सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कारबाट सुप्रिम पुरस्कृत
सरुभक्त केन्द्रद्वारा स्थापित ‘सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार २०८०’ बाट बाल गायक सुप्रिम मल्ल ठकुरी पुरस्कृत भएका छन्।
पोखरामा शनिबार आयोजित कार्यक्रममा शिक्षाविद् जर्ज जोन र सरुभक्त श्रेष्ठले सुप्रिमलाई पुरस्कार प्रदान गरेका हुन्। ठकुरीलाई ५० हजार रुपैयाँ नगद सहित सम्मानपत्र प्रदान गरिएको छ।
साहित्यकार सरुभक्तले नेपालमा हुने सम्मान अधिकांश ठूला व्यक्तिका लागि स्थापना गरिएको भए पनि प्रेरणा, प्रोत्साहनको आवश्यकता सबैभन्दा बढी बालबालिकालाई रहेको सुनाए। बालबालिकाका प्रतिभालाई प्रोत्साहन गर्न पुरस्कारको स्थापना गरिएको उनले बताए।
बाजुराको हिमाली गाउँपालिका-६ का ११ वर्षीय मल्ल सानै उमेरमा गीतसंगीतको क्षेत्रमा क्रियाशील छन्। द भोइस किड्सको दोस्रो संस्करणबाट चर्चा कमाएका उनले अहिलेसम्म १९० वटा गीत गाइसकेका छन्।
उनको स्वरमा विशेषतः लोकभाका, चलचित्रका गीत, आधुनिक, देशभक्ति, बालगीतसँगै देउडा, ठाडो भाका, गजल, सालैजो, नेवारी भाका, लिम्बू, पूर्वेली भाका, किराती भाकाका गीत रेकर्ड भइसकेका छन्।
कवि तीर्थ श्रेष्ठले बालबालिकालाई फक्रन जग बलियो हुनुपर्ने सुनाउँदै सुप्रिमको परिवारको जग बलियो भएको सुनाए। साहित्यकार उषा शेरचनले बालसखा सरुभक्त र उनका परिवारबारे प्रशंसा गर्दै शुभकामना दिइन्। वरिष्ठ लोकगायिका हरिदेवी कोइरालाले आफू ११ वर्ष उमेरको हुँदाको सम्झना गर्दै पहिलेको लुकीलुकी गाउनुपर्ने समयको सम्झना गरिन्।
अध्यक्ष श्रेष्ठले सरुभक्त केन्द्रलाई औपचारिक रूपमा शुरुआत गरेर पहिलो कार्यक्रमबाट बाल गायक सुप्रिमलाई सम्मान गर्न पाएकोमा खुशी व्यक्त गरे।
केन्द्रकी सदस्य कवि सरस्वती प्रतीक्षाको संयोजकत्वमा गठित पाँच सदस्यीय पुरस्कार छनोट समितिले मल्लको नाम छनोट गरेको थियो।
साहित्यकार सरुभक्तले आफ्ना स्वर्गीय बुबा गणेशबहादुर श्रेष्ठ र आमा लक्ष्मीमाया श्रेष्ठको स्मृतिमा थप ११ लाख ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरेर पुरस्कारको स्थापना गरेका हुन्। विभिन्न क्षेत्रमा विशिष्ट प्रतिभा हासिल गरेका १६ वर्षमुनिका बालबालिकालाई सम्मान र प्रोत्साहन गर्ने हेतुले साहित्यकार सरुभक्तले २०५६ सालमा पुरस्कारको स्थापना गरेका थिए।