रूसी सेनामा भर्ती भएका १४० युवालाई फिर्ता ल्याउन परिवारले दिए निवेदन
पछिल्लो समय रूसी सेनामा भर्ना भएका नेपाली नागरिकको मृत्यु र घाइते भएको सूचना सार्वजनिक हुन थालेपछि आफन्तले उद्धारका लागि आग्रह गर्ने गरेका छन्।
परराष्ट्र मन्त्रालयको पछिल्लो जानकारी अनुसार रूसी सेनामा भर्ना भएकामध्ये हालसम्म १२ नेपाली युवाको मृत्यु भएको छ भने पाँच जना युक्रेनी सेनाको कब्जामा छन्। यसैगरी कन्सुलर सेवा विभागमा करीब १४० जनाका परिवारले उद्धारका लागि आवेदन दिएका छन्। यस बाहेक केकति संख्यामा नेपाली नागरिक रूसी सेनामा भर्ना भएका छन् तथा युद्धका क्रममा कति घाइते भए वा हराए भन्ने यथार्थपरक विवरण छैन।
मन्त्रालयले हालसम्म गोरखाका सन्दीप थपलिया, कपिलवस्तुका रूपक कार्की, कास्कीका देवान राई, स्याङ्जाका पितम कार्की, दोलखाका राजकुमार रोका, इलामका गंगाराज मोक्तान, कुन्दनसिंह नागल, स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरबहादुर शाह र धादिङका राजकुमार गिरीको रूसी सेनामा कार्यरत रहँदा मृत्यु भए जनाएको छ। यसैगरी रूस सरकारबाट आधिकारिक जानकारी प्राप्त नभए पनि पछिल्लो समय थप दुई नेपालीको मृत्यु भएको सम्बन्धमा परिवारजनले मन्त्रालयमा जानकारी गराएका छन्।
त्यस्तै, रूसी सेनामा कार्यरत अवस्थामा बर्दियाका विवेक खत्री, काभ्रेपलान्चोकका सिद्धार्थ ढकाल, मोरङका विकास राई र रोल्पाका प्रतीक पुनलाई युक्रेनी सेनाले बन्दी बनाएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। रूसी सेनामा कार्यरत थप एक नेपाली नागरिक युक्रेनी सेनाको कब्जामा परेको सूचना आएको मन्त्रालयले जनाएको छ।
रूसी सेनामा भर्ना हुन जाने नेपाली अधिकांश भ्रमण भिसा मार्फत खाडी मुलुकबाट त्यहाँ गएका पाइएको छ। मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले नेपाल सरकारले रूस सरकारलाई मृतकको शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गरिएको जानकारी दिए। साथै, उनले बन्दी बनाइएका नेपालीको शीघ्र रिहाइ गरी नेपाल फिर्ता पठाउन युक्रेनी सरकारलाई कूटनीतिक माध्यमबाट अनुरोध गरिएको बताए।
मन्त्रालयले नेपालीलाई रूसी सेनामा भर्ना नगर्न र कुनै नेपालीलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउन समेत रूस सरकारलाई अनुरोध गरेको छ। गत महीना युगान्डाको कम्पालामा सम्पन्न ‘नाम’ सम्मेलनमा भेट भएका रूसका सहायक विदेशमन्त्रीसँग नेपाल सरकारका प्रतिनिधिले रूसी सेनामा नेपालीलाई भर्ना रोक्न र स्वदेश फर्काउन कुरा गरेको मन्त्रालयले जनाएको छ।
नेपाली युवा रूसी सेनामा भर्ना भएको भन्ने सूचना सार्वजनिक भएपछि मन्त्रालयले गत साउन १६ गते पहिलो पटक प्रेस विज्ञप्ति मार्फत परम्परागत रूपमा रहेको सम्झौता अन्तर्गत केही मित्रराष्ट्रको राष्ट्रिय सेनामा नेपाली नागरिक भर्ना हुँदै आएकामा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिने सरकारको नीति नरहेको स्पष्ट पारेको थियो।
त्यसैगरी, मन्त्रालयले सरकारी कामकाज, रूस सरकारको छात्रवृत्ति तथा पेसा व्यवसायमा संलग्न भएकालाई बाहेक अन्य सर्वसाधारण नागरिकलाई रूस यात्रा गर्नुपरेमा परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागबाट जारी गरिने ‘नो अब्जेक्शन लेटर’ लिन अपील गरेको छ। कसैको प्रलोभनमा परी वा गलत सूचनाका आधारमा युद्धग्रस्त मुलुकको सेनामा भर्ना नहुन मन्त्रालयले अनुरोध गरेको छ।
उपरोक्त व्यवस्थालाई विस्तार गरी हाल भारत, बाङ्लादेश, श्रीलंका, संयुक्त अरब इमिरेट्स, साउदी अरब, कुवेत, कतार, ओमान र बहराइनबाट समेत रूस यात्रा गर्नुपरेमा तत् तत् देशमा रहेका नेपाली राजदूतावास तथा महावाणिज्य दूतावासहरूबाट जारी गरिने ‘एनओसी’ लिएर मात्र यात्रा गर्न मन्त्रालयले अपील गरेको छ।
नेपाल सरकारले रूसी सेनामा भर्ना भएका नेपाली नागरिकको संख्या, घाइते नेपालीको संख्या तथा उनीहरूको अवस्थाबारे रूस सरकारबाट आधिकारिक रूपमा यथाशीघ्र जानकारी गराउन स्पष्ट अडान राखे पनि हालसम्म यस सम्बन्धमा यकीन तथ्यांक प्राप्त हुन सकेको छैन। हाल परराष्ट्रमन्त्री एनपी साउद अस्ट्रेलिया र न्यूजिल्यान्डको भ्रमणमा रहेको र उनले स्वदेश फर्के लगत्तै यस विषयमा कार्यक्रम गर्ने योजना रहेको प्रवक्ता राईले जानकारी दिए।
मन्त्री साउदले काम गर्न, अध्ययन र भ्रमण भिसामा रूस गएका करीब २०० नेपाली युवा त्यहाँको सेनामा भर्ना भएको हुन सक्ने बताएका थिए। हराइरहेका र घाइते भएको भन्ने मन्त्रालयमा प्राप्त आवेदनका आधारमा त्यसभन्दा केही बढी नेपाली भर्ना भएको हुन सक्ने उनको भनाइ थियो।
पछिल्लो समय रूस–युक्रेन युद्ध चर्किंदै गएपछि र ‘रेडजोन’ मा पठाउन थालेपछि रूसी सेनामा भर्ना भएका नेपाली नागरिकले आत्तिएर आफन्त मार्फत उद्धारको याचना गर्ने गरेका छन्। यही वर्षको दशैं लगत्तै रूसी सेनामा भर्ना हुन गएका एक नेपालीका आफन्तले कहिले सम्पर्क हुने र कहिले नहुने गरेको दुखेसो पोख्दै उद्धारका लागि आग्रह गरेका छन्। -रासस