हकी स्वभावका जनसेवी नेता
कडा मिजासका र प्रस्टवक्ता केशवकुमार बुढाथोकीले धेरैका माझमा झडंगे छवि बनाए पनि जनताका पीरमर्का सुन्दै विकासका काम गरेर लोकप्रियता कमाए।
दोस्रो संविधानसभा निर्वाचनअघि एउटा रेडियो स्टेशनले उम्मेदवार प्रमुख नेताहरूको रेडियो प्रोफाइल तयार पार्ने क्रममा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाबारे सोधिएको प्रश्नमा केशवकुमार बुढाथोकीले दिएको उत्तरको सार थियो, “जय गुरु पन्थको ऋत्तिक हो यो। बिहान चार बजे उठेर ध्यान गर्छ। त्यसले यसलाई आत्मबल दिएको छ। यो चार-पाँच घण्टाभन्दा बढी सुत्दैन, १७-१८ घन्टा खट्छ। योसँग हिंड्दा हामीलाई हैरान हुन्छ, खानै पाइँदैन। यसरी खट्न सक्ने नेता मैले अर्को देखेको छैन।”
उमेर र पार्टीमा संलग्नता दुवै हिसाबले केशवकुमारभन्दा कान्छा सिटौला त्यस वेला कांग्रेसका महामन्त्री थिए। उनको प्रगतिको विषयमा केशवले भनेका थिए, “गिरिजाबाबुले पार्टीमा आफू निकट र सिनियरहरू नपाएर वा कृपा गरेर होइन, क्षमता देखेर यसलाई प्रयोग गरेका हुन्। अरूलाई विश्वास गर्दा भित्रबाट बाहिर निस्किन पाएको छैन, ओकलिहाल्ने भए।
बेलुका भएपछि आन्द्राभुँडी टेबलमा राख्नेहरू छन् कांग्रेसमा। गिरिजाप्रसादलाई जाँडपानी, भाङधतुरो नखाने, कुरा नखोल्ने, विश्वासमा बस्ने मानिस चाहिने। अझ यो त कानून पनि जान्ने, बिहान ५ बजे बोलाउँदा ४ बजे हाजिर हुने, राति ९ बजेसम्म बस्ने। माओवादीको सवालमा गिरिजाबाबुलाई यस्तै मानिस आवश्यक थियो। कानून, तर्क, गोपनीयता सबै जानेको यसले त्यस वेला क्षमता देखाएकै हो। यो मान्छे यस कारण माथि आएको हो।”
झापामा चार दशकअघिदेखि सहकार्य गरेका यी दुई नेतालाई त्यस वेला अन्तर्घाती गूटको राजनीतिले दुई किनारमा पुर्याएको थियो। सिटौलाको कमजोर पक्षबारे केशवकुमारले भनेका थिए, “यो मान्छे न नमस्ते गर्न जान्दछ न त हात उठाउन। यसो आत्मीय व्यवहार गर्न पनि जान्दैन। योसँग हिंड्दा हामीलाई नै लाज लाग्छ। बाहिर यत्ति कोलगेट दाँत देखाएर हाँस्छ, भित्र हाँस्ने हैन। सबैले घमण्डी ठान्छन्। यसको मुख्य कमजोरी यही हो। तर के गर्नु, संगठन बनाउन यही भ्याउँछ। देशभरका कार्यकर्ता, मिडिया यसैले चिन्छ। नरम भाषण गर्छ, कसै विरुद्ध नराम्रो बोल्दैन।’
त्यस वर्षको चुनावमा दुवै नेता झापाबाट विजयी भएर संविधानसभामा आए। २०७९ साउनमा प्रकाशित संस्मरणात्मक कृति आफ्नो-आफ्नो सगरमाथामा केशवले उक्त चुनावबारे लेखेका छन्, “... कृष्ण र मैले एक अर्कालाई नचलाउने सहमति गरी चुनाव लड्यौं। सम्झौता अनुसार उनले मेरो क्षेत्रमा भाँजो नहालेपछि मैले पनि उनको क्षेत्रमा गुजगुज गरिनँ। दुवैले जित्यौं पनि। अगाडिका हाम्रा झमेला फच्चे भए।”
