बदलिएको नेपालीको खानपान
शहरदेखि दूरदराजसम्म नेपालीको खानपानको शैलीमा आइरहेको परिवर्तनले नेपाली समाज र बजारमा आइरहेको फेरबदलको झल्को दिन्छ।
ठिहिर्याउने शिशिर सकिएर वसन्त शुरू हुने वेला आँपका बोटमा मुजुरा खेल्न थाल्छन्। एकाध महीनापछि गर्मी चढेसँगै रसिला र गुलिया आँप खानयोग्य तयार हुन्छन्। यो अब पुरानो कुरा भइसक्यो। फलको राजा भनिने आँप खान ग्रीष्म नै कुर्नुपर्छ भन्ने छैन, खल्तीमा पैसा भए विदेशबाट मगाइएका आँप फलफूलका दोकानमा भेट्न सकिन्छ। केही वर्ष अगाडिसम्म हिउँदमा आँप किनेर खाने कल्पना पनि हुँदैनथ्यो। यस वर्ष भने साउन-भदौ सकिएपछि पनि हिउँदभर नयाँ कलेवरका ठूला ठूला आँप बेच्न राखिएको देखियो।
काठमाडौंमा मात्रै होइन देशभरिका शहरमा वर्षा यामपछि पनि विदेशबाट मगाइएका आँप किनबेच भए, भलै ती मौसमी जस्ता स्वादिला थिएनन्। भन्सार विभागका अनुसार यस वर्ष भदौयता पुससम्म नेपालले चीनबाट आठ लाख पाँच हजार किलो आँप खरीद गर्यो। जबकि गत वर्षसम्म चीनबाट हिउँदमा आँप आएको थिएन।
नेपालीको बदलिएको खानपिनको झलक दिन्छ- हिउँदमा आँपको किनबेचले।
आँप त एउटा उदाहरण मात्रै भयो, बितेका तीन दशकमा नेपालीको खानपानको शैलीमा अभूतपूर्व परिवर्तन आएको छ। देशभित्रै नयाँ नयाँ फलफूल उब्जाउन थालिएको मात्रै छैन, अर्कै महादेशको माटोमा फलेका र बेग्लै हावापानीमा हुर्किएका फल पनि हजारौं माइलको यात्रा गरी नेपालीको भान्सामा भित्रिइरहेका छन्। एकाध वर्ष अगाडिसम्म हत्तपत्त मध्यम वर्ग समेत छिर्न धक मान्ने डिपार्टमेन्ट स्टोरहरूमा मात्रै बेच्न राखेको देखिने एभोकाडो अहिले गल्ली गल्लीका फलफूल पसलमा पनि सजाएको भेटिन्छ। तुलनात्मक रूपमा नौलो यो फलको स्वाद नेपाली जिब्रोमा पस्न थालेकैले होला, बेमौसममा समेत युगान्डाबाट मगाएर बिक्री गरिन्छ।
त्यस्तै, जुनार जस्तै देखिने फल माल्टा पनि बेमौसममा (वर्षा याममा) सर्वत्र भेटिन्छ। इजिप्टबाट समुद्री बाटो भएर नेपाल आइपुग्छ यो फल। चिलीबाट भित्र्याइएको किवी, चीनबाट मगाएको अनार, मध्यपूर्वको खजुर नेपाली बजारमा विक्री भइरहेका छन् । बजारमा बाह्रै मास भेटिने स्याउ त धेरैजसो चीनबाटै आउने हो, यदाकदा उत्तर अमेरिकी मुलुक क्यानडादेखि पनि आइपुग्छ।
फलफूल मात्रै होइन, समुद्र जोडिएको नर्वेबाट झिकाइएको साल्मोन माछादेखि मोजाम्बिकमा फलेको काजु, फ्रान्समा बनेको वाइन, मध्यअमेरिकी मुलुक ग्वाटेमालामा फलेको सुकुमेलसम्म नेपाल भित्रिइरहेको भन्सार विभागको तथ्यांकले देखाउँछ ।
