बितेको वर्ष चार दशककै सर्वाधिक तातोमध्येको एक
बितेको वर्ष चार दशककै सर्वाधिक तातोमध्येको एक बनेको छ भने एक दर्जन स्थानमा तापमानको रेकर्ड ‘ब्रेक’ भएको छ।
बितेको वर्ष पछिल्ला चार दशककै सर्वाधिक तातो वर्षमध्ये एक हुन पुगेको छ। जल तथा मौसम विज्ञान विभागको तथ्यांक अनुसार सन् २०२३ मा नेपालको वार्षिक औसतभन्दा अधिकतम तापक्रम ०.६ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ०.५ डिग्री सेल्सियसले धेरै रेकर्ड भएको छ। यसले दीर्घकालीन रूपमा तापमानमा वृद्धि आइरहेको तथ्यलाई बल पुगेको छ।
सन् २०२३ मा नेपालको वार्षिक औसत अधिकतम तापक्रम २७.९ डिग्री सेल्सियस रह्यो। यो सरदर वार्षिक अधिकतम तापक्रमको तुलनामा ०.६ डिग्री सेल्सियस बढी हो। देशको दक्षिण क्षेत्रमा औसत वार्षिक सरदर तापक्रम ३० डिग्रीभन्दा बढी पुगेको थियो।
गत वर्षको औसत अधिकतम तापक्रम पछिल्ला चार दशककै उच्चमध्ये एक भएको तथ्यांकले देखाएको छ। यसअघि सन् २०१०, सन् २०१६, सन् २०१७ मा मात्रै गत वर्षको भन्दा औसत वार्षिक अधिकतम तापक्रम धेरै रेकर्ड भएको थियो। सन् २०१० र सन् २०१७ मा सरदर अधिकतम तापक्रम २८ डिग्री सेल्सियस थियो भने सन् २०१६ मा सरदर अधिकतम तापक्रम २८.१ डिग्री सेल्सियस पुगेको थियो।
गत वर्ष अधिकतम मात्रै होइन, न्यूनतम तापक्रम पनि सरदरभन्दा धेरै रेकर्ड भएको छ। विभागका अनुसार सन् २०२३ मा औसत न्यूनतम तापक्रम १५.६ डिग्री सेल्सियस पुगेको छ। यो पछिल्लो चार दशकयताकै दोस्रो उच्च रेकर्ड भएको सरदर न्यूनतम तापक्रम हो। यो विगतको सरदर वार्षिक न्यूनतम तापक्रमको तुलनामा ०.५ डिग्री सेल्सियस बढी हो।
यसअघि सन् २०२२ मा सरदर न्यूनतम तापक्रम १५.७ डिग्री सेल्सियस रेकर्ड भएको थियो। यो पछिल्लो चार दशकयताकै उच्च सरदर न्यूनतम तापक्रम हो। गत वर्ष र सन् २०१० मा सरदर न्यूनतम तापक्रम समान १५.६ डिग्री सेल्सियस रेकर्ड गरिएको छ।
तथ्यांकले महीना अनुसार तापक्रमको स्थितिमा आउने प्रवृत्तिमा पनि नयाँ परिवर्तन देखाएको छ। गत वर्ष मार्चदेखि मे महीनासम्म अधिकतम तापक्रम औसतभन्दा घटेको तथा जून र जुलाईमा अधिकतम तापक्रम औसतभन्दा बढेको थियो। सन् २०२३ को जून महीनामा सरदर अधिकतम तापक्रम विगतको औसतभन्दा दुई डिग्री सेल्सियसले बढेको हो।
त्यस्तै, सेप्टेम्बर, अक्टोबर, नोभेम्बर र डिसेम्बरमा पनि अधिकतम तापक्रम विगतको औसतभन्दा धेरै रहेको विभागले जनाएको छ। अप्रिल र मे बाहेक बाँकी १० महीनामा न्यूनतम तापक्रम विगतको औसतभन्दा बढेको थियो।
सरदर अधिकतम र न्यूनतम तापक्रम बढ्दा ताता दिनहरू बढ्ने त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक मदन सिग्देल बताउँछन्। “जलवायु परिवर्तन प्रमुख रूपमा देखिने नै तापक्रम वृद्धिका रूपमा हो। नेपालमा तापक्रममा भइरहेको वृद्धिको तथ्यांकले जलवायुको प्रवृत्तिमा आइरहेको फेरबदललाई पुष्टि गर्छ,” सिग्देल भन्छन्।
जल तथा मौसम विज्ञान विभागको तथ्यांकले पछिल्ला दशकमा प्रस्ट रूपमा वार्षिक सरदर अधिकतम र न्यूनतम तापक्रम बढिरहेको प्रवृत्ति देखाएको छ। सन् १९८० को दशकको औसत वार्षिक अधिकतम तापक्रम २६.४ डिग्री सेल्सियस थियो। यो दशकभरि कुनै वर्ष पनि सरदर अधिकतम तापक्रम २७.१ डिग्री सेल्सियसभन्दा माथि उक्लिएको थिएन।