८० वर्षमा लम्किँदै गर्दा माघ २३ गते दिवंगत भएका केशव खास पाराका असल मानिस थिए। ‘रोटी चिल्ला मीठा, कुरा खस्रा मीठा’ भन्ने आहान उनमा लागू हुन्थ्यो। सबैका बारेमा माथि कृष्ण सिटौलाका विषयमा जसरी नै जिब्रो नचपाई बोल्थे। अलि अनौपचारिक र सहज भएपछि उनको हकी स्वभाव एकै पटकमा अनुभव गर्न सकिन्थ्यो।
दयामाया र उदारता केशवकुमारको थप विशेषता रहेको उनीसँग संगत गरेकाहरू बताउँछन्। यी कारणले उनी झापामा सधैं चर्चित र लोकप्रिय रहे। प्रशंसकहरू उनलाई ‘झापाको बाघ’ पनि भन्थे। ‘झापामा अरूले गर्न नसकेको काम बुढाथोकीले गर्छ’ भनिन्थ्यो।
जमीनदारको छोरा भएकाले उनले शुरूबाटै दार्जीलिङमा पढ्न पाए। अंग्रेजी शिक्षा र दरबारिया-घरानियाँहरूको सरसंगतबाट अंग्रेजीबाज र सुसंस्कृत बने पनि उनको सहज नेपाली अभिव्यक्तिमा ठेटपन थियो। उनी अरूलाई दोष दिंदा आफ्ना कमजोरी पनि सकार्थे। आफ्नो-आफ्नो सगरमाथा पुस्तकमा केशवले आफूलाई ‘झडंगे, सोचविचार नगरी हात चलाउने, कसैले उक्साउँदा रूख चढिहाल्ने, आफ्नै थुतुनो पीडित’ भनेका छन्।
आत्मकथा, संस्मरण या जीवनी जे नाममा भए पनि पछिल्लो दशक बजारमा आएका नेपाली किताबमध्ये धेरैजसोमा आत्मप्रशंसाको भल पाइन्छ। केशवले भने आत्मस्वीकृतिका साथ आफू संलग्न घटनाक्रमको वस्तुनिष्ठ बयान गरेका छन्।
इलामको सिन्फिरिङमा जन्मिएका केशवले माध्यमिक तहसम्म दार्जीलिङको सेन्ट जोसेफ स्कूल पढे। संयोगले त्यहाँ उनी नेपालका युवराज वीरेन्द्र र उनका भाइहरू ज्ञानेन्द्र र धीरेन्द्रसँग एकै होस्टलवासी थिए। स्कूले शिक्षा पूरा गरेपछि उनी विज्ञान पढ्न काठमाडौं आए। अमृत साइन्स क्याम्पसमा आईएस्सी दोस्रो वर्षको अंग्रेजी विषयको परीक्षा चल्दै थियो। उनी उत्तर लेखिसकेर आफ्नो ग्याङका केटाहरूलाई कराई कराई सिकाउन लागे। गार्ड बसेका शिक्षकले त्यसमा अवरोध गर्ने नै भए, जसले २० वर्षे केशवलाई चिढ्यायो। उत्तरपुस्तिका बुझाएर निस्केपछि उनले ‘एकै ब्लो’ मा गार्ड बसेका शिक्षकको दाँत झारिदिए। शिक्षक परेछन् बहालवाला अञ्चलाधीशका छोरा। उनलाई त्यही साँझ पक्राउ गरियो। सजाय तोकियो नौ महीना कैद।
जेलमा राजबन्दीहरू धेरै थिए। केशव परे पञ्चायती शासन व्यवस्थाले भर्खरै मृत्युदण्ड दिएको दुर्गानन्द झाले शेयर गरेको मेसमा। त्यहाँ उनलाई अरविन्द ठाकुर, ओमकार श्रेष्ठ लगायतले स्वागत गरे।