छिमेकका भारत-चीन मात्रै होइन दक्षिण अमेरिकादेखि अफ्रिकासम्म, यूरोपदेखि अस्ट्रेलियासम्म कहाँ कहाँबाट नेपालीले चिजबिज मगाएर खाँदैनन्? पानीजहाज र वायुयान मार्फत हजारौं माइलको यात्रा छिचोलेर नेपालीको भान्सामा आइपुग्छन्, यी चिजबिज।धनीका भान्छामा छिर्ने महंगा खानेकुराको कुरा छोडौं, आम सर्वसाधारणले किन्ने तेल युक्रेनबाट, आलु बांग्लादेशबाट र चामल भारतबाट आउँछ ।
नेपाली भान्सामा यी विदेशी फलफूल र अन्य खाद्यपदार्थ छिरेको धेरै भएको छैन। पछिल्ला दशकहरूमा नेपालीको आम्दानी बढेसँगै स्वाद फेरीफेरी तरकारी, फलफूल, खाद्यान्न खाने चलन बढ्दो छ। शहरमा नौला नौला परिकार बेच्ने रेस्टुराँको संख्या उसैगरी बाक्लिएको छ। यी सबैले देखाउँछ- खासगरी शहरिया मध्यमवर्गीय नेपालीको खानपानको शैलीमा ठूलो परिवर्तन आएको छ। आयात हुने वस्तुको परिमाण र रकमको वृद्धि त्यसैको प्रमाण हो। यस आर्थिक वर्षको साउनदेखि पुससम्म मात्रै नेपालले रु.एक खर्ब २९ अर्ब बराबरको कृषिजन्य वस्तु आयात गरेको छ।
देशैभित्र पनि फलफूल, तरकारी तथा अरू खाद्यवस्तुको उत्पादनमा बढोत्तरी छ। अहिले जताजतै पाइने कतिपय फलफूल, तरकारी, खाद्यान्न सहितका तयारी चिजबिज केही दशकअघिसम्म दुर्लभै सरह थियो। लेखक केदार शर्मा चार दशकअघिसम्म पनि काठमाडौंमा समेत भन्ने बित्तिकै फलफूल नपाइने उदाहरण सुनाउन बीपी कोइराला बिरामी हुँदाको प्रसंग सम्झिन्छन्।
क्यान्सर लागेर वीर अस्पतालमा भर्ना गरिएका बीपी कोइरालाका लागि सिलगुडीमा अनार किनेर भद्रपुर हुँदै सकभर छिटो जहाजमा काठमाडौं ल्याउन भाइ गिरिजाप्रसादले झापामा रहेका कसैलाई अह्राएको लेखक शर्मा आफैंले सुनेका थिए। “काठमाडौंमा भन्ने बित्तिकै सिजन बेगरका फलफूल पाइँदैनथ्यो, बाँकी देशमा त न किनेर फलफूल खाने चलन थियो न फलफूल नै पाइन्थ्यो,” उनी सुनाउँछन्।
नेपाल सरकारका पूर्व सचिव तथा अर्थ-सामाजिक विषयका टिप्पणीकार रामेश्वर खनाल आफू बाल्यकालमा हुर्किएको पाल्पाको तानसेनमा फलफूल बेच्ने पसल र किनेर खाने चलन नभएको बताउँछन्। देशका हरेक कुनामा भरिभराउ फलफूल पसल देखिन थालेको एक दशक जति भएको उनको अनुमान छ। “अहिले मध्यम वर्गको घरमा फलफूल नटुट्ने हुन थालेको छ,” खनाल भन्छन्।
पहुँच नभएर मात्र होइन खल्तीमा दाम हुनेले पनि किनेर खाने बजार नेपालमा बनिसकेको थिएन। त्यसको उदाहरण हो, २०२६ सालको तत्कालीन युवराजाधिराज वीरेन्द्रको विवाह। सन् १९७० मा न्यूर्योक टाइम्सले लेखेको समाचारलाई उद्धृत गर्दै इतिहास सम्बन्धी अध्येता सुनील उलक युवराजाधिराज वीरेन्द्रको विवाहमा दरबारको भोजभतेर र विदेशी पाहुनाका लागि दुई जहाज खानेकुरा दिल्लीबाट नेपाल ल्याइएको बताउँछन्।
