उजाडिए खर्क, हराए भेडीगोठ
जलवायु परिवर्तनले चरन क्षेत्र मासिंदा र भेडापालनमा युवा पुस्ताको आकर्षण नहुँदा लेकाली खर्कमा भेडीगोठ देखिन छाडेका छन्।
वरिपरि हिउँले खाएका थुम्का। मैदान र पाखामा सुकेर अख्रक्क परेका घाँस। उजाड-उराठ मौसम। पुस पहिलो साता ठ्याक्कै यस्तै देखिन्थ्यो, रुकुम पूर्वको भूमे गाउँपालिका-१, माःखर्क। वरिपरिका चुंग्री र रिघा लेक पनि फरक छैनन्।
समुद्री सतहदेखि तीन हजार ७२० मिटर उचाइको यो भेगमा बाहिरी मानिस विरलै पुग्छन्। पुग्छन् त केही भेडा र तिनका गोठाला। गर्मी याममा भेडालाई शीतलतासँगै हरियाली दिने यी लेकाली खर्कमा दुई दशकअघिसम्म पनि लुगुम गाउँका प्रत्येक घरका गोठ छुट्दैनथे। भेडापालक किसानको आधा वर्ष यहीं बित्थ्यो। अहिले भेडासँगै गोठ पनि पातलिएका छन्। खर्कको रौनक हराउँदो छ।
भेडीगोठ परम्परा धानिरहेकामध्ये एक हुन्, रस्सा गुरुङ। यिनै खर्कमा लडीबुडी गर्दै ६ दशक बिताइसकेका उनी भन्छन्, “म त आमाको बुई चढेर खर्क आउन थालेको रे! पढ्ने भन्ने कहाँ थियो र त्यस वेला! बा-आमालाई सघाउन भनेर सानैमा भेडासँग हिंडियो।”
गर्मी बढेपछि लेकतिर गोठ सार्ने भेडापालकहरू चिसो चढेपछि बेंसीतिर झर्छन्। रस्साले पनि पुस दोस्रो साता बेंसीतर्फ तीन हजार १०० मिटर उचाइमा गोठ झारिसके। उनी गर्मी छल्न वैशाखतिर खर्क उक्लिएका थिए।
रस्साले यी खर्कका कुनाकाप्चा सबै चहारेका छन्। उनले नदेखेका रूख र नटेकेका ढुंगा शायदै होलान्। कुनै वेला उनलाई यी खर्क आफ्नै भेडाका लागि बने जस्तो लाग्थ्यो। बेंसीमा जस्तो खतरा थिएन। न कसैको बालीमा जाने न त सामुदायिक वनमा पस्ने डर। स्वतन्त्र भएर भेडा छाड्न पाइन्थ्यो।
अहिले उनलाई खर्क असुरक्षित भए झैं लाग्छ। पारिका सेताम्मे सिस्ने र धौलागिरि हिमाल कालाम्मे भएर रिसाए झैं छन्। सुरक्षित ठानिएको लेकाली खर्कमै एकपछि अर्को भेडा मरिरहेछन्। चरन क्षेत्र पहिले जस्तो छैन, घाँस मासिंदै छ। त्यसैले त चार वर्षअघि ३०० जति रहेको भेडाको संख्या १५० मा झरेको छ।
रस्साका अनुसार अहिले वर्षमा ४०-५० वटासम्म भेडा मर्छन्। यसमा विभिन्न कारण छन्। “धेरैजसो विषालु घाँस खाएर मर्छन् त केही लडेर मर्छन्। केहीलाई बाघ-भालुले खान्छ,” उनी भन्छन्।
रस्साले प्रत्यक्ष अनुभव गरेको कुरा, अहिले समयमा घाँस उम्रिंदैन। कहिले चैतमा पानी परेर छिटो पलाउँछ त कहिले ढिला पानी परेर असारसम्म पनि पलाउँदैन। हिमपातको चक्र पनि उस्तै अनियमित बनेको छ।
अर्कातिर नयाँ नयाँ घाँस देखिन थालेका छन्। ती भेडाले खान मिल्ने हुन्/होइनन्, छुट्याउन मुश्किल पर्दै छ। उनी भन्छन्, “पहिले कम पाइने विषालु घाँस अहिले धेरै देखिन थालेको छ। केही घाँसले त भेडा मरिजान्छ। विषालु घाँसले ढाक्दा अन्य पोषिलो घाँस उम्रन छाडेको छ।” उनका अनुसार भेडालाई असर गर्ने निङ, मारङे, पिनप, छिट्टु, छेरुवा जस्ता विषालु घाँस बढी उम्रँदै छन्। विषालु घाँस बेंसीसम्मै फैलिइसकेका छन्।
