६० वर्षदेखि विकासले नछोएको शहरको बस्ती
प्रदेश राजधानीमै रहेको सीताचोकको मेस्तर बस्ती छेउछाउबाटै रेल र सडक सञ्चालनमा छन् तर यो बस्ती वर्षौंदेखि आधारभूत आवश्यकताबाट पनि वञ्चित छ।
बाँसका भाटाले बनाएका ससाना साँघुरा माटाका घर। घरको छेउमा फोहोरको थुप्रो। प्लास्टिक, बोतल, साइकलको टायर, कागज, थोत्रा कपडाको फोहोर र त्यही छेउबाट बगिरहेको ढल। चारैतिर झिंगा र लामखुट्टेकाे आतंक। फाेहाेर र ढलबाट आएकाे गन्ध। विद्यालय जाने उमेरका केटाकेटी कचडा (फाेहाेर) टिपिरहेका, काेही त्यसै बरालिइरहेका, काेही जे भेट्यो त्यही मुखमा चपाइरहेका थिए।
यो दृश्य हो प्रदेशको राजधानी पौराणिक कालको ज्ञानगुनको केन्द्र भनी गौरव भएको जनकपुरधाम उपमहानगरपालिका-१, सीताचोकस्थित मेस्तर बस्तीको। जानकी मन्दिरबाट पैदल जाँदा करीब १५ मिनेटमा यस बस्ती पुगिन्छ।
घरछेउको फोहोरको थुप्रोमा फोहोर टिप्दै थिइन् शिवानी मेस्तर। यति वेला किताबकापीको झोला लिएर विद्यालय जानुपर्ने हो। तर उनी फोहोरको आफूभन्दा ठूलो बोरासँग थिइन्। बोराभित्र पानी, रक्सीका रित्ता बोतल र अरू यस्तै सामान थिए।
उनलाई आफ्नो उमेर थाहा थिएन। स्थानीयका अनुसार उनी ७ वर्षकी भइन्। उनी जस्तै अरू बालबालिका पनि कचडा उठाउँदै थिए। काेही मजदूरी गर्न गएका थिए।
स्कूल जाने उमेरका छोरीहरू बच्चाको स्याहारसुसार गर्दै दूध खुवाउँदै थिए। हेर्दै बच्चा जस्तै देखिने युवतीहरू पनि बच्चाका आमा भएका थिए।
कोही नयाँ मान्छे देख्दा शिरदेखि पाउसम्म नियालेर हेर्थे बालबालिकाले। किन उनीहरू विद्यालय नगएका होलान् भन्दा ‘पईढ क कि हेते (पढेर के हुन्छ)’ भन्ने जवाफ पनि फर्काउँथे, कतिले जवाफ नै दिएनन्। कतिलाई पढ्ने इच्छा भए पनि पैसा नभएकाले पढ्न नसकेकाे बताए। कतिले आमाबुबाले नपढाएको बताए।
कंक्रिटका दुई-तीन तले घरले घेरिएको मेस्तरको बस्तीमा राम्रो वासस्थान छैन। विकास त्यही बस्तीको छेउमा पुगेर रोकिएको छ। वर्षौंदेखि यस बस्तीका आधारभूत आवश्यकता पनि पूरा भएका छैनन्।
यस बस्तीमा करीब २६ घर मेस्तर बस्छन्। उनीहरू बसेको ठाउँ नेपाल रेल्वेको हो। यहाँका कसैको पनि आफ्नो जग्गा छैन। सबैजसो सरसफाइको काम गर्छन्। त्यसले बिहान र साँझको छाक त टर्छ तर अरू खर्च टर्दैन। त्यसैले बालबालिका स्कूल जान पाएका छैनन्।
२०७८ भदौ १९ मा फूलमालाले सिंगारिएको रेल भारतको जयनगरबाट जनकपुर आइपुग्दा सबैले खुशीयाली मनाए। हर्षोल्लासका साथ रेलको स्वागत गरे। तर रेलमार्गछेउकै मेस्तर बस्तीमा कुनै रौनक थिएन। देशकै एक मात्र रेल जनकपुर आएको देख्नेहरूले मेस्तर बस्तीको दुर्गति देखेनन्।
