
प्रतियोगिताको प्रायोजकसँगै दर्शकबाट उठेको रकम सहारा क्लबको मुख्य आयस्रोत नै बनेको छ। जसलाई क्लबले पोखरामा विविध सामाजिक क्रियाकलापमा लगाउँदै आएको छ।
क्याराभान गोल्डकपबाट शुरू भएको यात्रा २३औं संस्करणमा पुगेको छ। अहिलेसम्म नेपाल पुलिस क्लब र मनाङ मर्स्याङ्दी क्लबले ६-६ पटक, थ्री स्टारले पाँच पटक, संकटा क्लबले दुई पटक, अफ्रिकन युनाइटेड, सहारा क्लब र एपीएफले एक-एक पटक उपाधि जितिसकेका छन्। यस वर्षको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ।
यो २३ वर्षको यात्रामा सशस्त्र द्वन्द्व, बन्द, हडताल, जनआन्दोलन, भूकम्प, कोभिड-१९ महामारीबीच पनि प्रतियोगिताको सञ्चालन निरन्तर गरिरहेको सहारा क्लबका पूर्व अध्यक्ष थकाली बताउँछन्। सामाजिक सेवा र फूटबलको माध्यमबाट सहारा क्लबलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा स्थापित गराउन सफल भएको उनी सुनाउँछन्। “दर्शकको माया र विश्वासले आहा रारा पोखरा गोल्डकप खेलकूद जगत्मा एक ब्रान्ड बनेको छ,” थकाली भन्छन्।
फूटबल हेर्न पोखरा रंगशालामा खचाखच हुने दर्शकको भीड केही वर्षयता भने घटेको छ। यस वर्ष पनि फाइनल बाहेक अन्य खेलमा अपेक्षित दर्शक नआएको सहारा क्लबका अध्यक्ष केशवराज बराल सुनाउँछन्।
अहिले आहा रारा पोखरा गोल्डकपमा मात्र नभएर देशैभरका अन्य प्रतियोगितामा पनि दर्शकको संख्या घटेको बरालको भनाइ छ। “दर्शकलाई मैदानसम्म ल्याउन अन्तर्राष्ट्रिय स्तरका क्लबलाई खेल्न ल्याउनुपर्छ, त्यसका लागि एन्फाले सहयोग गर्नुपर्छ,” बराल भन्छन्।
फूटबल एकेडेमी
फूटबल प्रतियोगिताको आयोजना र सहभागितासँगै नयाँ प्रतिभालाई प्रोत्साहन गर्न सहारा क्लबले २०५८ सालमा सहारा फूटबल एकेडेमी सञ्चालन गर्यो। शुरूआतमा १४-१६ वर्षसम्मका २० जना बालकलाई छनोट गरेर प्रशिक्षण शुरू गरेको थियो।
पहिलो ब्याचमा अनिल गुरुङ पनि थिए, जो पछि राष्ट्रिय टोलीको कप्तान समेत बने। पूर्व अध्यक्ष थकाली अनिल एकेडेमीको उत्पादन भएको सुनाउँदा गर्व महसूस गर्छन्। “हामीले युवालाई प्रोत्साहन गर्न एकेडेमी शुरू गर्यौं, अनिल गुरुङ पनि पहिलो ब्याचका उत्पादन थिए,” उनी भन्छन्।
दोस्रो ब्याचका लागि भने प्रावधान परिवर्तन भयो। अभिभावक नभएका, विपन्न, कुलत र दुर्व्यसनमा फस्न सक्ने जोखिम भएका बालकलाई संरक्षण गर्न, अवसर प्रदान गर्न आवासीय रूपमा नै एकेडेमीमा भर्ना खोलियो। २०६१ सालमा देशभरका विभिन्न जिल्लाका बालकलाई सहारा क्लबले आफ्नै भवनमा राखेर प्रशिक्षण दिएको थियो।
भवन साँघुरो हुन थालेपछि एकेडेमीका लागि जग्गा खरीद र भवन निर्माणका लागि सहयोगको अपील गर्यो। विदेशमा रहेका शाखाको सहयोग र स्थानीय स्तरबाट सहयोग प्राप्त भयो। २०६३ सालमा पोखरा-१७ स्थित दोबिल्लामा २६ रोपनी जग्गा खरीद गरिएको पूर्व अध्यक्ष थकाली बताउँछन्।
जग्गा खरीदसँगै भवन निर्माणको काम तीव्र रूपमा अघि बढ्यो। २०६९ सालमा सहारा फूटबल एकेडेमीको भवन तयार भयो। हालसम्म ६८ बालकले एकेडेमीबाट प्रशिक्षण लिएका छन्।
सहारा क्लबले आहा रारा पोखरा गोल्डकपबाट हुने बचत रकम, देउसीभैलो कार्यक्रमबाट संकलन हुने रकम, विभिन्न संघसंस्था तथा व्यक्तिबाट प्राप्त हुने सहयोग, अक्षयकोषको ब्याजबाट प्राप्त हुने रकमबाट एकेडेमीको खर्च चलाइरहेको छ।
२०७९ सालमा समाजसेवी तथा उद्योगपति सूर्यबहादुर केसीको परिवारले उनको स्मृतिमा स्थापित सूर्यबहादुर केसी स्मृति प्रतिष्ठानबाट एकेडेमीलाई १० वर्षका लागि वार्षिक १५ लाख सहयोग गर्ने सम्झौता गरेको छ। क्लबले उनको सम्मानमा एकेडेमीलाई सूर्यबहादुर केसी स्मृति सहारा फूटबल एकेडेमी नामकरण गरेको छ।
नजर अन्तर्राष्ट्रिय क्लबतिर
यसै वर्ष सहारा क्लबले रजत महोत्सव मनाएको छ। संस्थापक अध्यक्ष थकाली क्लबका उतारचढाव सम्झिँदै अहिलेसम्म भएगरेका सामाजिक क्रियाकलाप र फूटबल गतिविधिमा गर्व गर्छन्। आहा रारा पोखरा गोल्डकपको स्तर अझै बढाउनुपर्नेमा उनको जोड छ।
उनी अब सहारा क्लबको ध्यान अन्तर्राष्ट्रियतिर लागेको बताउँछन्। “सरकारले सहयोग मात्रै गर्ने हो भने पनि अन्तर्राष्ट्रिय क्लबलाई प्रतियोगितामा झिकाउन सकिन्छ,” संस्थापक अध्यक्ष थकाली भन्छन्।
अन्तर्राष्ट्रिय खेलाडी बोलाउँदा ठूलो लगानी आवश्यकता हुने भएकाले सरकार र एन्फाको सहयोग आवश्यक रहेको उनी सुनाउँछन्। “विदेशी क्लब ल्याउन सकियो भने अहिले दर्शक घटेको पोखरा रंगशालालाई भरिभराउ बनाउन सकिन्छ,” उनी भन्छन्।
आहा रारा पोखरा गोल्डकपका लागि अन्य देशका शहरसँग पनि सहकार्य गर्ने योजना रहेको अध्यक्ष बराल सुनाउँछन्। त्यसका लागि पहिलो चरणमा पोखरा महानगरको भगिनी सम्बन्ध भएका शहरलाई ध्यानमा राखिएको उनी बताउँछन्।
अध्यक्ष बराल भन्छन्, “गोल्डकपका लागि सहकार्य गर्न पोखरा महानगरपालिकाले भगिनी सम्बन्ध गाँसेका शहरसँग छलफल गरिरहेका छौं।” यसले आहा रारा पोखरा गोल्डकपलाई थप उचाइ प्रदान गर्ने विश्वास गरिएको छ।