जब धनिरामको गोरु चलेन...
साँझपख धनकुमारी भान्सामा छिन्, छोरा पढिरहेको छ र धनकुमारीकी सासूआमा आँगनमा छिन्। बत्ती झ्याप्प जान्छ। अँध्यारोमा कराउँदै घर आइपुग्छन् धनकुमारीकी श्रीमान् धनिराम र उनका साथीहरू। साथमा ल्याएका छन् ट्र्याक्टर।
नाटक धनिरामको गोरुको दृश्य हो यो। खेतबारी जोत्न गोरुको सट्टा गाउँमा पहिलो पटक धनिरामले ट्र्याक्टर ल्याएका थिए। यसलाई गाउँले उत्सुकतापूर्वक नियाल्छन्। यही ट्र्याक्टरको वरपर बाँकी कथा घुम्छ।
नाटक धनिरामको गोरुले किसान र गाउँको कथालाई चित्रण गरेको छ। जसमा सामाजिक र मनोवैज्ञानिक अवस्थालाई नाटकको माध्यमबाट देखाइएको छ। केदारनाथ पौडेलद्वारा लिखित नाटक धनिरामको गोरुको निर्देशन कपिल शर्माले गरेका हुन्।
पद्माप्रेम थिएटरले माघ १८ गतेदेखि पोखरा थिएटरमा धनिरामको गोरु मञ्चन गरिरहेको छ। यसै वर्ष मात्र पोखरामा जन्मिएको पद्माप्रेम थिएटरले आफ्नो पहिलो नाटक नै धनिराम गोरुलाई बनाएको छ।
शुक्रबार नाटक हेर्न पुगेका साहित्यकार सरुभक्तले धनिरामको गोरुले नेपाली ग्रामीण भेगको कथालाई समयानुकूल रूपमा प्रस्तुत गरेको सुनाए। उनले कृषिप्रधान देशमा निम्न तथा मध्यम वर्गका किसान रहेको ग्रामीण समाजमा हुने द्वन्द्वलाई नाटकमा चित्रण गरिएको बताए ।
नाटकमा मुख्य पात्र धनिरामको भूमिकामा दिलप्रसाद गुरुङ, धनकुमारीको भूमिकामा सावित्रा पाठक र आमाको भूमिकामा ज्योति हमालले उत्कृष्ट अभिनय गरेका छन्। कलाकार विभु भुसाल, शीतला अधिकारी, सुमन कार्की, रामहरि अधिकारी, दिव्य अमृत, अर्जुन गुरुङ, पवन विक, अभिषेक भुसालले नाटकलाई थप बल दिएका छन्।
एक घण्टा १५ मिनेट लामो नाटकले दर्शकलाई बाँधेर राख्छ। यो नाटक माघ २७ गतेसम्म चल्नेछ।