जयनगर-जनकपुर रेल चल्न थालेको दुई वर्ष भयो। सयौं मानिस ओहोरदोहार गर्छन्। तर तिनका पनि आँखामा पर्दैन मेस्तर बस्ती। गणतन्त्र आयो, देशले संघीय संरचना अपनायो। व्यवस्थाहरू परिवर्तन भए तर मेस्तर बस्तीको अवस्था जस्ताको तस्तै छ। “यो बस्तीमा बिहे गरेर आउँदा जस्ताे थियो, अहिले पनि त्यस्तै छ,” सावित्री मेस्तर भन्छिन्।
बिहे हुँदा उनी १२ वर्षकी थिइन्। अहिले ७० वर्ष पुगिन्। आमाबुबा जसरी बसेका थिए छाेराछाेरी पनि उसैगरी बसेका छन्। “मैले उनीहरूलाई देख्दै आएको पनि २२ वर्ष भयो। न राम्राे बस्ने ठाउँ पाएका छन् न त सजिलोसँग गुजारा चलाउन सकेका छन्, चेतनाको पनि विकास हुन सकेकाे छैन,” राष्ट्रिय मुसहर संघका अध्यक्ष चन्देश्वर सदा भन्छन्।
यहाँका बासिन्दाले सरकार छ भन्ने अनुभूति गर्न नपाएको मेस्तर समुदायका अगुवा इन्द्रजित मेस्तर सुनाउँछन्। “प्रदेशकाे राजधानी हो, सडक र रेलमार्ग छेउछाउमै छन् तैपनि विकासले छोएको छैन,” इन्द्रजित भन्छन्, “शहरकाे बस्ती भनेर कुनै संघसंस्थाले पनि हेर्दैन।”
आफूहरूका लागि बोलिदिने मान्छे पनि कोही नभएको महसूस गरेका छन्। “मेस्तर समुदायका लागि आवाज उठाइदिने र सम्बन्धित निकायसम्म कुरा पुर्याइदिने कोही भएन,” उनी भन्छन्, “राज्यको माथिल्लो निकायसम्म आफ्नो समुदायको मान्छे हुनुपर्ने रहेछ।”
जनप्रतिनिधिले पनि उनीहरूका लागि बोल्ने गरेका छैनन्। “सानो जातका हुन् भनेर जनप्रतिनिधिले पनि वास्ता गर्दैनन्। वर्षौंदेखि यस्तो अवस्था देखेर पनि बेवास्ता गर्छन्,” नाम उल्लेख नगर्ने एक वडा सदस्य भन्छिन्, “उनीहरूका विषयमा बोल्दा अन्य जनप्रतिनिधिले विरोध गर्छन्। त्यस्तै मान्छे हुन्, उनीहरूको कुरा नगर्नुस् भन्छन्।”
यस बस्तीबारे वर्षाैंदेखि जानकार भए पनि अरू जनप्रतिनिधिको साथ नभएकाले केही गर्न नसकेकाे उनी बताउँछिन्। मेस्तर बस्तीबारे कुरा गर्दा अरूबाट टाढिनुपर्ने भएर आफूले बाेल्न नसकेकाे उनको भनाइ छ।
बालकैमा आमा
विभा मेस्तर २० वर्षकी भइन्। १३ वर्षको उमेरमा उनको विवाह भएको थियो। उनका तीन छोराछोरी छन्।
श्रीमान् मजदूरी गर्छन्। दिनभरि मजदूरी गरेपछि साँझबिहानको छाक टर्छ। तर काम सधैंभरि पाइँदैन। “खाना पकाउने काम त गर्ने थिएँ तर मेस्तरलाई छुनु हुँदैन भन्छन्। अरू काम गर्नलाई पढेकी छैन,” उनी भन्छिन्।
विभाका छोराछोरीले पनि स्कूल जान पाएका छैनन। “खाइला न है केना क पढेइबे (खान त छैन, कसरी पढाउनु?)” विभा भन्छिन्, “चर्पी ओ सफा करेवला काम भेटतिए त कईर लेतिए, ओहो नई भेटेई चिए (चर्पी सफा गर्ने काम भेटे पनि गर्ने थिएँ तर त्यही पनि भेटिंदैन)।”
बस्ती घुम्दै जाँदा भारती मेस्तर भेटिइन्। उनले आफ्नो उमेर २० वर्ष जति भएको अड्कल गरिन्। ठ्याक्कै उमेर उनलाई थाहा छैन। उनको नागरिकताको प्रमाणपत्र पनि छैन। उनको १४ वर्षकै उमेरमा विवाह भएको थियो। अहिले तीन सन्तानकी आमा बनेकी छन्। भारतीकी बहिनी पनि लगभग १७ वर्षमै आमा बनेकी छन्।