४३ वर्षीय जोरे पुन पनि खर्कमा आएको परिवर्तनका साक्षी हुन्। बाबुबाजेकै पेशा धानिरहेका उनी हाँस्दै भन्छन्, “पढ्ने वेला यता आइयो। अहिले दुःख पाइएको छ।” जोरेसँग २५० जति भेडा छन्। केही वर्षअघिसम्म ३५० वटा थिए। चरन क्षेत्र घट्दै गएपछि भेडाको संख्या पनि घटाउँदै लगेको बताउँछन्।
रुकुम पूर्वमा धेरै भेडा पालन हुने गाउँ हो, लुगुम। अहिले यहाँका धेरै किसानले भेडा पाल्न छाडिसके।
लुगुममा २०५२ सालमा करीब ४०० घरधुरी थिए। करीब २०० घरपरिवारको भेडीगोठ थियो। अहिले घरधुरी संख्या साढे ५०० पुगेको छ। घरधुरी बढे पनि भेडा पाल्नेको संख्या अहिले ३५-४० मात्र रहेको भूमे गाउँपालिका-१ का वडाध्यक्ष मनकाजी पुन बताउँछन्। गाउँपालिकाको तथ्यांकले त अझ वडामा १० घरधुरी मात्र व्यावसायिक भेडापालनमा संलग्न देखाउँछ।
वडाध्यक्ष पुन खर्कहरू पछिल्ला दिन वातावरणीय रूपमै भेडापालनका निम्ति प्रतिकूल हुँदै गएको सुनाउँछन्। तर उनी यो पेशा घट्नुमा वैदेशिक रोजगारीको आकर्षण र अन्य सजिला पेशामा बढ्दो पहुँचलाई पनि कारण मान्छन्।
घट्दो आकर्षण
रुकुम पूर्व लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला हो। भूमे, सिस्ने र पुथा-उत्तरगंगा गाउँपालिकाका प्रायः घरमा अहिले पनि धेरथोर भेडा भेटिन्छन्। मगर जातिको बाहुल्य रहेको यस क्षेत्रमा विशेष गरी भूमे पर्वमा साँरा (भाले भेडा)को बलि दिने चलन छ। पहिले घर घरमै भेडाको ऊनबाट राडीपाखी, घुम बनाउने गरिन्थ्यो।
पछिल्लो समय जिल्लाभरि नै भेडाको संख्या घट्दो छ। रैथाने पेशा संकटमा परेको छ। अन्य क्षेत्रमा देखिएको विकास र आधुनिकता कृषि, पशुपालनमा नदेखिंदा यी पेशामा लाग्ने मान्छे घट्दै गएका छन्। अर्कातिर आम्दानीका अरू सजिला विकल्प उपलब्ध हुँदै छन्। युवा पुस्ता त्यतै आकर्षित हुन थालेको छ।
लुगुमकै दिलचन पुन मगरले पनि तीन वर्षअघिसम्म भेडापालनको पुर्ख्यौली पेशा धान्दै आएका थिए। उनको गोठमा २०० जति भेडा थिए। यससँगै अन्य पेशामा पनि हात हाले। अहिले उनी भेडापालन पूरै छाडेर रुकुम पूर्वको पर्यटन प्रवर्द्धनमा लागेका छन्। दिलचन भन्छन्, “भेडापालनमा आधुनिकीकरण हुन सकेन। धेरै दुःख गरेर कम आम्दानी हुने भयो। त्यसपछि पेशा नै छाडियो।”
रस्साले अहिलेसम्म भेडा बिक्रीबाटै परिवार धानिरहेछन्। यसैको आम्दानीले छोराछोरी पढाउँछन्। वार्षिक तीनदेखि चार लाखसम्म कमाइ हुने बताउँछन्। तर छोराछोरीको रुचि यो पेशामा छैन। “हामीले यही पेशा बाहेक केही जानेनौं। छोराछोरी यसलाई दुःख मान्छन्, आउनै चाहँदैनन्,” उनी भन्छन्।
जोरे पनि भेडापालन घट्नुमा नयाँ पुस्ताले चासो नदेखाउनुलाई एउटा कारण मान्छन्। उनी भन्छन्, “सबै विदेश जान थाले। पढ्ने चलन भयो। यहाँ दुःख बढी हुने हुनाले पनि हो।”
