‘आणविक हतियारको खतरा सकिएको छैन’
‘आणविक बमको आविष्कार भइसकेको दशकौंसम्म पनि हामी आत्मतुष्ट भइरहेका छैनौं। मलाई सबैभन्दा डर लागेको चाहिं यही नै हो। यो कथा सकिएको छैन र निकै खराब तरीकाले अन्त्य हुन पनि सक्छ।’
संयुक्त राज्य अमेरिकाको परराष्ट्र सेवाका अधिकृत पिताको कार्यक्षेत्र फेरिरहने भएकाले अमेरिकी लेखक काई बर्डको बाल्यकाल विभिन्न देशमा बित्यो। भारतमा विद्यालय शिक्षा पूरा गरेपछि अमेरिकाको कार्लटन कलेजबाट स्नातक र नर्थवेस्टर्न विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर गरे।
उनी ‘द कलर अफ ट्रूथ, ब्रदर्स इन आर्म्स, अमेरिकी प्रोमिथसः द ट्रायम्प एन्ड ट्र्याजेडी अफ जे. रोबर्ट ओपनहाइमर (२००५) लगायत पुस्तकका लेखक हुन्। हालै चर्चामा आएको फिल्म ओपनहाइमर उनकै पुस्तकमा आधारित हो।
सन् २००७ देखि २०११ को बीचमा धेरै पटक नेपाल आइसकेका बर्ड यस पटक पोखरामा हुने नेपाल लिटरेचर फेस्टिभलमा वक्ताका रूपमा आएका छन्। यसै साता काठमाडौं आइपुगेका बर्डसँग हिमालमिडियाका लागि कुन्द दीक्षितले गरेको कुराकानी :
तपाईंले भारतको कोडाइकनालबाट विद्यालय शिक्षा पूरा गर्नुभयो। यही उपमहाद्वीपबाट शुरू गर्नुभएको पत्रकारितालाई केही वर्षअघि नेपालमा बिताएर विश्राम दिनुभयो। यस क्षेत्रले तपाईंलाई किन आकर्षित गरिरहन्छ?
दक्षिणएशिया र खासगरी नेपालप्रति मेरो लगाव छ किनभने मेरो जवानीका दिनहरू यहीं बितेका छन्। कोडाइमा पढें। थर्ड क्लासमा रेल चढेर सिंगो भारत घुमें। मेरी श्रीमती सुसन गोल्डमार्कसँग मिलेर त्यहींबाट फ्रील्यान्स पत्रकारिता शुरू गरें।
मलाई यो क्षेत्रको जटिलता, भद्रगोल, अनिश्चितता र निरन्तर उद्घाटित भइरहने आश्चर्यहरूले डोराइरहन्छ। त्यति मात्र होइन म यो भूगोलका परिकारहरू, रङहरू, गन्धका साथै प्राचीनता र आधुनिकताबीच निरन्तर भइरहने संवाद पनि मन पराउँछु।
तपाईंले बन्डी ब्रदर्स (अमेरिकी अभियन्ता), रोबर्ट एम्स (सीआईएका पूर्व अधिकारी), जिम्मी कार्टर (अमेरिकाका पूर्व राष्ट्रपति), ओपनहाइमर (अणुबमका पिता) बारे पुस्तकहरू लेख्नुभएको छ। त्यस्तो के छ जसले तपाईंलाई जीवनी लेखनतर्फ आकृष्ट गर्छ? अनि जीवनी तयार पार्दा गरिने अनुसन्धान र लेखन अन्य गैरआख्यानका विधाभन्दा कसरी फरक छ?
म जानाजान जीवनी लेखनमा लागेको होइन। ३० वर्षको पत्रकार हुँदा मैले पुस्तक लेख्ने निधो गरें। मेरो विषय बन्न पुगे, जोन जे. म्याकक्लोय। वार्ल स्ट्रीटका शक्तिशाली वकील हुन् उनी। काम थाल्दै गर्दा मैले दुई वर्षमै लेखिसक्छु भन्ठानेको थिएँ। तर ८०० पृष्ठको जीवनी पूरा गर्न १० वर्ष लाग्यो।
यस क्रममा म अभिलेखहरूमा रुचि बढ्यो। अनुसन्धानका लागि गरिने खजानाको खोज मन पराउन थालें। पक्कै पनि साप्ताहिक म्यागजिनका लागि गरिने पत्रकारिताभन्दा निकै कठिन काम हो यो। तर यसको प्रतिफल पनि बढी नै हुन्छ। मेरो विचारमा जटिल इतिहासलाई व्यक्त गर्ने उत्तम माध्यम नै जीवनी हो। यसलाई उपन्यास पनि मान्न सकिन्छ। सयौं पादटिप्पणीहरू भएको उपन्यास।
अरू कसैको जीवनको कथा भएको हुनाले यो एकदमै व्यक्तिगत अनुभवले भरिपूर्ण हुन्छ। पढ्न पनि सहज हुन्छ। जोकसैको जीवनी पढ्दा पनि तपाईंले इतिहासका अन्तरकुन्तर थाहा पाउनुहुन्छ जुन इतिहासका पुस्तकबाट पाइँदैन।
तपाईंले केही जीवनी सहलेखन गर्नुभएको छ। सहलेखनको प्रक्रिया कस्तो हुन्छ? यस्तोमा कामको विभाजन कसरी गरिन्छ?