उनकै साथी पायल मेस्तरको पनि विवाह भएको एक वर्ष भयाे, अहिले माइतीमा आएकी छन्। १४ वर्ष जति भएको अड्कल लगाउँछिन् तर उनलाई पनि आफ्नो उमेर थाहा छैन। उनीसँग पनि नागरिकताको प्रमाणपत्र छैन।
शौच गर्न अँध्यारोको पर्खाइ
भुइँतले कटेरामा बस्दै आएको मेस्तर समुदायले घर बनाउन सकेको छैन। दैनिक परिश्रम गर्दा खानलाउनै नपुग्ने उनीहरू सुनाउँछन्। राज्यले पनि सुरक्षित बसोबासका लागि ध्यान नदिएको उनीहरूको गुनासो छ।
यस बस्तीमा खानेपानीको पनि अभाव छ। सुरेश मेस्तर र राजेन्द्र मेस्तरले आफ्नो घरमा चापाकल राखेका छन्। अरूले अर्को चापाकलको पानी खान्छन्। पानीको समस्या भएकाले सरसफाइमा पनि ध्यान दिन नसकिएको रेखादेवी मेस्तर बताउँछिन्।
मैलो कपडा लगाएकी, ननुहाएर कपाल जिङ्ग्रिङ्ग भएकी पुनम मेस्तर बाल्टिन बोकेर चापाकलमा आफ्नो पालो पर्खिरहेकी थिइन्। “पानीको ठूलो समस्या छ,” उनी भन्छिन्, “अरूको घरमा पानी लिन जाँदा छुनु हुँदैन भनेर दिंदैनन्, आफ्नो चापाकल छैन।” गरीबीसँगै जातीय विभेद पनि भोग्नुपरिरहेको उनी बताउँछिन्।
“भोट माग्ने वेला कल (चापाकल) गाडिदिन्छु, चर्पी बनाइदिन्छु भन्छन्। त्यसपछि एक पटक पनि फर्किएर आउँदैनन्,” शिलादेवी मेस्तर गुनासो गर्छिन्।
अरूका शौचालय सफा गर्ने यस समुदायको आफ्नै शौचालय छैन। करीब २६ परिवारको मेस्तर बस्तीमा १४० भन्दा धेरै मानिस छन्। यस बस्तीमा राजेन्द्र मेस्तरको घरमा मात्र शौचालय छ। उनी अरू कसैलाई पनि शौचालय प्रयोग गर्न दिंदैनन्। शौचालय र चापाकल आफ्नै भएकाले उनी आफूलाई निकै हुनेखाने ठान्छन्।
मेस्तर बस्तीका अरू मानिस जहाँ पायो त्यहीं शौच गर्छन्। शौचालय कहाँ जानुहुन्छ भन्ने प्रश्नमा विभा मेस्तर हाँस्दै भन्छिन्, “तरकारी बजार दिस जाइछि (तरकारी बजारतिर जान्छौं।)”
राजनन्दनी मेस्तरका बुबाले वर्षौंदेखि शौचालय सफा गर्ने काम गर्दै आएका छन् तर उनको परिवारका मानिस कति वेला अँध्यारो होला र शौच गरौंला भनी बस्छन्। बिहान झिसमिसेमै र साँझ अँध्यारो भएपछि मात्रै शौच गर्न जाने गरेको उनी बताउँछिन्।
“जत खाली रहे हई ओतहि लेटिंग करैछी, दिन के लोक सब देखते ओहिसे रात मे जाइछि (जहाँ खाली देखिन्छ, त्यहीं शौच गर्छाैं। दिउँसो मान्छेहरूले देख्छन् भनेर अँध्यारोमा जान्छौं),” राजनन्दनी भन्छिन्।
राजेन्द्रको परिवार बाहेक यो समस्या यस बस्तीका सबै घरको हो। हिजोआजदेखि होइन वर्षौंदेखि यसै गरेकाले उनीहरू यसमा अभ्यस्त छन्।
जन्मदर्ता नहुँदा पढाइबाट वञ्चित