सुखसयलमा हुर्केका केशव शुरूमा त निकै आत्तिए। तर बानी पर्नुको विकल्प थिएन। उनको हर्कतबाट घरपरिवार आगो भएको थियो। उनले दार्जीलिङमै पनि युवराज वीरेन्द्रलाई हेप्न खोजेको भनेर भोटाङे साथीलाई पिटेका थिए। वीरेन्द्रसँग मुख लागेको भनेर अधिराजकुमार ज्ञानेन्द्रलाई पनि धकेलेका थिए। यी सब कारणले रिसाएका भिनाजु ऋषिकुमार पाण्डेले पनि बेवास्ता गरिरहेका थिए। पाण्डे त्यस बखत दरबारको नजरमा चढिसकेका सैनिक अधिकृत थिए।
समय बित्दै गयो, केशव राजनीतिक बन्दीहरूको कुरामा डुब्दै गए। राजालाई सम्मान गर्ने, राजाका छोराहरूसँग हुर्केका उनी बिस्तारै राजतन्त्रप्रति नकारात्मक बन्दै गए। संस्मरणमा उनले लेखेका छन्, “नौ महीनामा त ‘ब्रेनवास’ नै भएछु, निकै चर्का कुरा गर्ने भएछु।”
त्यसैबीच बेलायतबाट फर्केका युवराज वीरेन्द्रले केशवका भिनाजु ऋषिलाई ‘क्षेत्री कहाँ छ?’ भनी सोधेछन्। अर्को दिन ऋषिले आफ्नै दौरासुरुवालमा उनेर सालोलाई नारायणहिटीमा युवराजसामु खडा गरे।
वीरेन्द्रले ‘के भएको हो क्षेत्री दाइ?’ भनेर सोध्नासाथ केशवले भने, ‘सरकार, मबाट गल्ती भएकै हो, तर रेस्टिगेट र जेल सजाय दुवै दिए। रेस्टिगेट फुकुवा भए इमानी भएर पढ्ने थिएँ।’
तर रेस्टिगेट फुकुवा भएन। उनी घर फर्किए।
त्यस वेला झापाका विभिन्न ठाउँमा बुबा रघुवीर बुढाथोकीको जमीन, घर, कामत र राइस मिलहरू थिए। केशव बुबाआमा नभएको शनिश्चरेको घरमा गई ज्ञानी भएर कारोबार सम्हाल्न थाले। त्यसपछिको दिनमा प्रतिबन्धित राजनीतिसँगै गाउँठाउँका लागि केही गरिहाल्ने लालसामा डोरिए उनी।
बुबा रघुवीर राणाकालमै दार्जीलिङ पढेका, दरबारले समेत चिनेका, आफ्नो दौलत जोगाउन पनि राज्यसत्ताको ‘गुडबूक’ मा रहनुपर्ने जमीनदार भए पनि केशवका मामा केबी भट्टराई र दाजु फत्तेबहादुर २०१५ सालमै नेपाली कांग्रेसबाट सांसद भइसकेका थिए। उनी पनि प्रतिबन्धित कांग्रेसको राजनीतिमा लागे। मण्डले र चौपाया चोर तह लगाउने, जंगली हात्तीको बगाल धपाउने, सुकुम्बासीलाई जमीन दिलाउनेदेखि शिक्षित बेरोजगारलाई जागीर दिलाउनेसम्मको अभियानमा अगुवाइ गरे। त्यस क्रममा सालका सयौं रूख ढालेर दर्जनौं खोलानदीमा पुल बनाए। कन्काई नदीमा बहुउद्देश्यीय परियोजनाको खाका कोर्दै ‘बुढाथोकी बाँध’ बनाए।
त्यही मेसोमा गिरिजाप्रसाद कोइरालाको सम्पर्कमा आएपछि ‘पञ्चायतभित्र पसेर शक्ति आर्जन गर्न’ युवक संगठनको सभापति, प्रधानपञ्च, जिल्ला पञ्चायत सभापति हुँदै राष्ट्रिय पञ्चायत सदस्य र सहायक मन्त्री बने केशव। जलस्रोत सहायकमन्त्री रहेका वेला झापाका दर्जनौंलाई शिक्षक बनाए। १० जना राजवंशी युवकलाई पहिलो पटक शाही नेपाली सेनामा भर्ती गराए। राजाका प्रमुख सैनिक सचिव ऋषि पाण्डेका सालोको सिफारिशलाई सेनाले ‘यो राजवंशी भन्ने के जात हो हजुर’ भनी सोधेर कार्यान्वयन गर्यो। आफूले ‘राजवंशी भनेका हाम्रो झापा-मोरङका आदिवासी हुन्, जातमा चाहिं क्षेत्री हुन्’ भनेको केशवले संस्मरणमा लेखेका छन्। यस्ता कामले उनलाई लोकप्रिय बनायो, भोट बढायो।
