सहकारीमा पैसा डुब्दा पक्षाघात, वर्ष दिनदेखि बिस्तरामा
गाँस काटेर सहकारीमा बचत गरेको ३५ लाख फिर्ता नहुने थाहा पाउने बित्तिकै ढलेका पोखराका एक वृद्ध वर्ष दिनदेखि पक्षाघात भएर थला परेका छन् भने ऋण काढेर उपचार गर्नुपरिरहेको छ।
हाजि अलि मोहम्मद र रामजानी मियाँ दम्पतीको जीवन एक वर्षदेखि दुःख, पीडा र अन्योलमा बितिरहेको छ। बुढ्यौलीमा खाँचो पर्ला भनेर बचत गरेको रकम डुबेपछि दम्पतीको आश र भरोसा धुमिलिएको छ। चारैतिर अन्धकार छाए जस्तै लाग्न थालेको छ। यो संकटको बादलले घेरेको वर्ष दिन मात्रै भएको छ, त्यसअघि भने खुशीसँग जिन्दगी बाँचिरहेका थिए।
पोखरामा मुस्लिम समुदायको बस्ती रहेको मियाँपाटनका मोहम्मदले ४० वर्षअघि पोखराको टुँडिखेलमा अलि कस्मेटिक पसल शुरू गरेका थिए। बिहान ६ बजे नै उठेर पसल पुग्थे, बेलुकी ८ बजे मात्रै घर फर्किन्थे। ६५ वर्ष पुगेका उनले जीवनको अधिकांश समय पसलमा नै बिताए।
रामजानी मियाँ श्रीमान्लाई सघाउन बिहानै पसल पुग्थिन्। दिनभर पसलमा काम गरेर साँझ मात्रै घर फर्किन्थिन्। सन्तान नभएको यो दम्पतीको सबथोक पसल र एक-अर्काको आड थियो।
पसलमा दैनिक व्यापारबाट आउने सानो रकम सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरिरहेका थिए। दैनिक जम्मा गर्दागर्दै सहकारीमा उनीहरूको ३५ लाख रुपैयाँ बचत भएको थियो। “बुढेसकालका लागि भनेर सहकारीमा जम्मा गरेका थियौं,” रामजानी सुनाउँछिन्, “कहिलेकाहीं हिसाबकिताब गर्दा यति पैसा भए त बुढेसकालमा आरामले बाँचिन्छ भन्ने सोच्थ्यौं।”
एकाएक गत वर्षको पुसमा सहकारी डुबिरहेको हल्ला चल्यो। रामजानी दम्पतीलाई पनि डर लाग्यो। दुवैले सल्लाह गरे, सहकारीबाट पैसा निकाल्ने।
बचत रकम निकाल्न मोहम्मद सूर्यदर्शन सहकारीको कार्यालय पुगे। सहकारीका कर्मचारीले पैसा नपाइने जवाफ दिए। एकाएक मोहम्मद निराश भए। क्षणभरमै खलखल्ती पसिना आयो। असिनपसिन भए लगत्तै ढले। रामजानी सम्झिन्छिन्, “निराश हुनुभएको थियो, पसिना आएर ढल्नुभयो, मणिपाल लग्यौं।”
पोखराको मणिपाल अस्पताल भर्ना गरियो। केही बेरको उपचारपछि चिकित्सकले प्यारालाइसिस भएको बताए। उनका हातखुट्टा नै चल्न छाडे। त्यसमा समस्या थपियो, दुवै मिर्गौला पनि फेलको भएको अस्पतालले बतायो।
मोहम्मदलाई १५ दिनसम्म आईसीयूमा राखियो। उनको अवस्था सन्तुलनमा त आयो तर निको भएनन्। त्यस घटनापछि उनी बिस्तरामा छन्। “हातखुट्टा चल्दैनन्, बोल्न सक्दैनन्,” रामजानी भन्छिन्, “नियमित डायलाइसिस गराइराख्नुपर्छ।”
सहकारीमा पैसा डुबेको चाल पाउने बित्तिकै संसार नै पल्टे जस्तो भएको रामजानी सुनाउँछिन्। “पैसा डुब्यो भन्ने थाहा पाउने बित्तिकै उहाँ यस्तो हुनुभयो,” उनी भन्छिन्, “सूर्यदर्शन सहकारीले यस्तो हालत बनायो, बाँच्नै गाह्रो भयो।”
रामजानीलाई सहकारीमा डुबेको पैसाभन्दा पनि श्रीमान्को चिन्ताले सताउने गरेको छ। दम्पतीले ४० वर्ष लगाएर पैसा जोडेका थिए। त्यो पैसासँगै थपिएको पीडा सहिनसक्नु भएको उनी सुनाउँछिन्। “पैसा डुबे नि मान्छेलाई केही नभइदिएको भए आँट आउँथ्यो। मान्छे यस्तो भइदियो, कति पीडा छ,” उनी भन्छिन्।