बाँसका भाटाले बेरेर वरिपरि पुराना कपडाले बेरेको कटेरो अनिता मेस्तरको घर हो। भित्र न सुत्ने खाट छ न त न्यानो ओढ्ने-ओछ्याउने नै। अनिताको १२ वर्षको उमेरमा विवाह भएको थियो। गत वर्ष उनका श्रीमान्को मृत्यु भयो। त्यसपछि घरको सबै काम गर्ने जिम्मेवारी उनकै थाप्लोमा आयो। “केना क परिवार चलेवे यी चिन्ता स बढ टेन्सन हईछे (कसरी परिवार चलाउने? यही चिन्ताले धेरै तनाव हुन्छ),” उनी भन्छिन्।
उनी सरसफाइको काम गरेर गुजारा चलाउँछिन्। फोहोर उठाएर दिनको ३०० रुपैयाँ कमाउँछिन्। सधैं त्यसले मात्र नपुग्ने भएपछि नजिकैको अर्को घर पनि सफा गरिदिने काम गर्छिन्। एक्लैको कमाइले खान नपुग्ने भएपछि छोरीलाई पनि सँगै काममा लैजाने गरेकी छन्।
चिसोले ओठ थरथराउँदै लगलग कामिरहेकी साइँली छोरी शिवानीलाई देखाउँदै उनी भन्छिन्, “हमार से ज्यादा निक काम यी करैछे तइ ल कामवाली खुश छे (मैले भन्दा राम्रो काम यसले गर्छे, त्यसैले कामवाली खुशी छिन्।”
अघिल्लो दिन फोहोर टिप्दै गर्दा भेटिएकी शिवानी अनिता मेस्तरकी छोरी हुन्। अनिताले स्कूल पढ्न पाइनन्। आफूले पढ्न नपाए पनि छोराछोरीलाई स्कूल पठाउन चाहेकी थिइन्। “क्या बेर पठेलिए सरकारी स्कूल, जलमदर्ता खोजेइछे त यी सब धुइर के आबेइछे (कति पटक सरकारी स्कूल पठाएँ, जन्मदर्ता खोज्छन्, अनि फर्किएर आउँछन्),” उनी भन्छिन्।
त्यसपछि उनी वडा कार्यालय गइन्। “गेलिए जलमदर्ता बेनाइला कागज देखलके त कहलके नई बनते (जन्मदर्ता बनाउन गएको, कागज हेरेर बन्दैन भन्दिए),” अनिता सुनाउँछिन्।
छोराछोरीलाई विद्यालय भर्ना गर्न जाँदा उनीहरूको जन्मदर्ता मागियो। जन्मदर्ता गराउन जाँदा उनको नागरिकता खोजियो। श्रीमान्का नामबाट नागरिकता बनाउन पनि उनको विवाह दर्ता भएको थिएन। त्यसैले पाँच छोराछोरीलाई स्कूल भर्ना गर्न नपाएको उनी दुखेसो गर्छिन्।
अनिता जस्तै मेस्तर बस्तीका अभिभावकले बालबालिकालाई विद्यालय पठाउन पाएका छैनन्। बस्तीका सबैजसो घरमा विद्यालय जाने उमेरका बालबालिका छन्। तर चार जना बालबालिका मात्र स्कूल जान्छन्।
अधिकांश युवा-तन्नेरीसँग नागरिकताको प्रमाणपत्र छैन। यसले गर्दा अन्य सरकारी सेवासुविधा नपाएको उनीहरू गुनासो गर्छन्। २० वर्षीया राजनन्दनी मेस्तरले नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय जान नसकेको बताउँछिन्। “काम नई करबे त खाइला नई पुग्तेइ, काम छोइर क नागरिकता बनाइला जाइ नई सकछी (काम नगर्दा खान पुग्दैन, काम छोडेर नागरिकता बनाउन जान सकिनँ),” उनी भन्छिन्। नागरिकता बनाउन जाने पैसा पनि नभएको उनी बताउँछिन्।
छोराछोरीको जन्मदर्ता नहुनुको एउटा कारण बाबुआमाको बालविवाह पनि हो। सानैमा विवाह गरेकाले आमाबुबाको विवाह दर्ता गरिएको हुँदैन। अनि बालबालिकाको जन्मदर्ता गर्न पनि प्रमाण पुग्दैन। कतिपयले बालविवाह गरेकाले कानूनी सजाय हुन्छ कि भन्ने डरले बालबालिकाको जन्मदर्ता गर्न नजाने गरेको इन्द्रजित मेस्तर बताउँछन्।
