चिनियाँ बजारमा नेपाली रुद्राक्षको माग बढ्याे
–पदमबहादुर अधिकारी
चिनियाँ बजारमा नेपाली रुद्राक्षको माग बढेपछि त्यहाँका व्यापारी किसानको बोटसम्मै पुगेर रुद्राक्ष खरीद गर्न थालेका छन् । चिनियाँ बजारमा यसको माग बढेपछि व्यापारी संखुवासभा र भोजपुरका गाउँगाउँमा रुद्राक्ष खरीद गर्न पुग्ने गरेका हुन् ।
कतिपय बगानमा चिनियाँ व्यापारीे रुद्राक्षको स्वरूप परिवर्तन गरेर आकर्षित पार्न प्लास्टिकका क्लिप समेत लगाएका छन् । तीन वर्ष अघिसम्म थोरै माग हुने भएकाले चिनियाँ व्यापारी काठमाडौंसम्म मात्र आउने गर्थे । तर, दुई वर्षदेखि ठूलो संख्यामा चिनियाँ व्यापारी गाउँगाउँमा पुगेको स्थानीयवासी बताउँछन् ।
चीनमा सजावट र शृंगारिक गहनाका रूपमा रुद्राक्ष प्रयोग गर्ने गरिएको छ । व्यापारीले किसानको बोटबाट नै मोलमोलाई गर्ने गरेका छन् । पूर्वी पहाडी जिल्ला मध्ये संखुवासभामा रुद्राक्ष अत्यधिक उत्पादन हुने गर्छ ।
त्यसपछि भोजपुर, धनकुटा, तेह्रथुम, ताप्लेजुङ, इलामसँगै सुनसरीको पहाडी क्षेत्रमा पनि रुद्राक्षको व्यावसायिक खेती हुने गर्छ । संखुवासभा र भोजपुरको राम्रो नगदेबालीका रुपमा रुद्राक्ष रहेको छ । ठाउँअनुसार हावापानी फरक हुनाले रुद्राक्ष उत्पादन हुने सिजन पनि फरक छ ।
पछिल्लो समय रुद्राक्षको बोटमा क्लिप तथा विषादी प्रयोग गर्ने क्रम बढ्पछि यसको व्यवसाय नै संकटमा पर्न सक्ने देखिएपछि किसानहरु चिन्तित भएका छन् । रुद्राक्षलाई कृत्रिम बनाउन अहिले बगानै ठेक्का लिएर रुद्राक्षको बोटमा विषादी हालेर अप्राकृतिक बनाउन थालिएको हो ।
विषादी र मेसिन प्रयोग गरेर रुद्राक्षको कृत्रिम आकार बनाउँदा पनि सम्बन्धित निकाय भने बेखबर देखिएको छ । रुद्राक्षको कृत्रिम उत्पादन गर्दा समस्या भएको भन्दै स्थानीय व्यापारी र कृषकहरु चिन्तित छन् ।
चिनियाँ व्यापारीले रुद्राक्षलाई आवश्यकताअनुसार क्लिप प्रयोग गरेर थेप्चे, कण्ठे, चिल्लो, मदाने र आकारका दानाहरु उत्पादन गरिरहेका छन् । व्यापारका लागि चिनियाँहरुले दुई वर्षअघिदेखि बोटमै विषादी र क्लिप प्रयोग गरेर कृत्रिम आकार बनाई बेच्ने गरेका छन् ।
चिनियाँ व्यापारी रुद्राक्षको व्यापार गर्न आठ वर्षअघि सङ्खुवासभा र भोजपुरका विभिन्न क्षेत्रका गाउँबस्तीमा बस्ने गरेका देखिन्छ । दुई वर्षदेखि कृषकका रुद्राक्ष बगान ठेक्का लिएर व्यापारीहरुले जथाभावी क्लिपबाट कृत्रिम दाना उत्पादन गरेको भन्दै केही स्थानमा प्रशासनले रोक लगाए छ ।
तर अझै रुद्राक्षलाई कृत्रिम बनाउने काम भने रोकिएको छैन । व्यापारीले विषादी र क्लिपको सहायताले कृत्रिम दाना उत्पादन गरेका रुद्राक्षले यसको महत्व घट्दै गएको भन्दै कृषकहरु चिन्तित भएका छन् ।
कृत्रिम उत्पादनले रुद्राक्ष बिक्रीमा समस्या हुन थालेको चैनपुर–६ का टीकादत्त गौतमले दुखेसो पोखे । चिनियाँ व्यापारीले यस वर्ष रुद्राक्षको चिचिलै अवस्थामा बोटमै विषादी छर्किएर राम्रा दाना उत्पादन गर्न लागिपरेका छन् । चिनियाँ व्यापारीले गत वर्ष सङ्खुवासभाको चैनपुर–११ लोहाकोटमा रु १५ लाखको ठेक्कामा लिइएको रुद्राक्षमा विषादी प्रयोग गरिएको रहस्यसमेत खुलेको छ ।
विषादी प्रयोग गरिएको रुद्राक्ष चिल्लो हुने भए पनि एक महीना नबित्दै त्यसको रङ खुइलिने, हलुका हुने र कालो देखिने समस्या देखिएको छ । त्यसले बहुमूल्य रुद्राक्षसमेत बिक्री गर्न समस्या भएको रुद्राक्ष व्यवसायी सङ्घका अध्यक्ष चक्र बिसुन्केले जानकारी दिनुभयो ।
रुद्रःआक्ष मिलेर बनेको रुद्राक्ष शब्दसँग यसका उत्पत्तिका विभिन्न कथा पुराणहरूमा वर्णित छन् । रुद्र भगवान् शिवकै एक नाम तथा आक्षको अर्थ आँसु मानिन्छ । रुद्राक्षलाई कतै भगवान् शिवको आँसु तथा कतै पसिना जमिनमा खस्दा त्यसैबाट उत्पन्न भएको बताइएको छ ।
रुद्राक्ष नेपालको मध्य पहाडी क्षेत्रमा पाइने एक प्रकारको वनस्पतिको बोटमा फल्ने घेरादार दाना हो । यसको दानामा हुने प्राकृतिक घेरालाई मुख भनिन्छ, हालसम्म एकमुखेदेखि एक्काईसमुखे रुद्राक्षका दाना फेला परेका छन् । एकमुखे रुद्राक्षलाई साक्षात् शिवस्वरूप मानिने भएकाले यो अमूल्य हुन्छ ।
रुद्राक्ष भगवान् शिवसंग सम्बन्धित भएकाले यसलाई धागोमा उनेर वा मालाका रूपमा धारण गर्दा सकारात्मक ऊर्जा प्राप्त हुनुका साथै धार्मिक एवं शारीरिक लाभ हुने विश्वास छ ।
रुद्राक्षका विषयमा वैज्ञानिक अध्ययन समेत भएका छन् भने थप शोध अनुसन्धान जारी छ । रुद्राक्षलाई नीलो संगमरमर पनि भनिन्छ । यसको रुख नेपाल, पूर्वोत्तर भारत, इन्डोनेसियाको जकार्ता एवं जावामा पाइन्छ । नेपालको रुद्राक्षलाई उत्तम मानिन्छ ।
वनस्पतिशास्त्रमा रुद्राक्षलाई इलियोकार्पस गेनिट्रस भनिन्छ । गोलो, खस्रो, कठोर एवं लामो समयसम्म नबिग्रने रुद्राक्ष वास्तवमा एक प्रकारको बीज हो । पांचमुखी रुद्राक्ष बढी संख्यामा पाइन्छ भने एक र चौधमुखी रुद्राक्ष दुर्लभ हुन्छ ।