त्यसो त रामजानी पनि उच्च रक्तचाप र मधुमेहबाट पीडित छिन्। आफैं पनि दबाई खाँदै आएकी छन्। झन् पछिल्लो एक वर्षयता त बिस्तरामा रहेका श्रीमान्को हेरचाहमै दिन बित्छ। “हप्ताको दुईदेखि तीन पटकसम्म डायलाइसिसका लागि अस्पताल लैजानुपर्छ,” उनी दुखेसो गर्छिन्।
टुँडिखेलको अलि कस्मेटिक पसल एक वर्षदेखि बन्द छ। रामजानीलाई पसल जाने फुर्सद छैन। “श्रीमान्को हेरचाह गर्नु कि पसल खोल्नु?” उनी आफैंलाई प्रश्न गर्छिन्।
पसलको मायाले नै उनले बेच्न पनि सकेकी छैनन्। राम्रो ठाउँमा व्यापार हुने पसल, पुराना ग्राहक भएका कारण पसल नबेचेको उनी बताउँछिन्। पसलको भाडा भने ऋण निकालेर तिरिरहेकी छन्। श्रीमान् ठीक होलान्, सहकारीको पैसा फिर्ता पाइएला र पसल जाउँला भन्ने आश लिएकी छन्।
उनी जस्तै हजारौं बचतकर्ता पैसा फिर्ता पाउने आशमै छन्। सूर्यदर्शन सहकारीमा हाजि अलि मोहम्मद सहित १८ हजार ७०० बचतकर्ताले दैनिक गाँस काटेर रकम जम्मा गरेका थिए। उनीहरूको एक अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८९९ रुपैयाँ हिनामिना भएको छ।
बचतकर्ताले उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय, कास्कीले अनुसन्धान गरेको थियो। अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूका अनुसार अधिकांश बचतकर्ताले गाँस कटाएर रकम जम्मा गरेको पाइएको छ।
यसरी पैसा बचत गर्नेमा दैनिक मजदूरी गरेर गुजारा चलाउनेदेखि खेतपाती गर्ने साना किसानसम्म छन्। धेरैजसो साना व्यापारी छन् जसले किराना पसल चलाएर, तरकारी पसल थापेर, सडक किनारमा चिया, चाउचाउ बेचेर दैनिकी चलाउँदै आएका थिए।
तिनैमध्ये एक हुन्, सुसाना केसी। पोखराको नागढुंगा बस्दै आएकी केसी गत १० वर्षदेखि पोखराको सडकमा चटपट बेच्दै आएकी छन्। चटपट बेचेरै उनी र दुई सन्तानको जीविका चलेको थियो।
चटपट बेचेरै जम्मा भएको सानो रकम सूर्यदर्शन सहकारीमा जम्मा गराउन थालिन्। “राम्रो छ भन्ने सुनेकी थिएँ। अनि बचत भएको पैसा लगेर सूर्यदर्शनमा जम्मा गराएँ,” केसी भन्छिन्।
चटपट बेचेरै उनले सहकारीमा दुई लाख रुपैयाँ जम्मा गरेकी थिइन्। दुःखले जोडेको रकम नै फिर्ता नपाउने हो कि भन्ने चिन्ताले सताउन थालेको उनी सुनाउँछिन्। “सहकारीले पैसा दिंदैन भनेदेखि राति निद्रा पर्नै छाडेको छ,” केसी भन्छिन्।
उनी मुटुको बिरामी पनि हुन्। मुटुको भल्भको शल्यक्रिया गरेकी ५३ वर्षीया केसी पहिले जस्तो स्वस्थ महसूस नहुने गरेको बताउँछिन्। अहिले पनि दिनभर चटपटको ठेला धकेल्दै व्यापार गर्छिन्। त्यही व्यापारले साँझबिहानको छाक टर्छ।
झन् अहिले त नगर प्रहरीले लखेटिराख्छ, पोखराका सडक किनारमा व्यापार गर्न दिंदैन। “नगर प्रहरीबाट पनि भाग्दै चटपट बेच्नुपर्छ,” उनी भन्छिन्।
उनले सोचेकी थिइन्, पसल राखौंला। त्यसका लागि सहकारीमा दैनिक पैसा जम्मा गराएको सुनाउँछिन्। “सहकारीमा जम्मा भएको पैसाले एक ठाउँमा पसल खोलेर बसुँली सोचेकी थिएँ,” केसी भन्छिन्, “अहिले पैसा हातमा छैन। प्रहरीले कति वेला लखेट्ने हो? डर मान्दै बस्नुपर्छ।”
उनीहरू जस्तै साना व्यवसायीले दैनिक व्यापारबाट हुने रकम सहकारीमा बचत गरेका थिए। कतिपय सर्वसाधारणले दुखजिलो गरेर जोगाएको पैसा जम्मा गरेका थिए। सहकारीको रकम नै हिनामिना भएपछि भने बिचल्लीमा परेका छन्।