काठमाडौंमा २०२० वा ३० को दशकतिरका फलफूल पसलका तस्वीरहरूले पनि त्यति वेला केरा, स्याउ र मौसमका वेला मेवा, आँप, सुन्तला जस्ता फलफूल मात्रै राखिएको देखाउँछन्। काठमाडौंको लैनचौरमा ३५ वर्षदेखि फलफूल पसल चलाइरहेका बद्री साह आफूले फलफूलको पसल राख्दा केरा, स्याउ, आँप र सुन्तला जस्ता फल मात्रै हुने गरेको सम्झन्छन्। “मैले पसल शुरू गर्दा कालीमाटीलाई छोडेर यो क्षेत्रमा असनमा एउटा र बाइपास (बालाजु)मा एउटा मात्रै फलफूलको पसल थियो। फलफूल किनेर खाने चलन पनि थिएन,” उनी भन्छन्।
साहको पसलमा अहिले सुन्तला, केरा, मेवा, स्याउ जस्ता फलफूल मात्र होइन स्ट्रबेरी, ड्रागन फ्रूट, किवी, एभोकाडो, खजुर जस्ता नयाँ खालका फलफूल पनि बेच्न राखिएका छन्। “एभोकाडो, किवी जस्ता फलफूल त बिक्री हुन थालेको ५-६ वर्ष मात्रै भयो,” साह सुनाउँछन्। पुस-माघमा अम्बा बेच्न राखिएको देख्न थालेको पनि एक दशक जति मात्रै हुन लागेको उनी बताउँछन् ।
गएको ६ महीनामा नेपालले रु.१० अर्ब ७३ करोड मूल्यको फलफूल र काजुबदाम आयात गर्यो। यो तथ्यांकले देशभित्र फलफूलको मागलाई बुझाउँछ।
चामल र माछामासुको बढ्दो खपतले पनि नेपालीहरूको आहार फेरिएको बताउँछ। एकाध दशकअघिसम्म धान कम फल्ने पहाड र हिमाली क्षेत्रमा चामलको भात खान चाडपर्व वा श्राद्ध नै कुर्नुपर्ने अनुभव धेरैसँग छ। अहिले अधिकांशको घरमा छाकैपिच्छे भात पाक्न थालेसँगै चामलको माग पनि बढेर गएको छ। त्यसैले चामलको आयात चुलिंदो छ।
त्यस्तै, मध्यमवर्गीय परिवारका भान्सामा मासु पाक्न पनि पहिले जस्तो उत्सव र भोजभतेर कुर्नुपर्दैन। शहर मात्र होइन नगरोन्मुख गाउँमा समेत पाहुनाको स्वागतका लागि माछामासुका परिकार टक्र्याउने चलन बढ्दो छ। चाडपर्व, भोजभतेर वा विशेष अवसरमा मात्रै घरमा मासु पाक्ने जमानाबाट पुगिसरी आएका परिवारमा त छाकैपिच्छे मासु पाक्न थालेको पुष्टि पछिल्ला दशकमा बढेको मासुको उत्पादन र उपभोगको तथ्यांकले गर्छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७८/७९ मा देशमा दैनिक १४ लाख किलोभन्दा धेरै मासुको उत्पादन र खपत भयो। एक दशकअघि आर्थिक वर्ष २०६९/७० मा प्रतिदिन सात लाख ८८ हजार किलो मात्रै मासु उत्पादन हुने गरेको तथ्यांक छ।
यसले एकै दशकमा मासुको खपत झन्डै दोब्बरले बढेको देखाउँछ। अहिले नेपालीको प्रतिव्यक्ति मासुको उपलब्धता वार्षिक औसत १७ किलोग्रामभन्दा धेरै हुन पुगेको छ। चार दशकअघिसम्म नेपालीको औसत वार्षिक मासु उपलब्धता वार्षिक ६ किलोभन्दा थोरै मात्र थियो। अर्थात्, ४० वर्षअघि औसतमा वर्षको ६ किलोसम्म मासु खाने नेपाली अहिले औसतमा १७ किलोसम्म खाने भएका छन्।