सहलेखन साँच्चै गाह्रो काम हो। मैले गरेको पहिलो जीवनी लेखन कर्म त्यसरी नै शुरू भएको थियो। तर काम शुरू गरेको आठ वर्षपछि म र सहलेखक छुट्टियौं। अरू लेखकहरूको जस्तै जीवनीकारहरूको अहम् पनि ठूलै हुन्छ। त्यसैले ओपनहाइमरको जीवनी लेख्ने काममा आफूले शुरू गरेको २० वर्षपछि सहभागी हुन मार्टिन शेर्विनले निम्त्याउँदा म हच्किएँ (द न्यूयोर्क टाइम्सको एक रिपोर्ट अनुसार इतिहासका प्राध्यापक शेर्विनले अन्तर्वार्ता, चिठी, डायरी, दस्तावेजहरू गरी ५० हजार पृष्ठको सामग्री जम्मा गरिसकेका थिए)।
मैले मार्टिनसँग भनें, “तिमी मेरो साथी जस्तो मान्छे, त्यसैले जीवनी लेखनमा हाम्रो मित्रतालाई जोखिममा राख्न चाहन्नँ।”
मेरो कुरा सुनेर उनी निकै हाँसे र आखिरीमा सहकार्य गर्न सहमत गराइछोडे। आखिर यो निकै सफल सहकार्य हुनपुग्यो। हामीले निकै रमाइलो पनि गर्यौं। उनले प्रशस्त अनुसन्धान गरिसकेका थिए।
मैले ओपनहाइमरका बाल्यकालीन दिनहरूबारे लेख्न थालेपछि बल्ल उनी पनि लेखनका लागि प्रेरित भए। लेखनका क्रममा हामीले अगाडि बढ्ने र पछाडि फर्किने काम गरिरह्यौं। एकले लेखेको अर्काले पुनर्लेखन गर्यौं। र, प्रशस्त सम्पादन गर्यौं।
ओपनहाइमरको जीवनी लेख्ने निर्णयमा कसरी पुग्नुभयो?
हामीले सामना गरिरहेको आणविक युगबारे बुझ्न ओपनहाइमरको कथा अत्यावश्यक छ। ओपनहाइमरले हामीलाई आणविक ऊर्जा दिए र सिंगो संसारलाई सदाका लागि परिवर्तन गरे। तर आणविक बमको आविष्कार भइसकेको दशकौंसम्म पनि हामी आत्मतुष्ट भइरहेका छैनौं। मलाई सबैभन्दा डर लागेको चाहिं यही नै हो। यो कथा सकिएको छैन र निकै खराब तरीकाले अन्त्य हुन पनि सक्छ।
तर ओपनहाइमरको जीवन अहिले हामीमा प्रतिविम्बित हुन्छ। खासगरी उनले वैज्ञानिकका रूपमा खेलेको भूमिकाका कारण जो पछि गएर सार्वजनिक बौद्धिक (पब्लिक इन्टेलेक्चुअल) पनि बने।
अहिले हाम्रो संसार विज्ञान र प्रविधिमा फसेको छ। एआईका कारण हामी अर्को ‘ओपनहाइमर युग’ को सामना गरिरहेछौं। हामीलाई विवेकयुक्त वैज्ञानिकहरू चाहिएका छन् जसले यी नयाँ प्रविधि आत्मसात् गरिरहँदा सिर्जना हुन सक्ने विकल्पबारे व्याख्या गर्न सकून्।
के तपाईंलाई वर्तमान विश्वमा पनि ओपनहाइमरले भोगेकै म्याककार्थिकले गरेको जस्तो दमनको पुनः मञ्चन भएको लाग्छ? (सन् १९५० मा अमेरिकी सिनेटर जोसेफ म्याककार्थीले अमेरिकी विदेश विभागमा कम्युनिस्टहरू काम गरिरहेको आरोप लगाएपछि अमेरिकामा वामपन्थीहरू ठानिनेहरूको दमन भएको थियो।)
पक्कै पनि। ओपनहाइमरको कथाले डोनल्ड ट्रम्पको विभाजनकारी राजनीतिको उदयबारे बताउँछ। म्याककार्थीस्ट दमनबाट पीडित हुने सबैभन्दा ठूला सेलिब्रेटी नै ओपनहाइमर बने। तर अहिले हामीले संसारैभर आप्रवासी, आदिवासी र धार्मिक अल्पसंख्यक एवं कामदारहरूप्रति उस्तै खाले घृणा पाउँछौं। यो उन्मादको राजनीति हो जुन असुरक्षाको भावनाबाट सिर्जना भएको हो भने बौद्धिकता विरोधी भावनाले यसमा मलजल गरिरहेछ।
धेरैजसो मानिसका निम्ति संसार निकै द्रुत गतिमा परिवर्तन भइरहेको लाग्न सक्छ। परिवर्तनको यो गतिले उनीहरूलाई साँघुरो चिन्तनतर्फ फर्काइरहेछ। वैज्ञानिकहरूको विशेषज्ञतालाई सम्मानको गर्नुको साटो केही मानिस उनीहरूको दानवीकरण गर्न उद्यत छन् जसले समग्र मानवतालाई नै कमजोर बनाउँछ। तर विश्वव्यापीकरण र विज्ञानले करोडौं मानिसलाई मध्यम वर्गको पंक्तिमा ल्याएको हामीले स्वीकार गर्नै पर्छ।
आणविक हतियारको दौडसँग जोडिएको ओपनहाइमरको दुविधा अहिले झनै सान्दर्भिक भएको छ, हैन त?
