लुम्बिनीबाट काठमाडौं पैदलयात्रामा अभियन्ता ईः
शहरका गरीब नागरिकको समस्याबारे सरकारको ध्यानाकर्षण गराउन अभियन्ता ईःले लुम्बिनीबाट काठमाडौंको पैदलयात्रा शुरू गरेका छन्।
अभियन्ता ईःले आइतबार लुम्बिनीबाट पैदलयात्रा शुरू गरेका हुन्। लुम्बिनीको मायादेवी मन्दिरबाट पैदलयात्रा शुरू गरेका उनले सिंहदरबार पुग्ने बताएका छन्।
सडक व्यापारी, बृहत्तर अनौपचारिक क्षेत्र र शहरका गरीब नागरिकको समस्या सरकारलाई सुनाउन नौदिने पैदलयात्रा शुरू गरेको उनले बताए। उनीसँगै अभियन्ता चाउ पनि पदयात्रामा सहभागी छन्।
सडक व्यापारी, शहरी गरीब र अनौपचारिक क्षेत्रलाई राज्यले बेवास्ता गर्दा बेरोजगारी, आर्थिक र सामाजिक असमानता बढेको तथा मौलिक हक अधिकार कुण्ठित भएको ईःको भनाइ छ। सडक व्यवसायी, गरीब तथा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमजीवीको समस्या समाधानमा संघीय सरकारको भूमिका समेत अनिवार्य बनेको उनले बताएका छन्।
आइतबार मायादेवी मन्दिरबाट हिंडेका उनी राति रुपन्देही पुगेर वास बस्नेछन्। त्यसपछि पश्चिम नवलपरासीको सुनवल, नवलपुरको दुम्कीबास, दलदले, चितवनको रामनगर, कुरिनटार हुँदै फागुन ७ गते सिंहदरबार पुग्ने योजना रहेको अभियन्ता ईःले सामाजिक सञ्जाल फेसबूक मार्फत सार्वजनिक गरेका छन्।
देशभरका स्थानीय सरकारले सडक व्यवसाय र अनौपचारिक क्षेत्रबारे व्यवस्थापकीय नीति तयार गर्नुपर्ने उनको माग छ। गरीबलाई अध्ययन र विकल्प विना विस्थापन नगरी कानून र संविधानको मर्म तथा परिधिभित्र बस्न संघीय सरकारले स्थानीय सरकारलाई निर्देशन दिनुपर्ने उनले माग गरेका छन्।
यस्तै, शहरी गरीबको संरक्षण आवश्यक भएकाले सडक व्यवसाय र अनौपचारिक क्षेत्रको व्यवस्थापन सम्बन्धी, संघीय ऐन निर्माण तथा भएका कानूनी प्रावधानको सबलीकरण गर्नुपर्ने अभियन्ता ईःको माग छ। शहरी गरीबीलाई सम्बोधन गर्न सहयोग गर्ने अनौपचारिक क्षेत्र र साना उद्यम प्रवर्द्धन गर्ने तहगत सहकार्यका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।