लेखक शर्मा काठमाडौं सहितका शहरी क्षेत्रमा मात्रै नभई देशैभरि भान्साको पकवानमा फेरबदल आएको बताउँछन्। पेट भर्न खाने नियति फेरिएर स्वादका लागि विभिन्न परिकार खाने बन्न थालेको उनको विश्लेषण छ। देशका मौलिक भोजनबारे अध्ययनका लागि देशका ६० भन्दा धेरै जिल्ला पुगेका शर्मा नेपालीको खानपानको शैली फेरिएकोमा अचम्ममा परेको बताउँछन्। भन्छन्, “२०७६ सालमा जुम्ला पुग्दा दक्षिण भारतमा फलेको आँप बेच्न राखिएको थियो। इलामको फिक्कलमा अहिले चिया सीड र काठमाडौंमा उपलब्ध हुने हरेकजसो फेशन फूड चाख्न पाइन्छ। सडक नपुगेकै ठाउँमा पनि मान्छेहरूले विगतमा भन्दा राम्रोसँग खान थालेको साँचो हो।”
२०४० को हिउँद ताका पोखरा विमानस्थलमा उत्रिंदा काठमाडौंबाट पुगेका हरेकजसोले हातमा काउलीको झोला बोकेको दृश्य आज पनि लेखक शर्माको स्मृतिमा छ।
“त्यति वेला पोखरामै पनि काउली हुँदैनथ्यो, काठमाडौंबाट फर्किएकाले घरमा काउली कोसेली लगेको मैले देखें,” शर्मा सम्झिन्छन्। पहाडतिर बेमौसमी र नयाँ जातका तरकारी खेती फैलिएको पछिल्ला दुई दशकमै हो। २०३० को दशकतिर रसुवामा कार्यस्थल रहेका शर्मा त्यति वेला हरिया तरकारी खानै मुश्किल परेको अनुभव सुनाउँछन्, “अधिकांश वेला आलु, गेडागुडी वा गुन्द्रुक/सिन्कीमा भर पर्नुपर्थ्यो।”
कास्कीको सिकलेसमा हुर्किएका समाजशास्त्री डा. गणेश गुरुङ (६९ वर्ष) पनि आफू तन्नेरी हुँदासम्म काठमाडौंबाट जानेले लगिदिए मात्रै काउली, बन्दा सहितका तरकारी खान पाइने गरेको बताउँछन्। गुरुङ भन्छन्, “नत्र भने फर्सीका मुन्टा, रायोको साग, बोडी-सिमी जस्ता तरकारीको भर थियो। फलफूल त बिरामी हुँदा मात्रै तागत आउँछ भनेर खाइन्थ्यो।”
पहाडी क्षेत्रमा धेरैजसो परिवारको भान्सामा दाल वा एक थरी तरकारीले नै छाक टार्ने पुरानै चलन हो। अरू पकवानको त कुरै छोडौं, दाल र तरकारी समेत विशेष अवसरमा मात्रै पाक्थ्यो। हिउँदमा फल्ने आलु वर्षा याम पुग्दा सकिइसक्ने भएकाले अधिकांश परिवारमा आलु मिसिएको तरकारी दुर्लभ सरह नै हुन्थ्यो। त्यसो त आलु आफैंमा नेपालका लागि धेरै पुरानो तरकारी होइन। दक्षिण अमेरिकाको एन्डिज पर्वतमालामा उत्पत्ति भएको आलु काठमाडौं उपत्यकामा १८औं शताब्दीको अन्तिमतिर मात्रै भारतको पटना हुँदै भित्रिएर खेती भएको अनुमान छ। त्यसैले देशैभरि आलुखेती फिंजिन समय लागेको अनुमान गर्न गाह्रो पर्दैन।
अन्यत्रबाट झिकाएर किन्नका लागि अधिकांश परिवारका लागि न आर्थिक हैसियत थियो न बजार नै। राष्ट्रिय योजना आयोगको आठौं पञ्चवर्षीय योजना अनुसार तीन दशकअघि हरेक दुईमध्ये एक नेपाली गरीबीको रेखामुनि थिए। त्यति वेला तरकारी वा फलफूल किनेर खाने हैसियत कमजोर भएको बुझाउन यति तथ्यांक पर्याप्त छ।
