कावासोतीमा चरा महोत्सव
नवलपरासी (बर्दघाट-सुस्ता पूर्व)को कावासोतीमा शुक्रबारबाट शुरू भएको दोस्रो चरा महोत्सव आज समापन हुँदै छ।
जटायु रेस्टुराँ क्षेत्रमा आयोजित तीनदिने महोत्सवमा चराविद् तथा चराप्रेमीहरू सहभागी छन्। महोत्सवमा चराका उत्कृष्ट तस्वीरहरू समेत प्रदर्शन गरिएको थियो। यस्तै, नेचर गाइडको तालीम, प्यानल छलफल, गोष्ठी, पुरस्कार वितरण, सांस्कृतिक कार्यक्रम लगायत पनि महोत्सवका आकर्षण थिए।
“सर्वसाधारणलाई चरा संरक्षणको सन्देश दिन यस्ता कार्यक्रम महत्त्वपूर्ण हुन्छन्,” संरक्षणकर्मी राजु आचार्यले भने, “चरा जोगाउनुपर्छ र पर्यावरणीय अवस्थालाई नबिगारीकन विकास निर्माणका काम अघि बढाउनुपर्छ भन्ने सन्देश दिन यस्ता कार्यक्रम सहयोगी हुन्छन्।”
विभिन्न स्थानका मानिसलाई उत्साहित र प्रोत्साहित गर्न पनि यस्तो महोत्सवले सहयोग गर्ने प्रकृति संरक्षण र पर्यापर्यटनको क्षेत्रमा लामो समयदेखि सक्रिय टीकाराम गिरीले बताए। कार्यक्रममा सहभागी फ्रेन्ड अफ नेचरका सुमन सापकोटाले आकर्षक प्राकृतिक वातावरणमा व्यवस्थित प्रदर्शनी भएको देखेर आफू मन्त्रमुग्ध भएको बताए।
वरिष्ठ चराविद् हेमसागर बरालले प्लास्टिकमुक्त वातावरणमा गरिएको प्रदर्शनीले प्रकृतिमैत्री क्रियाकलाप गर्न सकिने सशक्त सन्देश दिएको बताए।
“महोत्सवमा चरा तथा संरक्षणको क्षेत्रमा काम गर्ने पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका साथीहरूसँग भेट हुने मौका पाएका छौं,” संरक्षणकर्मी हठन चौधरीले भने, “यस्तो राम्रो प्राकृतिक स्थानमा अनुभव सुन्ने-सुनाउने मौका पनि पाइएको छ।”
यसअघिको चरा महोत्सव पोखरामा २०७६ असारमा आयोजना गरिएको थियो। त्यसपछि कोभिड-१९ महामारीका कारण महोत्सव हुन पाएको थिएन।