तर गत एक दशकमा औसत वार्षिक अधिकत तापक्रम २७.५ डिग्री सेल्सियस पुगेको छ। यसले चार दशकअघिको तुलनामा सरदर अधिकतम तापक्रम १.१ डिग्री सेल्सियसले बढेको देखाएको छ। सन् १९८१ देखि २०२३ सम्म रेकर्ड गरिएको तथ्यांक अनुसार सर्वाधिक सरदर अधिकतम तापक्रम रेकर्ड भएका चार वर्ष सन् २०१० यताका मात्रै छन्।
पछिल्लो एक दशकमा अधिकतम तापक्रम सबैभन्दा कम रेकर्ड भएको वर्ष सन् २०२० हो। यो वर्ष सरदर अधिकत तापक्रम २६.६ डिग्री सेल्सियस रेकर्ड भएको थियो। जुन चार दशकअघिको सरदर वार्षिक अधिकतम तापक्रमको तुलनामा समेत धेरै हो।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुदर्शन हुमागाईं बितेको वर्ष सर्वाधिक तातोमध्येको एक रहेको र जलवायु परिवर्तनको प्रस्ट संकेत भएको बताउँछन्। “हाम्रो लामो समयको तथ्यांकको विश्लेषणले नेपालमा हरेक वर्ष तापमान बढिरहेको देखाएको छ। गत वर्षको अधिकतम र न्यूनतम तापक्रमको तथ्यांकले त्यसलाई थप पुष्टि गरेको छ,” हुमागाईं भन्छन्।
सन् १९७१ देखि २०१४ सम्मको जलवायुको तथ्यांकमा आधारित भएर जल तथा मौसम विज्ञान विभागले गरेको अध्ययनले नेपालमा वार्षिक र मौसमी अधिकतम तथा न्यूनतम तापक्रम बढिरहेको देखाएको थियो। सन् २०१७ मा गरिएको अध्ययनले औसत वार्षिक अधिकतम तापक्रम ०.०५६ डिग्री सेल्सियस र औसत वार्षिक न्यूनतम तापक्रम ०.००२ डिग्री सेल्सियसले बढिरहेको देखाएको थियो।
अध्ययनले हिउँदमा हिमाली र उच्च पहाडी क्षेत्रमा अधिकतम तापक्रमको वृद्धिदर उच्च रूपमा बढेको र तराई तथा मध्य पहाडमा वर्षा याममा अधिकतम तापक्रम बढिरहेको देखाएको थियो। हिमाली जिल्ला मनाङको हिउँदको अधिकतम तापक्रम सबैभन्दा तीव्र गतिमा बढेको अध्ययनले देखाएको थियो।
यस अध्ययनमा तराई र चुरे क्षेत्रमा औसत न्यूनतम तापक्रम बढिरहेको र उच्च हिमाली क्षेत्रमा औसत न्यूनतम तापक्रम घटिरहेको प्रवृत्ति देखिएको थियो। उच्च हिमाली क्षेत्रमा अधिकतम तापक्रम बढ्ने र न्यूनतम तापक्रम घट्ने प्रवृत्तिले दिनहरू न्याना हुने र रात बढी चिसो हुने अवस्थालाई देखाउँछ।
फेरिएको प्रवृत्ति
जल तथा मौसम विज्ञान विभागका अनुसार एक दर्जन जिल्लामा यसअघि कहिल्यै रेकर्ड नगरिएको उच्च तापक्रम गत साल रेकर्ड भएको छ। तनहुँको बन्दीपुरमा २०८० जेठ २५ गते अधिकतम तापक्रम ३५.७ डिग्री सेल्सियस रेकर्ड भयो। जुन यसअघि २०७५ जेठ २९ मा ३५.५ डिग्री सेल्सियससम्म पुगेको थियो।
नवलपुरको दुम्कौलीमा यसअघि २०३६ जेठ २२ गते सर्वाधिक ४३.७ डिग्री सेल्सियस अधिकतम तापक्रम रेकर्ड गरिएको थियो। तर गत जेठ २६ गते योभन्दा पनि बढी ४४.८ डिग्री सेल्सियस अधिकतम तापक्रम रेकर्ड भयो।
धरान बजारमा पनि यस वर्ष ‘रेकर्ड ब्रेकिङ’ अधिकतम तापमान कायम भयो। गत जेठ २४ गते धरानमा अधिकतम तापक्रम ३९.३ डिग्री सेल्सियस पुग्यो, जुन एक दशकअघि ३८.८ डिग्री सेल्सियससम्म मापन गरिएको थियो।