त्यस्तै, केहीले भारतीय नागरिकसँग विवाह गरेका छन्। बुबाको नागरिकता नहुँदा उनीहरूका सन्तानको पनि जन्मदर्ता भएको छैन।
यस बस्तीमा सबैभन्दा धेरै पढेका राहुल मेस्तर हुन्। उनले कक्षा ८ पढेका छन्। १४ वर्षको हुँदा उनका बुबाको मृत्यु भयो। त्यसपछि परिवारको जिम्मेवारीले गर्दा उनले पढ्न पाएनन्। “मलाई आर्मी बनेर देशको सेवा गर्ने मन थियो तर सकिनँ,” आँखाभरिका आँसु लुकाउन खोज्दै राहुल भन्छन्।
उनलाई सैनिक बन्न के गर्नुपर्छ भन्ने त थाहा छैन तर पैसा चाहिन्छ भन्ने चाहिं थाहा छ। “उमेर त गएको छैन तर जुनै जागीर खानलाई पनि पैसा चाहिन्छ। मसँग पैसा छैन। कसरी बन्नु आर्मी,” थाकेको स्वरमा राहुल भन्छन्।
अहिले त राहुलले सैनिक बन्ने सपना पनि बिर्सिसके। अब आफ्नै जग्गामा एउटा घर बनाउने ठूलो सपना छ उनको।
अहिले विद्यालयको गाडीमा सहचालक छन्। बिहान ८ बजे काममा गएर १० बजे फर्किन्छन्। अनि फेरि अपराह्न २:३० बजे गएर ४ बजे फर्किन्छन्। उनका भाइले पनि पढ्न पाएनन्। भाइ फर्निचरमा मजदूरी गर्छन्। यसरी मजदूरी गरेर उनीहरूलाई खान र लाउन मात्र पुगेको छ। घर बनाउने सपना साकार हुने छाँट छैन।
रेलले उठिबास लगाउने त्रास
जयनगरबाट जनकपुर रेल पुग्दा जनकपुरवासी जसरी खुशी भए, मेस्तर बस्तीका बासिन्दा त्यसरी खुशी हुन पाएनन्। बरु जुन दिन जनकपुरमा रेल चल्न थाल्यो त्यही दिनदेखि यस बस्तीका मेस्तरहरूको मनमा पनि डरको हुरी चल्न थाल्यो, कति वेला रेल्वेले धपाउँछ भनेर।
यो बस्ती रेल्वेको जग्गामा छ। रेल चलेपछि उनीहरूलाई उठाउने चर्चा शुरू भएको छ। “अब रेल्वेले उठाउँछ भन्ने सुन्न थालेदेखि कहाँ जाने होला भन्ने चिन्ता थपिएको छ,” रामपरी मेस्तर भन्छिन्।
उनीहरू करीब ६० वर्षअघिदेखि यहाँ बसोबास गर्दै आएका छन्। पहिले धनुषास्थित नेपाल-भारतको सीमा क्षेत्रमा सरकारी जग्गामा बसोबास गर्थे। केही गुठीको जग्गामा पनि बसेका थिए। पछि सरसफाइको काम खोज्दै जमीनदारकहाँ पुगे। जमीनदारले उनीहरूलाई सार्वजनिक जग्गामा बसाले। पछि त्यो सार्वजनिक जग्गा रेल्वेको भयो।
बाजेबराजुको पालादेखि यहीं बस्दै आएको अनिता सुनाउँछिन्। बस्दै गरेको ठाउँ छोड्नुपरेमा कहाँ जाने टुंगो छैन? “जिनगीभर स अते रहलछि आब कत जेबे (जिन्दगीभर यहीं बसेका छौं, अब कता जाने?),” भय र आक्रोशमिश्रित स्वरमा अनिता भन्छिन्।
अनिताको जस्तै चिन्ता गीतालाई पनि छ। वर्षौंदेखि ओत लागेको ठाउँबाट कहाँ जाने भन्ने ठेगान छैन। “यो ठाउँ छोडेर जान मन छैन, रेल्वेले हटाउने भनेको छ,” गीता भन्छिन्, “बिहान-बेलुकाको खानेकुराको जोहो गर्नु कि अर्को ठाउँमा बस्ने व्यवस्था मिलाउनु?”
