सुशासन लोकतन्त्रको प्राणवायु हो : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्र जोगाइराख्न सुशासन अत्यावश्यक रहेको बताएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले सुशासनमा जोड दिएका हुन्। “सुशासन लोकतन्त्रको प्राणवायु हो,” पौडेलले भने।
मुलुकमा उपलब्ध प्राकृतिक, मानवीय र सांस्कृतिक सम्पदाको उपयोग गर्दै आर्थिक समृद्धि र सामाजिक न्याय हासिल गर्न भ्रष्टाचार नियन्त्रण अनिवार्य भएको उनको भनाइ थियो। भ्रष्टाचार नियन्त्रणका लागि शासन प्रणाली राम्रो हुनुपर्ने उनले बताए।
“शासन प्रणाली जति पारदर्शी र जवाफदेही हुन्छ भ्रष्टाचार न्यूनीकरणको सम्भावना त्यति नै हुने भएकाले सार्वजनिक निकायका हरेक काम, कारबाही र निर्णय पारदर्शी हुनुपर्छ भन्ने कुरामा सबैको ध्यानाकर्षण गराउन चाहन्छु,” राष्ट्रपति पौडेलले भने, “नेपाली जनताको ठूलो बलिदान र संघर्षबाट ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म र भावना पनि यही हो।”
कार्यक्रममा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचार नियन्त्रणका लागि सदाचारयुक्त जीवनशैली आवश्यक भएको बताए। दाहालले आफ्नो जीवनशैलीलाई सरल, इमानदार, पारदर्शी र सदाचारयुक्त बनाउनुपर्नेमा जोड दिए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग र आयोग जस्ता भ्रष्टाचार नियन्त्रण गर्ने निकायलाई कानूनी, प्रशासनिक, आर्थिक रूपले सबल बनाउन नेपाल सरकारले आफ्ना नीति, कार्यक्रम तथा बजेटलाई केन्द्रित गरेको बताए।
कार्यक्रममा बोल्दै आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सदाचार पद्धतिको विकास र भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीतिलाई मूर्त रूप दिन सबैको सहयोग र सक्रियता जरुरी भएको बताए। देशमा सुशासनको अवस्थामा अपेक्षित सुधार हुन नसकेको गुनासो जनताको तहमा व्याप्त रहेको भन्दै राईले यसप्रति सबै सक्रिय र जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिए।
प्रमुख आयुक्त राईले भने, “भ्रष्टाचार विरुद्धको लडाइँ आयोग एक्लैको मात्र होइन, यो एक बहुआयामिक विषय भएको हुँदा यसका लागि सामूहिक प्रयासको खाँचो छ। सुशासन स्थापनाका लागि हरेक नागरिक परिवर्तनको अभियन्ता बन्न सक्नुपर्छ।”
कार्यक्रममा भ्रष्टाचार नियन्त्रणमा योगदान गरेका व्यक्तिलाई सम्मान गरिएको छ।