हिरोसिमामा अमेरिकाले अणु बम खसालेको तीन महीनापछि ओपनहाइमरले यी नयाँ हतियार ‘दुष्ट’ भएको र ‘आक्रमणकारीको हतियार र आतंकको हतियार’ बनेकोमा सचेत गराएको प्रसंग अहिले स्मरण गर्न आवश्यक छ। उनले संसारको कुनै पनि देश, जतिसुकै गरीब भए पनि आणविक हातहतियार बनाउन सक्ने अनुमान पनि गरेका थिए।
अहिले अमेरिका, बेलायत र फ्रान्ससँग मात्र नभई चीन, उत्तर कोरिया, भारत, पाकिस्तान र इजरायलसँग पनि आणविक हतियार छ। भविष्यमा इरानसँग पनि हुन सक्छ। दुःखद त रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आणविक हतियारको रणनीतिक प्रयोग गर्ने चेतावनी दिएका छन्। त्यसैले हामी अहिले निकै खतरनाक विश्वमा बाँचिरहेछौं।
संसारैभर युद्धको बादल मडारिरहेको समयमा ओपनहाइमर फिल्म रिलिज भएपछि तपाईंको पुस्तकबारे पुनः चासो बढेको हो कि?
क्रिस्टोफर नोलनले फेब्रुअरी २०२२ मा ओपनहाइमर फिल्म बनाउन थाल्नु र त्यही महीना रूसले युक्रेनमाथि आक्रमण गर्नु संयोग मात्र थियो। तर मलाई लाग्छ- यो कथाले जहाँसुकैका मानिसलाई पनि प्रभाव पार्नेछ। खासगरी आणविक हतियारको त्रासबारे चिन्तन नगरिरहेको युवा पुस्तालाई यसले सोच्न बाध्य बनाउनेछ।
हिरोसिमा र नागासाकीसँगको संवेदनशीलताले गर्दा ओपनहाइमर फिल्म यसै वर्ष जापानमा रिलिज हुने भएको छ। सन् २००८ मा यो पुस्तक प्रकाशित हुँदा जापानबाट कस्तो प्रतिक्रिया आएको थियो?
अमेरिकन प्रमिथसको जापानी संस्करणका दुई भाग छन् (अमेरिकामा सन् २००५ मा प्रकाशित)। तर विश्वभर फिल्म प्रदर्शन नहुँदासम्म यसको मध्यमस्तरको बिक्री भयो। तपाईंले भने जस्तै जापानमा यही महीना पहिलो पटक यो फिल्म प्रदर्शन हुँदै छ।
तपाईं नेपालमा पनि केही वर्ष बस्नुभयो। अहिले लिटरेचर फेस्टिभलमा वक्ताका रूपमा सहभागी हुन फर्किनुभएको छ। यो देशबारे तपाईंका स्मृतिहरू के-कस्ता छन्?
म सन् १९६९ मा पर्यटकका रूपमा छोटो अवधिका लागि नेपाल आएको थिएँ। त्यति वेला म १८ वर्षको पनि थिइनँ। त्यसपछि म कलेज पढ्न अमेरिका फर्किएँ। त्यसपछि म सन् १९७३ मा केही महीनाका लागि आएँ। अनि सन् १९७६ मा र फेरि सन् १९८० मा आएँ।
मेरी श्रीमती विश्व ब्यांकको कन्ट्री डाइरेक्टरका रूपमा नेपालमा खटिएपछि सन् २००७ देखि २०११ सम्म यहीं बसें। सन् २०१५ मा भूकम्प जानुभन्दा केही हप्ताअघि मैले काठमाडौं भ्रमण पनि गरेको थिएँ।
म एक साताका लागि फेरि नेपाल आएको छु। यी दशकहरूमा मैले नेपालमा थुप्रै परिवर्तन देखेको छु। यो अहिले पनि अस्तव्यस्त स्थान हो तर एक सुन्दर देश पनि हो। पछिल्ला नौ वर्षमा भएको परिवर्तन देखेर म तीनछक परेको छु।
(अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्। नेपाली टाइम्समा प्रकाशित यो अन्तर्वार्ता लक्ष्मण श्रेष्ठले अनुवाद गरेका हुन्।)