सहकारीले बिचल्लीमा पारेका बचतकर्ताको संख्या कम छैन। जिल्ला प्रहरी कार्यालय, कास्कीमा अहिले पाँच वटा सहकारी विरुद्ध उजुरी परेका छन्। जसमा सूर्यदर्शन सहकारी सहित शिव शिखर बहुउद्देश्यीय सहकारी, इमेज बचत तथा ऋण सहकारी, बलिदानी बचत तथा ऋण सहकारी र मित्रमिलन बचत तथा ऋण सहकारी छन्।
यी पाँच वटै सहकारीका करीब ३५ हजार बचतकर्ताको रकम हिनामिना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवण विक बताउँछन्। उनका अनुसार झन्डै दुई अर्ब ८३ करोड ५७ लाख रुपैयाँ फसेको छ।
सहकारीपीडितको अवस्था नाजुक रहेको सूर्यदर्शन सहकारी संघर्ष समितिका संयोजक किरण श्रेष्ठ बताउँछन्। साना व्यवसायीले सहकारीमा बचत गरेको रकम फिर्ता नहुँदा अहिले मर्कामा परेका छन्। “एकातिर सहकारीमा पैसा डुबेको छ, अर्कातिर व्यवसायमा लगानी गर्न रकम छैन,” श्रेष्ठ भन्छन्, “हजारौं बचतकर्ता बिचल्लीमा परेका छन्।”
बचतकर्ताको रकम फिर्ताको माग गर्दै पीडित आन्दोलन गरिरहेका छन्। उनीहरूले सहकारी सञ्चालक र पदाधिकारी विरुद्ध उजुरी दिएपछि प्रहरीले अनुसन्धान गर्दै आएको छ। सूर्यदर्शन सहकारीका पूर्व अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई सहित १९ जना विरुद्ध भदौ २४ मा पक्राउ पुर्जी जारी भएको थियो।
पक्राउ पुर्जी जारी भएकामध्ये पाँच जना पक्राउ परेका छन्। उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्व सदस्यहरू शिवबहादुर गुरुङ, भवीश्वर अर्याल र प्रमोद भट्टराई पक्राउ परेका छन्। मुख्य योजनाकार जीबी राई सहित १५ जना अझै फरार छन्। राई ग्यालेक्सी टेलिभिजनका अध्यक्ष पनि हुन्।
त्यस्तै, बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली रहेको इमेज सहकारीले बाग्लुङ र कास्कीमा डेढ अर्बभन्दा बढी रकम हिनामिना गरेको आरोप छ। कास्कीमा एक हजारभन्दा बढी बचतकर्ताको ६४ करोड ८८ लाख ६० हजार ४७९ रुपैयाँ हिनामिना भएको प्रहरी अनुसन्धानमा खुलेको छ।
कास्कीमा मेयर नेपाली सहित १५ जना विरुद्ध ठगी मुद्दामा पक्राउ पुर्जी जारी भएको छ। हालसम्म इमेज सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी, सदस्य विमला गुरुङ, लेखा समिति संयोजक शक्ति किसान, लेखा समिति सदस्य भूमि भण्डारी, सदस्य निशा कार्की र विष्णु पौडेल पक्राउ परेका छन्। त्यस्तै, बाग्लुङमा पनि कार्यवाहक अध्यक्ष डोरबहादुर परियार सहित ६ जनालाई पक्राउ गरिएको छ।
मेयर नेपालीले सामाजिक सञ्जाल मार्फत बचतकर्ताको रकम फिर्ता गर्ने बताउँदै आएका छन्। व्यावहारिक रूपमा सहकारीको समस्या समाधान गर्ने बताउँदै आफ्नो सम्पत्ति सार्वजनिक गरेर हिसाबमिलान गर्न तयार रहेको सुनाएका छन्। तर उनी फरार छन्।
बचतकर्ताको रकम हिनामिना गरेको अर्को सहकारी हो, शिव शिखर बहुउद्देश्यीय सहकारी। यसमा सात हजार १७० बचतकर्ताको ५४ करोड २३ लाख ८५ हजार ३६८ रुपैयाँ हिनामिना भएको छ। सञ्चालक सहित ११ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। अहिलेसम्म सञ्चालकहरू अमिसराज भण्डारी, पुष्कर मल्ल, पूर्व अध्यक्ष केदारनाथ शर्मा र व्यवस्थापक लीलानाथ गौतम पक्राउ परेका छन्।