मुलुकभित्रै बेमौसमी तरकारीको खेती र उत्पादन पनि उत्साहजनक तरीकाले बढेकै छ। तैपनि पछिल्ला वर्षमा नेपालले छिमेकी भारत लगायतका मुलुकबाट तरकारी किनेर खाने गरेको छ। भन्सार विभागका अनुसार गत साउनदेखि पुस मसान्तसम्म नेपालले रु.१७ अर्ब ५० करोड बराबरको तरकारी खरीद गरेको छ। नेपाली भान्सालाई स्वादिलो पार्न अहिले बाङ्लादेशमा फलेको आलु, उत्तर भारतमा फलेको गोलभेंडा र प्याजदेखि इन्डोनेशिया र भियतनाममा फलेको खुर्सानी तथा चीनमा फलेको लसुनसम्म आइपुग्छन्।
बितेका दशकहरूमा घर बाहिर खान जाने चलन पनि शहरी क्षेत्रमा अचाक्ली बढेको छ। तीन दशक अगाडिसम्म घर बाहिर खान जाने चलन यदाकदा मात्रै थियो भने राम्रा रेस्टुँराको संख्या औंलामा गन्न मिल्ने जति मात्रै रहेको लेखक शर्मा बताउँछन्। न्यूरोड, दरबारमार्ग वा पुतलीसडक जस्ता खास स्थानमा मात्रै हुन्थे, राम्रा रेस्टुँरा। “काठमाडौंको मध्यमवर्गीय परिवारलाई रेस्टुराँमा गएर खाने बानीमा अभ्यस्त बनाएको नाङ्लो रेस्टुरेन्टले हो,” शर्मा भन्छन्, “मलाई पनि परम्परागत मेनुबाट उठाएर महँगा रेस्टुराँको मेनु बनाएको जस यसैलाई जान्छ।” अहिले अनेकौं नाम र ब्रान्डका, देशीविदेशी परिकार बेच्ने रेस्टुँरा शहरको कुनातिरको गल्लीमा समेत भेटिन थालेको छ।
कफी खाने संस्कृतिमा पनि बदलाव आएको छ। केही दशकअघिसम्म खासै चिनापरिचय नभएको कफीले नेपाली जिब्रोलाई मोहनी लगाउन थालेको उदाहरण शहरभरि खुलेका कफी पसलहरू हुन्। अढाई दशकअघि हिमालयन जाभा खुलेसँगै काठमाडौंमा कफी पिउने चलन बढ्दै गएको हो। अहिले काठमाडौं उपत्यका बाहिरका स-साना शहरमा पनि दानाबाट बन्ने ताजा कफी भेट्न मुश्किल पर्दैन।
यी सबैको अर्थ के हो? खानपान विषयमा जानकार लेखक शर्मा शहरमा मात्रै होइन, गाउँमा पनि नेपाली परिवारको अर्थ-सामाजिक हैसियत सुधार भएकाले खाद्यान्न, तरकारी, फलफूलको उपभोगको प्रवृत्तिमा फेरबदल आएको मान्छन्। उनी आर्थिक हैसियत बढेर मात्रै नभई बाह्य मुलुक र देशका नागरिकसँग हिमचिम बढ्न थालेपछि नेपालीको खानपानको तरीकामा फेरबदल आएको ठान्छन्।
“जब देशमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्ने तथा पर्यटकका रूपमा विदेशी आए, तिनीसँगै नयाँ खानपान पनि भित्रियो। नेपालीहरू विदेशमा आवतजावत बढेसँगै त्यो झन् बाक्लो भयो,” उनले भने। उनी आफूले चाख्न नपाएका चिजबिज पनि छोराछोरीले चाखून् भन्ने बाबुआमाको चाहनाले घरभित्र किनमेल गरेर फलफूल, तरकारी तथा खानेकुरा भित्रिइरहेको बताउँछन्।
