६० अर्ब लागतको धौवादी फलाम खानीको डीपीआर बन्दै
धौवादी फलाम खानी सञ्चालनका लागि विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन (डीपीआर)को काम अघि बढाइने भएको छ।
करीब रु.६० अर्ब लागतको फलाम खानीका लागि सरकारले यस आर्थिक वर्षमा २९ करोड ५० लाख बजेट विनियोजन गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. जनकबहादुर चन्दले बताए। “फलामको धाउको गुणस्तर मूल्यांकन कार्य सम्पन्न भएको र अब डीपीआरको काम अघि बढाउँछौं,” प्रमुख कार्यकारी अधिकृत चन्दले भने।
खानी पूर्ण क्षमतामा सञ्चालनमा आउँदा दैनिक करीब एक हजार ५०० टन फलाम उत्पादन गर्न सकिने अनुमान छ। यस्तै, नेपालले आयात गरिरहेको फलाम तथा फलामजन्य सामग्रीको २५ प्रतिशतभन्दा बढी माग पूरा हुने अपेक्षा छ। “वार्षिक डेढ खर्ब रुपैयाँ बराबरको फलाम तथा फलामजन्य वस्तुको आयातलाई प्रतिस्थापन गर्न सक्ने प्रारम्भिक अध्ययनमा देखिएको छ,” चन्दले भने, “अरू विवरण विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदनमा आउनेछ।”
पूर्वी नवलपरासीस्थित हुप्सेकोट गाउँपालिकामा रहेको खानीको धाउ क्षेत्र करीब ४१ वर्ग किलोमिटरमा फैलिएको छ। सम्भाव्यता अध्ययनकै क्रममा कम्पनीले धौवादीका विभिन्न पाँच ठाउँमा एक हजार ५९ मिटरको गहिराइसम्म ‘ड्रिल’ गरेको थियो। “त्यति गहिराइमा नेपालमा पहिलो पटक खनिएको हो,” चन्दले भने।
फलाम खानीमा विद्युत् आपूर्तिका लागि २२०/३२० केभी प्रसारण लाइन तथा सबस्टेशनको काम अघि बढिरहेको छ भने खानी क्षेत्रमा पुग्ने सडकमार्गको काम ८० प्रतिशत जति सम्पन्न भएको छ। झ्यासबासदेखि बोझेपोखरीसम्मको सडकमार्गको काम अन्तिम चरणमा पुगेको छ। खानीमा करीब एक हजार ७०० जनाले प्रत्यक्ष रोजगारी पाउने पनि बताइएको छ।
फलाम धाउ उत्पादन गर्दा सहउत्पादनका रूपमा क्वार्जाइट (कडा चट्टान) पनि निस्कनेछ। “क्वार्जाइटले निर्माण परियोजनालाई आवश्यक कच्चा पदार्थ स्थानीय रूपमै उपलब्ध गराउने हुँदा परियोजना लागत पनि कम हुन्छ,” चन्दले भने।
भैरहवाको विमानस्थल निर्माण कार्य क्वार्जाइट अभावकै कारण ढिला भएको थियो। सञ्चालनको तयारीमा रहेको रेल परियोजनालाई पनि क्वार्जाइटको आवश्यकता पर्छ। फलाम खानी सञ्चालनमा आउँदा सिमेन्ट तथा अन्य उद्योगलाई आवश्यक पर्ने ‘टिलिङ्स’, ‘स्लेग’ जस्ता कच्चा पदार्थ पनि उत्पादन हुन्छन्। त्यस्तै, गिर्खे ढुंगा र पत्थरको धूलो निर्माण कम्पनी र सडक निर्माणमा उपयोग हुनेछ।
खानी उद्योगमध्ये यो नेपालको अहिलेसम्मकै ठूलो हुने र यसले नेपालको आर्थिक अवस्थालाई पनि कायापलट गरिदिन सक्ने चन्दले बताए। खानीबाट २०८४ सालदेखि उत्पादन शुरू गर्ने लक्ष्य राखिएको छ।
२०६८ सालमा हुप्सेकोट गाउँपालिका- ५ को पोखरी, दुरुलुगा तथा धौवादी क्षेत्रमा फलाम खानी भेटिएको थियो। खानीबाट निकाल्न सकिने फलामको परिणाम र गुणस्तरको नमूना परीक्षणका लागि पाँच टन कच्चा पदार्थ चीनको सिचुआन इन्स्टिच्यूट अफ मेटोलोजिकल एन्ड एक्सप्लोरेशन छेन्दु पठाइएको थियो। सो परीक्षणले धौवादीमा भएको कच्चा पदार्थबाट फलाम उत्पादन गर्न सकिने देखाएको थियो। यसपछि सरकारले २०७६ सालमा धौवादी फलाम खानी लिमिटेड गठन गरेको थियो।