बलिदानी बचत तथा ऋण सहकारीमा पनि ६ हजार ३४५ बचतकर्ताको १० करोड ६९ लाख ३५ हजार ८४४ बचत रकम हिनामिना भएको छ। सहकारीका १५ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। हालसम्म सञ्चालकहरू अजय श्रेष्ठ र राजन लम्साल, कोषाध्यक्ष सुवर्णमान नकर्मी र सदस्यहरू डिल्लीराम सिग्देल, लालबहादुर नेपाली र सचिना थापा पक्राउ परेका छन्।
कास्कीका बचतकर्ताको रकम हिनामिना गर्ने पाँचौं सहकारी हो, मित्रमिलन बचत तथा ऋण सहकारी। यसमा तीन हजार ४४६ बचतकर्ताको १८ करोड दुई लाख ३४ हजार ४९७ रुपैयाँ डुबेको छ। सञ्चालक सहित ३२ जना विरुद्ध पक्राउ पुर्जी जारी भएकोमा आठ जना पक्राउ परिसकेका छन्। अध्यक्ष रमण पौडेल, सदस्यहरू गोपाल खनाल, किरण अधिकारी, सूर्यबहादुर अधिकारी, राजु बराल, सहकारी रजिस्ट्रार कार्यालयका पूर्व रजिस्ट्रार उदयबहादुर पराजुली र बुद्धिसागर पौडेल पक्राउ परेका छन्।
सूर्यदर्शन सहकारीका पीडितले त सहकारीको लगानी भएका संस्था र कम्पनी विरुद्ध पनि थप उजुरी दिएका छन्। माघ २२ मा जिल्ला प्रहरी कार्यालय, कास्कीमा दिएको पूरक उजुरीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछाने, नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल क्रान्तिकारीका महासचिव दीपेश पुन र १५ कम्पनीलाई विपक्षी बनाइएको छ।
सूर्यदर्शन सहकारीका पूर्व अध्यक्ष जीबी राई ग्यालेक्सी टेलिभिजनका अध्यक्ष हुन्। सहकारीको रकम लिएर टेलिभिजनमा लगानी गरेको प्रहरी अनुसन्धानमा देखिएको छ। टेलिभिजन शुरू गर्दा सांसद लामिछाने प्रबन्ध निर्देशक थिए। त्यसकै आधारमा उनी विरुद्ध पनि उजुरी गरिएको छ। “बचतकर्ताले दिएका उजुरीमाथि अनुसन्धान भइरहेको छ, नाम आएकाहरू विरुद्ध आवश्यक अनुसन्धान गर्छौं,” डीएसपी विक भन्छन्।
सहकारीको रकम हिनामिनामा संलग्न देखिएका व्यक्ति विरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ, केहीलाई पक्राउ गरेको छ भने केही विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। उनीहरू विरुद्ध दर्ता भएका मुद्दा जिल्ला अदालत, कास्कीमा विचाराधीन छन्।
तर सहकारीमा डुबेको बचतकर्ताको रकम के हुन्छ? यसको जवाफ भने कसैसँग छैन। सूर्यदर्शन सहकारी संघर्ष समितिका संयोजक श्रेष्ठ रकम फिर्ता हुने आशमा आन्दोलन गरिरहेको बताउँछन्। “सरकारले हाम्रो रकम फिर्ता गराउँछ भन्ने आश छ,” श्रेष्ठ भन्छन्, “हजारौं बचतकर्ताको पैसा डुबेको छ, पैसा फिर्ता भएन भने संकटमा पर्छन्।”
कतिपय बचतकर्ता त रकम फिर्ता नहुने थाहा पाएदेखि नै संकटमा परिसकेका छन्। तिनैमध्ये एक हुन् मोहम्मद दम्पती। माघ २५ दिउँसो मियाँपाटनस्थित मोहम्मदको घर पुग्दा उनी ओछ्यानमा पल्टिरहेका थिए। हलचल गरेनन्।
पत्नी रामजानी छेउमै बसेर स्याहारिरहेकी थिइन्। मलिन अनुहार बनाएर बाहिरभित्र गरिन्। ओछ्यानमा पल्टिरहेका श्रीमान्लाई देखाउँदै केही बेर चूप लागिन्।
उनी सहकारीमा जम्मा गरेको रकम सरकारले फिर्ता गरिदिने आशमा छिन्। मोहम्मद थला परेदेखि पसल बन्द छ, आयआर्जन हुन सकेको छैन। झन् पछिल्लो एक वर्षयता ऋण थपिंदै गएको छ।
श्रीमान्को उपचारका लागि अरूसँग ऋण लिएर २० लाख रुपैयाँ खर्च भइसकेको उनी बताउँछिन्। “सहकारीमा जम्मा गरेको पैसा फिर्ता आएपछि ऋण तिर्न हुन्थ्यो,” रामजानी आशमिश्रित स्वरमा भन्छिन्, “सरकारले फिर्ता गराइदेला नि!”