तराईमा मात्रै होइन, पहाडी क्षेत्रमा पनि तापमानमा नयाँ रेकर्ड अभिलेख गरिएको छ। गोरखा (बिरेन चोक) मा २०७१ वैशाख २५ गते सर्वाधिक ३८ डिग्री सेल्सियस अधिकतम तापमान रेकर्ड गरिएकोमा यस वर्ष जेठ २५ गते ३९ डिग्री सेल्सियस रेकर्ड भयो। इलामको कन्याममा पाँच दशकअघि २०३० असार २६ गते अधिकतम तापक्रम २९ डिग्री सेल्सियस पुगेको अभिलेख छ। तर यस वर्ष त्यसलाई पनि जितेर गत जेठ २० मा अधिकतम तापक्रम ३० डिग्री सेल्सियस पुग्यो।
तनहुँको बन्दीपुर, सुनसरीको चतरा, धनुषाको जनकपुर, इलामको कन्याम, ओखलढुंगा, चितवनको रामपुर, बाराको सिमरा, सिरहा लगायत स्थानमा पनि यस वर्ष अहिलेसम्मकै सर्वाधिक अधिकतम तापक्रम पुगेको विभागको तथ्यांक छ।
विभागले अधिकतम तापक्रममा आएको वृद्धिले तराईका कैयौं स्थानमा मध्यमदेखि गम्भीर खालको लू (तातो हावा) को लहर चलेको आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ। खासगरी मध्य जेठबाट चलेको लू नेपालमा मनसुन भित्रिनुअघिसम्म जेठको अन्तिमम्म चलेको थियो। त्यति वेला कपिलवस्तु, रुपन्देही, नवलपुर, चितवन, पर्सा, बारा, सर्लाही, धनुषा, महोत्तरी, सिरहा सहित देशका कैयौं स्थानमा अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस नाघेको थियो।
सन् २०२३ मा नेपालमा हिउँद सुक्खा बितेको थियो भने वार्षिक वर्षा समेत औसतभन्दा कम हुन पुगेको विभागले जनाएको छ। गत वर्ष वार्षिक सरदरको ९१.२ प्रतिशत अर्थात् एक हजार ५७०.४ मिलिलिटर मात्रै वर्षा भएको थियो। नेपालमा सरदरमा हरेक वर्ष एक हजार ८३२.७ मिलिलिटर पानी पर्छ। यसको ८० प्रतिशतभन्दा धेरै वर्षा मनसुनको अवधिमा हुन्छ।
पछिल्ला वर्षमा मनसुन र हिउँदे वर्षाको प्रवृत्तिमा पनि प्रस्ट फेरबदल देखिंदै आएको छ। मनसुनको अवधिमा पानी पर्ने दिन लम्बिने र मनसुन ढिला सकिने प्रवृत्ति देखिएको छ। सामान्यतया नेपालमा १३ जूनमा मनसुनी वायु भित्रिएर २ अक्टोबरसम्म रहन्छ। तर यसमा परिवर्तन आइरहेको छ।
जस्तै, यस वर्ष पनि सरदरभन्दा १३ दिन ढिलो गरेर १५ अक्टोबरमा मात्रै मनसुनी बादल देशको आकाशबाट बाहिरियो। यस वर्ष मनसुन १२४ दिन कायम रह्यो। गत वर्ष त मनसुन १३४ दिनसम्म कायम रहेको थियो। विगतमा यति लामो अवधिसम्म मनसुन कायम रहेको ‘रेकर्ड’ थिएन।
हिउँदे वर्षा पनि पछिल्ला वर्षामा कम हुँदै गएको तथ्यांकले देखाउँछ। यस वर्ष हिउँद सकिन दुई साता मात्रै बाँकी हुँदा २.७ मिलिमिटर मात्रै (४.६ प्रतिशत) वर्षा भएको छ। सामान्यतया हिउँदको अवधिमा ६०.१ मिलिमिटर वर्षा हुन्छ। गत वर्ष पनि हिउँदमा १२.९ मिलिमिटर मात्रै वर्षा भएको थियो।
तथ्यांकले पछिल्ला वर्षका धेरैजसो हिउँद खडेरीयुक्त भइरहेको देखाएको छ। गत १८ वर्षयताको हिउँदे वर्षाको तथ्यांक अनुसार १८ मध्ये १२ हिउँदमा सरदरभन्दा कम पानी परेको छ। यसमध्ये पनि आठ वर्षका हिउँद त अधिक खडेरीमै बितेका छन्। जबकि कतिपय कम हिउँदे वर्षा हुने ठाउँमा ‘रेकर्ड ब्रेक’ हुने गरी पानी पर्ने विचलन पनि देखा परेको छ।