समाजशास्त्री डा. गणेश गुरुङ देशैभरि मोटरबाटो पुग्न थालेपछि र रेमिटेन्सले घरपरिवारको आम्दनी बढाएपछि नेपालीको किनेर खाने बजार र हैसियत भएको बताउँछन्। “बाटोघाटोको सुविधाले चिजवस्तु गाउँसम्म पुर्यायो र रेमिटेन्सले घरपरिवारलाई किनेर खाने सामर्थ्य दियो,” उनी भन्छन्।
२०५० को दशकपछि वैदेशिक रोजगारीका लागि नेपाली विदेशिन थालेपछि नेपालमा उनीहरूले पठाउने रेमिटेन्स बढ्न थालेको थियो। यो क्रम २०६० दशकमा बाक्लो भयो। नेपाल जीवनस्तर सर्वेक्षण २०६६/६७ ले देशका दुईमध्ये एक घरपरिवारले रेमिटेन्स आय पाउने गरेको देखाएको थियो। अहिले हरेक दिन रु.चार अर्बभन्दा धेरै रेमिटेन्स देशमा भित्रिइरहेको छ। विदेशबाट खाद्यान्न सहितको वस्तुको आयात पनि २०६० को दशकदेखि नै तीव्र गतिमा बढ्न थालेको हो।
पछिल्लो एक दशकभन्दा कम अवधिमै विदेशबाट आयात हुने खाद्यान्न सहितका कृषिजन्य वस्तुको आयात दोब्बर भइसकेको छ। भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७२/७३ मा नेपालले रु.एक खर्ब १५ अर्बको कृषिजन्य वस्तु आयात गरेकोमा गत आर्थिक वर्षमा आइपुग्दा यो बढेर रु.दुई खर्ब ९६ अर्बको कृषिजन्य वस्तु आयात भएको थियो।
अर्थ मन्त्रालयका पूर्व सचिव रामेश्वर खनाल रेमिटेन्स बाहेक जग्गा कारोबारले पनि उपभोगको दायरा बढाएको विश्लेषण गर्छन्। उनका अनुसार पछिल्ला दशकमा देशैभरि जग्गाको मूल्यमा आएको वृद्धिले जग्गा मालिक र कारोबारीलाई धनी बनाएसँगै उपभोग पनि बढ्यो। “झापादेखि महेन्द्रनगरसम्म, शहरदेखि नगरोन्मुख गाउँसम्म जग्गाको मूल्य बढेको छ, त्यसले खपत र उपभोग बढाएको छ,” उनी भन्छन्।
त्यसो त विदेशबाट खाद्यान्न, फलफूल, तरकारी र अरू चिजबिज किनेर खाएकोमा अनेकौं बहस पनि हुने गरेका छन्। खासगरी, चार दशकअघि पञ्चायतकालमा नेपालले धानचामल निर्यात गर्ने गरेको र अहिले बर्सेनि अर्बौं रुपैयाँको धानचामल आयात गर्ने गरेको भनी टिप्पणी हुँदै आएको छ। गत आर्थिक वर्षमा मात्रै नेपालले रु.३६ अर्ब ६६ करोड बराबरको धानचामल आयात गरेको थियो।
कतिपय आलोचकले पहाडमा उत्पादन हुने कोदो, मकै जस्ता अन्नको साटो चामलको भात खाने प्रवृत्तिका कारण चामल आयात बढेको पनि टिप्पणी गर्ने गरेका छन्। तर लेखक शर्मा यस्ता टिप्पणीलाई द्वेषपूर्ण मान्छन्। “फ्रान्समा उत्पादन भएको वाइन खानेले कर्णालीका जनताले कोदो-मकै नखाएर चामलको भात खाए भनेर प्रश्न उठाउन मिल्दैन। चामल पकाउन, भण्डार गर्न र खान सजिलो खाद्यान्न हो। मधेशमा फलेको धानको भात किन खायौ भनेर प्रश्न सोध्ने अधिकार अरूलाई छैन,” शर्मा भन्छन्।