राष्ट्रिय पञ्चायत सदस्य रहँदा केशवले चुनावमा आफूले भोट नपाउने क्षेत्रहरूमा पनि जमीन विवाद सल्टाउने, सुकुम्वासीलाई जमीनको मालिक बनाउने जस्ता काम गरेर आत्मसन्तोष लिए। उनलाई धन आर्जन गर्नु थिएन। यति लामो राजनीतिक यात्रामा आर्थिक अपचलनको आरोप खेप्नु नपरेकोमा ठूलो सन्तोष मान्दै उनले लेखेका छन्, “यो नै मेरो जीवनको उपलब्धि हो भन्ने लागेको छ।”
उनी २०७३ भदौमा संघीय मन्त्री भए। नौ महीना सामान्य प्रशासन मन्त्रालय सम्हाल्दा उनले दलहरूका कर्मचारी संगठनसँग माथापच्ची गर्नुपरेको थियो। आफूभन्दा अघिका मन्त्रीले एकाध कर्मचारीले लिएको विदेशको पीआरको मुद्दा उछालेर वाहवाही कमाएका थिए, उनले कर्मचारी समायोजनको महत्त्वपूर्ण काममा ध्यान दिए। सर्वदलीय सहमति जुटाई उच्चस्तरीय आयोग गठन र विधेयक बनाउने काम गरेर उनी बाहिरिए।
प्रोस्टेट क्यान्सरको उपचार गराइरहेका केशव पछिल्लो समय कांग्रेसका मनोनीत केन्द्रीय सदस्य थिए। केन्द्रीय समितिको पछिल्लो बैठकमा उनले पार्टीमा बढेको सिद्धान्तहीनताको खिल्ली उडाउँदै कोशीमा कांग्रेसको नेतृत्वमा गरिएको प्रदेश सरकार गठनको खरो आलोचना गरेका थिए।
झापामा उनले गरेको करीब पाँच दशक लामो राजनीति रोचक छ। दाउपेच, धोकाधडी र अन्तर्घातबाट गुज्रिए उनी। प्रजातन्त्र पुनःस्थापनापछिको पहिलो आमनिर्वाचनमा उनी नेपाली कांग्रेसभित्र ‘चिन्तक’ उपनाम पाएका सीके प्रसाईंलाई हराउने एक मात्र उद्देश्यले उम्मेदवार बने, जसमा गिरिजाप्रसाद कोइरालाको पनि समर्थन थियो। जबकि पारिवारिक नाता-सम्बन्धमा केशवका भान्जा थिए सीके।
उनले सधैं गिरिजाप्रसाद निकट रहेर काम गरे। उनको हरेक कदमका पछाडि गिरिजाको निर्देशन, सल्लाह वा इशारा हुन्थ्यो। “गिरिजाबाबुले झन्डा हल्लाइदिएपछि म बड्की हाल्थें,” उनले पुस्तकमा लेखेका पनि छन्।
केशवले गिरिजाकै सम्मतिमा २०४६ फागुनमा शासन व्यवस्था प्रतिकूल वक्तव्य दिएपछि मन्त्री पदबाट उनी बर्खास्त भए। तर कृष्णप्रसाद भट्टराई समूहका सीकेले पञ्चायत गएर बिटुलिएको भनेर पानीखेदो गरेको झोकमा उनी पूर्व पञ्चहरूको पार्टीमा पसेर २०४८ को आमचुनावमा सीकेलाई हराउन उद्यत भएका थिए।