याे चिन्ता मेस्तर बस्तीका सबै मानिसमा भेटिन्छ। मेस्तर समुदायका अगुवा इन्द्रजित मेस्तर भन्छन्, “आफ्नो बस्ने ठाउँ भइदिए यो ठाउँमा को बस्थ्यो होला र?”
नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक निरञ्जन झा जग्गा खाली गराइने बताउँछन्। “रेल्वेलाई नै जग्गा अपुग भएकाले मेस्तर समुदायले बस्दै आएको जमीन खाली गराउनुपर्ने भएको छ,” उनी भन्छन्, “अव्यवस्थित तथा भूमिहीनका लागि सरकारले जग्गाको व्यवस्था गर्नुपर्ने हो। हामी केही गर्न सक्दैनौं। तर काेही पनि भूमिहीन नहोस् भन्ने हाम्राे चाहना हो।”
वडाध्यक्ष देवनारायण साह वर्षौंदेखि बस्दै आएको भए पनि रेल्वेको जग्गा भएकाले मेस्तर समुदायले यो जग्गा छोड्नुपर्ने बताउँछन्। रेल्वेको जग्गा भएकाले स्थानीय सरकारले केही गर्न नसक्ने उनको भनाइ छ।
यस विषयमा जनकपुर उपमहानगरपालिकाका मेयर मनोजकुमार साहसँग कुरा गर्न धेरै प्रयास गर्यौं तर उनी यस विषयमा बोल्न चाहेनन्। उपमेयर किशाेरी साहलाई पनि धेरै पटक सम्पर्क गर्यौं तर उनी पनि पन्छिइन्।
उपमहानगरका सूचना अधिकारी उमाशंकर मल्लिक मेस्तर बस्तीको कुरा सुन्ने बित्तिकै आक्राेशित भए। “अर्काको स्वामित्व भएको जग्गामा कोही पनि बस्न पाउँदैन। उनीहरूको वासको व्यवस्था गर्ने काम उपमहानगरको होइन। पहिलेदेखि बसेकाहरूले साेच्नु पर्दैन आफ्ना लागि?” उनले उल्टै प्रश्न गरे।
यसबाट यो बस्तीप्रति जनप्रतिनिधिले गरेको बेवास्ता झल्किन्छ।
आधारभूत आवश्यकता पूरा गर्न पाउनु माैलिक हक हाे। एक समुदायको पीडामा अर्को समुदाय वा मानिसको समानुभुति राख्नु मानवीय दायित्व पनि भएकाे जनकपुरमा बस्दै आएका समाजशास्त्री अजयकुमार यादव बताउँछन्।
“हामीलाई विकास पनि चाहिन्छ र नागरिक पनि चाहिन्छन्। नागरिकभन्दा ठूलाे विकास हाेइन तर फेरि विकास नभए हामी ढुंगे युगमा पुग्छाैं। त्यसैले विकास गर्दा नागरिकको अधिकारलाई ध्यानमा राख्न जरुरी छ,” समाजशास्त्री यादव भन्छन्, “हुन त विकास गर्दा केही न केही विनाश हुन्छ नै तर नागरिकको अधिकारलाई राज्यले बेवास्ता गर्न मिल्दैन।” रेलकाे विकास गर्दा त्यहाँका बासिन्दालाई बस्ने ठाउँको व्यवस्था राज्यले गर्नुपर्ने उनी बताउँछन्।
वर्षाैंदेखि बसिरहेकाे मेस्तर बस्तीमा कसैको ध्यान नगएकाे स्थानीय सञ्चारकर्मी रिंकु मिश्र बताउँछिन्। “विकास त हुनुपर्छ तर कुनै पनि समुदायले दु:ख पाउनु भएन। उनीहरूको वासको व्यवस्था गर्न राज्य चुक्नु हुँदैन,” उनी भन्छिन्, “घर घरमा सिंहदरबार आएका वेला उनीहरू घरबारविहीन हुनु भएन।”