समाजशास्त्री गुरुङ पनि मान्छेसँग खर्च गर्ने रकम थपिंदै गएपछि लाउनेखाने शोख बढ्नुलाई अस्वाभाविक मान्दैनन्। “मान्छेसँग खर्च गर्ने सामर्थ्य भएपछि जे सजिलो छ वा स्वाद पर्छ सोही किनेर खान्छ, अरूले त्यसमा प्रश्न उठाउन मिल्दैन,” गुरुङ भन्छन्, “बरु आयात घटाउन नेपालमै उत्पादन हुनसक्ने चिजबिज कसरी सस्तोमा फलाउने भन्नेमा नीतिनिर्माता घोत्लिनुपर्छ।”
विगत दशकहरूमा भएको पोषणको सुधार पनि नेपालीको खानपानको शैली बदलिएको बुझ्न पर्याप्त छ। बितेका दशकहरूमा बालबालिकामा कुपोषण दर उच्च रहेको विभिन्न अध्ययनले देखाएका छन्। सन् १९९६ मा गरिएको नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षणले पाँच वर्षमुनिका बालबालिकामा १०० जनामध्ये ५७ जनामा पोषणको कमीले पुड्कोपन देखाएको थियो। त्यसैगरी, १५ प्रतिशत बालबालिकामा ख्याउटेपन देखाएको थियो। यसले करीब तीन दशकअघि नेपालीको पेट भर्ने पर्याप्त खानेकुरा उपलब्ध नरहेको बुझाउँछ। पुड्कोपन सन् २०२२ मा २५ प्रतिशतमा झरेको आर्थिक सर्वेक्षण २०७९/८० ले उल्लेख गरेको छ।
त्यसैगरी, मूलतः पोषणको कमीका कारण सन् १९९६ मा १५ प्रतिशत बालबालिकामा रहेको ख्याउटेपन अहिले आठ प्रतिशतमा ओर्लिएको छ। ग्लोबल हंगर इन्डेक्सका अनुसार सन् २००० तिर नेपालको २३.६ प्रतिशत जनतामा रहेको कुपोषण दर सन् २०१९ मा ६.१ प्रतिशतमा झरेको छ। यसले बितेका दशकहरूमा खाद्यान्न सहित अन्य पोषणयुक्त खानेकुरामा सबै नेपाली घरपरिवारको पहुँच बढेको प्रस्ट तस्वीर देखाउँछ। तर अधिक उपभोगका कारण सँगसँगै नसर्ने रोग भनिने उच्च रक्तचाप, मधुमेह जस्ता जोखिम पनि बढेको छ।
सन् २०१९ मा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनले निधन भएका व्यक्तिमध्ये ७१.१ प्रतिशतको नसर्ने रोगका कारण मृत्यु भएको देखाएको थियो। मुटु सम्बन्धी रोग लागेर मर्ने सन् १९९० मा ४ प्रतिशत रहेकोमा सन् २०१९ मा १२.३ प्रतिशत पुगेको अध्ययनले देखाएको थियो।
त्यसो त अझै पनि करीब २० प्रतिशत नेपाली गरीबीको रेखामुनि रहेको चौंथो जीवनस्तर सर्वेक्षणले देखाएको छ। यसले विपन्न परिवारलाई खानकै धौ धौ छ भन्ने बुझाउँछ । तर बितेका तीन दशकमा गरीबीको रेखामुनि रहेको जनसंख्यामा ठूलो सुधार भएको छ।मध्यमवर्गको हैसियतमा उक्लिएकाहरुको खानपान र उपभोगको शैलीमा ठूलो बदलाव आएको जीवनस्तर सर्वेक्षणले देखाएको छ ।
लेखक शर्मा नेपाली भान्सामा आइरहेको परिवर्तन निकै महत्त्वपूर्ण रहेको मान्छन्। “भान्सामा आएको परिवर्तनले नेपाली समाज र परिवारमा आएको परिवर्तनलाई बुझ्न सघाउँछ,” शर्मा भन्छन्, “कतिपयले अहिले देखिएको खानपानको सौख कतिन्जेल पुग्छ भनेर प्रश्न पनि गर्छन्। मेरो विचारमा अहिलेसम्म जसरी पुगेको छ, भविष्यमा पनि त्यसैगरी पुग्छ।”