युवालाई दिइने शैक्षिक परामर्शमा ध्यान दिनुपर्ने सांसदहरूले बताएका छन्।
राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका)को पाँचौं वार्षिक साधारणसभामा बोल्दै उनीहरूले युवालाई सही परामर्श आवश्यक रहेको बताए। कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य विराजभक्त श्रेष्ठले परामर्श व्यवसाय क्षेत्रका विविध समस्या समेटेर नेकाले बुझाएको ध्यानाकर्षण पत्र आफ्नो पार्टीले पाएको र त्यसलाई अब संसदीय दलमा लगेर छलफल गराउने तयारी रहेको बताए। अब नेपाली विद्यार्थी के पढ्न जाने भन्ने कुरामा परामर्श केन्द्रित हुन जरुरी भएको श्रेष्ठको भनाइ थियो।
त्यस्तै, प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले परामर्श व्यवसायमा देखिएको समस्याप्रति चिन्तित रहेको बताए। गलत परामर्शले शिक्षा र धन दुवै नरहने अवस्था आउन सक्नेतर्फ सांसद सिंहले व्यवसायीलाई सचेत गराए।
जनता समाजवादी पार्टीका नेता भीम राईले उपदेश बाँडेर देश नबन्ने भन्दै कानून निर्माताले म्यानपावर र परामर्श व्यवसायीको फरक छुट्याउन सक्नुपर्ने बताए। प्रतिनिधि सभा सदस्य मनीष झाले शिक्षा र सूचना जानकारीको फरक छुट्याउन नेपालमा नसकिएको, एउटा विश्वविद्यालयले काम गर्न सकेन भनेर अरू थप्ने काम भइरहेको उनको भनाइ थियो।
कार्यक्रममा बोल्दै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीले नेपाललाई शैक्षिक हब बनाउनेतिर ध्यान दिन सम्बद्ध सबैलाई आग्रह गरे। उनले शैक्षिक परामर्शसँग सम्बन्धित नीतिनियम बनाउँदा सम्बन्धित सरोकारवालासँग छलफल गरेर, आवाज समेटेर नै बनाउने प्रतिबद्धता व्यक्त गरे।
परामर्श संघका अध्यक्ष सन्तोष प्याकुरेलले नीतिनिर्माणमा सरोकारवालाको आवाज समेटिनुपर्ने बताए। परामर्श व्यवसाय क्षेत्रलाई मिनिम्यानपावर बनाउने प्रयास भइरहेको उल्लेख गर्दै त्यसलाई रोकिने बताए।