अन्य जिल्लामा जस्तै रुकुम पूर्वमा पनि युवा विदेशिने क्रम बढेको छ। अवैध बाटो अमेरिका जाने र जान खोज्नेको जमात पनि सानो छैन। कोही खाडी पुगेका छन्। “भेडापालनमा बढी दुःख हुने भएकाले नयाँ पुस्ता यो पेशा अपनाउनुभन्दा विदेश जान थाल्यो,” वडाध्यक्ष मनकाजी भन्छन्।
अहिले रुकुम पूर्वमा कुल भेडाको संख्या २१ हजार ५१२ रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको पशु शाखाको तथ्यांक छ। यसअघि त्यहाँ कति भेडा थिए भन्ने तथ्यांक चाहिं कसैसँग छैन।
भेडापालन रुकुम पूर्व जस्तै देशका अन्य हिमाली जिल्लामा पनि हुने गर्छ। तर पछिल्लो समय देशभर नै भेडापालन घट्दो क्रममा छ। शाखाका अनुसार आर्थिक वर्ष २०७७/७८ मा देशभर सात लाख ९३ हजार ७२५ वटा भेडा रहेकामा आर्थिक वर्ष २०७८/७९ मा सात लाख ७१ हजार २०५ मा झरेको छ।
भेडापालन घट्दा भेडाको मासु, ऊनको उत्पादनमा पनि कमी आएको छ। पशु शाखाका अनुसार आर्थिक वर्ष २०७७/७८ मा भेडाको मासु देशभर दुई हजार ९६४ मेट्रिक टन उत्पादन भएकोमा आर्थिक वर्ष २०७८/७९ मा ८४ मेट्रिक टनले घटेको छ। यस्तै, आर्थिक वर्ष २०७७/७८ मा पाँच लाख ८४ हजार केजी ऊन उत्पादन भएकोमा आर्थिक वर्ष २०७८/७९ पाँच लाख ६७ हजार ४१२ मा झरेको छ। भेडाको ऊन राडीपाखी, कम्बल, ज्याकेट आदि बनाउन प्रयोग हुन्छ।
अस्वाभाविक फेरबदल
विश्वव्यापी रूपमै देखिएको जलवायु परिवर्तनबाट उच्च हिमाली भेग बढी प्रभावित छ। हिमाली खर्क पनि अछुता छैनन्। जलवायुविज्ञ ङमिन्द्र दाहाल जलवायु परिवर्तनले विश्वको औसत तापक्रम बढ्दा किसान प्रत्यक्ष प्रभावित भइरहेको बताउँछन्। उनका अनुसार यस्तो मौसमी फेरबदलले खर्कहरूमा स्वाभाविक रूपले पहिलेका घाँस हराउँदै नयाँ नयाँ प्रजाति उम्रन सक्छन्। जलवायु परिवर्तनकै कारण पानी कहिले ढिलो त कहिले छिटो पर्ने, हिउँदे झरी कम हुने समस्या निम्तिरहेछन्।
दाहाल तापक्रममा आएको परिवर्तनले पोषिलो घाँस ह्रास हुने र विषालु घाँस बढ्न सक्ने भन्दै यसबारे थप अध्ययन गर्नुपर्ने सुझाउँछन्। “समयमा पानी नपर्दा खडेरी परेको छ। हिउँ नपर्दा हजारौं वर्षदेखिको जैविक विविधतामा असर पुगेको छ,” उनी भन्छन्, “त्यसको असर भेडापालकमा परिरहेको हुन सक्छ।” दाहालका अनुसार रूखबिरुवा उम्रने, टुसाउने, फुल्ने, फल्ने तालिकामा समेत असन्तुलन देखिंदै आएको छ।
वनस्पतिविद् भक्तबहादुर रास्कोटी पनि जलवायु परिवर्तनले उच्च क्षेत्रमा उम्रने घाँसहरूमा केही परिवर्तन भएको बताउँछन्। तर विषालु घाँस बढेको हो/होइन भन्नेमा अध्ययन हुनुपर्नेमा जोड दिन्छन्। उनी भन्छन्, “जलवायु परिवर्तनले तराई क्षेत्रका घाँस पहाडमा अनि पहाडका घाँस अन्य क्षेत्रमा उम्रन थालेको पाइन्छ।”
- यो रिपोर्ट क्लाइमेट च्याम्पियन एक्शन नेटवर्क अन्तर्गत ‘कम्युनिकेटिङ क्लाइमेट’ कार्यक्रमको सहयोगमा तयार पारिएको हो।