नेपालले जित्यो एकदिवसीय शृंखला
एक खेल बाँकी छँदै नेपालले क्यानडासँगको एकदिवसीय शृंखला जितेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो एकदिवसीय खेल नेपालले चार विकेटले जितेको हो। क्यानडाले दिएको २८६ रनको लक्ष्य नेपालले ४५.१ ओभरमा पूरा गरेको छ।
नेपालका लागि रोहित पौडेलले ८६, देव खनालले ७६, अनिल साहले ५०, भीम सार्कीले २३ र पवन सर्राफले १४ रन बनाए।
क्यानडाका लागि हर्ष ठाकुर र ईश्वरज्वत सोनीले दुई-दुई, साद विन जाफर र दिलप्रीत बज्वाले एक-एक विकेट लिए।
यसअघि ब्याटिङ गरेको क्यानडाले नौ विकेटको क्षतिमा २८५ रन बनाएको हो। क्यानडाका लागि आरोन जोनसनले ६५, नवनीत धलिवालले ४६, श्रेयस मोभ्वाले ४० र प्रगत सिंहले ३८ रन बनाए।
नेपालका लागि कुशल मल्ल र रोहित पौडेलले दुई-दुई तथा सोमपाल कामी, सूर्य तामाङ, आकाश चन्द र पवन सर्राफले एक-एक विकेट लिए।
यो जितसँगै नेपालले शृंखला जितेको छ। यसअघि बिहीबार भएको पहिलो खेल सात रनले जितेको थियो।