जस्तै, मनाङको हुम्देमा गत मंसीर १९ गते १६.१ मिलिमिटर पानी पर्यो, जुन यसअघि २०७४ मंसीर २० गते सर्वाधिक १०.४ मिलिमिटर पानी परेको रेकर्ड भएको थियो। यसले हिमाली क्षेत्रमा छोटो अवधिमा धेरै पानी पर्न थालेको संकेत गर्छ।
चौतर्फी प्रभाव
जलवायु क्षेत्रका जानकारहरू पृथ्वीको तापमानमा आइरहेको वृद्धिले अहिले नै ठूला ठूला असर देखा पर्न थालिसकेको र भविष्यमा त्यसको आयतन अझै बढेर जाने बताउँछन्। खासगरी, तापमान वृद्धिले वर्षाको प्रवृत्तिमा फेरबदल ल्याउने, हिमालको हिउँ पगाल्ने, अनपेक्षित जलवायुजन्य विपद् निम्त्याउने सहितका असर देखिने त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक सिग्देल बताउँछन्।
नेपालमा यस्तो परिवर्तनको व्यापक असर हुन्छ। खासगरी, जलवायु परिवर्तनका कारण हिमालको हिउँ पग्लिने दर छिटो हुँदा भविष्यमा हिमाल कालापत्थर हुन सक्ने, हिमताल फुट्न सक्ने तथा भेलपहिरोको जोखिम बढाउने विभिन्न अध्ययनले देखाएका छन्।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले गएको असारमा सार्वजनिक गरेको प्रतिवेदनले हिन्दू कुश हिमालय क्षेत्रमा अभूतपूर्व र पूर्ति हुनै नसक्ने खालको क्षति पुगिरहेको तथ्य सार्वजनिक गरेको थियो। प्रतिवेदनले सन् २१०० सम्म यस क्षेत्रका हिमनदी ८० प्रतिशतसम्म तथा हिउँको मात्रा एकचौथाइसम्मले घट्न सक्ने देखाएको छ।
हिमालमा हिउँ रित्तिंदै गएमा भविष्यमा हिन्दू कुश हिमालय क्षेत्रका झन्डै दुई अर्ब मानिसको पिउने पानीको स्रोत कम भएर जानेछ। त्यसैगरी, तापमान वृद्धिले हिमताल विस्फोटनको जोखिम थप्छ। नेपालमा करीब चार दर्जन हिमताल विस्फोटनको जोखिममा रहेको बताइन्छ।
वर्षाको प्रवृत्तिमा आइरहेको परिवर्तनले प्राकृतिक विपत्ति बढाएको मात्रै होइन, कृषि उत्पादनमा पनि असर गरिरहेको छ। जस्तै, गत वर्षको हिउँद र यस वर्षको हिउँदमा पानी नपर्दा गहुँ, तोरी जस्ता हिउँदे बालीको उत्पादनमा असर मात्रै पुगेन, नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाको उत्पादन निकै हदसम्म घटायो।
त्यस्तै, अनपेक्षित वर्षाका कारण दुई वर्षअघि मेलम्ची क्षेत्रमा जनधनको क्षति गर्ने ठूलो विपत्ति निम्तियो। यस वर्ष पनि मनसुन शुरू हुने बित्तिकै देशको पूर्वी क्षेत्रमा आएको बाढीले कैयौं जलविद्युत् आयोजना बगायो।
जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न विश्वभरिका सरकारले विश्वव्यापी जलवायु सम्झौताका रूपमा पेरिस सम्झौतामा हस्ताक्षर गर्दै तापक्रम वृद्धिलाई नियन्त्रण गरेर १.५ डिग्री सेल्सियसमा सीमित गर्ने समझदारी गरेका छन्। तर यसको प्रभावकारी कार्यान्वयनमा प्रश्न उठिरहेको छ। यही परिमाणको तापमान वृद्धिले समेत हिमाली क्षेत्रमा गहिरो प्रभाव पार्ने इसिमोडको अध्ययनले देखाएको छ।
जलवायु परिवर्तनको असरले विश्वव्यापी तापमान वृद्धि औद्योगीकरण शुरू हुनुअघिको १.५ डिग्री सेल्सियसमा सीमित राख्दा पनि हिमालको चुचुरोमा थप ०.३ देखि ०.७ डिग्री सेल्सियससम्म तापमान बढ्ने अध्ययनले देखाएको छ। अर्थात्, संसारभरका सरकारले गरेको सम्झौता अनुसार नै तापमान घटाउने गरी कार्बन उत्सर्जन कम गरे पनि त्यसको दुष्परिणाम नेपालका लागि भयावह नै हुनेछ।