झापामा राम्रो जनाधार बनाएका उनलाई कहिले गिरिजाप्रसाद त कहिले कृष्णप्रसाद-सीके प्रसाईं पक्षले प्रयोग गर्न खोजे। सीकेले कहिले ‘श्री ६ मामा हजुर’ भन्दै सहयोग लिएको त कहिले ‘राजनीतिक वेश्या’ भन्दै सार्वजनिक बेइज्जती गरेको उनले लेखेका छन्। कोइराला समूहबाट पनि आफूले मागेको जित्ने होइन, नमागेको हार्ने निर्वाचन क्षेत्रमा टिकट पाएको र अन्तर्घात नहुँदा मात्र जितेको उल्लेख गरेका छन्। दोस्रो पटक प्रधानमन्त्री हुँदा भने गिरिजाले उनलाई कूटनीतिमा पनि उपयोग गरेका थिए, विशेष दूतका रूपमा थिम्पु पठाएर। त्यसको उद्देश्य भूटानी शरणार्थी समस्या समाधन गर्नु थियो।
कांग्रेसका नामी समाजवादी नेता सीकेको बौद्धिकताप्रति कायल केशव उनीसँग ‘प्रेम र घृणा’ को सम्बन्धमा रहे। यी मामा-भान्जाबीच चलेको सहकार्य, हानथाप, खुराफात र घोचपेचलाई झापाको राजनीतिक दर्पण मान्न सकिन्छ।
२०३६ जेठ १० गते जनमत संग्रहको घोषणा भएपछि शनिश्चरे गाउँ पञ्चायतको प्रधानपञ्चबाट राजीनामा गरेर बहुदलको प्रचारमा हिंडेका केशव एक वर्षमा ९६ ठाउँमा ठूला आमसभा गर्न सफल भए, जुन सीके जत्तिको राजनीतिक हैसियतवाला नेताको साथ विना सम्भव थिएन। कांग्रेसी भनेपछि ज्यान जोगाएर हिंड्नुपर्ने त्यस वेला केशवको लोकप्रियता, दलबल, आँट र उस्तै पर्दा हानिहाल्ने कडा मिजासका कारण पनि त्यो सहकार्य भएको थियो। त्यस बाहेक मामाश्रीको गोजीमा हमेसा रहने पेस्तोलबारे पनि सीके अनभिज्ञ थिएनन्। त्यसले उनमा सुरक्षाभाव जगाउनु स्वाभाविक थियो।
आमसभाहरूमा रामबाबु प्रसाईं, कृष्ण सिटौला, गोपाल बस्नेत, वीरमणि ढकाल लगायत झापाली कांग्रेसीहरूलाई बोल्नै दिंदैनथे, सीके। केशवले अरूलाई पनि बोल्न दिऔं न भन्दा उनी भन्थे रे, “नरम कुरा म गरिहाल्छु, गरम कुरा मामा हजुर गरिहाल्नुहुन्छ। यिनीहरूलाई त लिएर हिंड्ने मात्र हो।”
जनमत संग्रहमा बहुदलको हारपछि भने तिनै सीकेले झापामा कांग्रेस हार्नुको एउटा कारण कुमार बुढाथोकीको गुन्डागर्दी शैली रहेको भनेर प्रतिवेदन पठाएको केशवले आफ्नो संस्मरणमा लेखेका छन्। उनले लेखेका छन्, “त्यसपछिको जिल्ला समितिमा वीरमणि ढकाललाई सचिव बनाए। मलाई त सदस्य पनि राखेनन्।”
त्यति हुँदा पनि उनले सीके जस्ता नेतालाई ३६ सालभर बोकेर हिंड्दा आफूलाई फाइदै पुगेको, जिल्लाभर सशक्त बहुदलवादी नेताका रूपमा स्थापित भएको उल्लेख गरेका छन्। हुन पनि राजनीति मार्फत मच्चाएको हंगामा, विकास र जनसेवाका कारण उनी झापामा घर घरका प्रिय भए। झापा र झापालीको हित भनेपछि कुन पार्टी, कुन निर्वाचन क्षेत्र, कुन जात नभनी उदार दिलका साथ लागिपर्ने उनको स्वभाव थियो।