थारू साहित्य सम्मेलनले हिंडेको बाटो
कीर्तिपुरको कोठाबाट शुरू भएको थारू साहित्यिक यात्रा आठौं संस्करणमा आइपुग्दा देशव्यापी त भएको छ नै, उपलब्धिमूलक पनि बनेको छ।
नौ वर्षअघि मित्र सुशील चौधरी इन्सेकको जागीरको सिलसिलामा काठमाडौं आएपछि स्वागत कार्यक्रम राख्यौं। २०७१ माघ २३ मा कीर्तिपुरस्थित मेरो डेरामा आयोजित स्वागत कार्यक्रममा थारू कविता वाचन पनि गर्यौं।
त्यसपछि मासिक रूपमा थारू कविता वाचन गर्न थालियो। कोभिड-१९ को महामारीकालमा निरन्तरता दिन नसकिए पनि २०८० पुससम्म ९७ शृंखला भइसकेको रहेछ।
हरेक महीनाको अन्तिम शनिबार कीर्तिपुरस्थित पाँगाको बरघर रेस्टुरेन्टमा चलिरहेको शृंखलालाई ठुम्रार साहित्यिक बखेरी नाम दिइएको छ। बखेरीबाट थारू साहित्यको सामयिक संकलन परगा प्रकाशन हुन्छ।
यो आलेख भने थारू साहित्य राष्ट्रिय सम्मेलनको यात्रा वृत्तान्तमा केन्द्रित छ, जसको शुरूआती आधार कीर्तिपुरको ठुम्रार साहित्यिक बखेरी थियो।
पहिचानका लागि गोरपासु
२०७२ भदौ ७ मा टीकापुरमा भएको थारू आन्दोलनकारी र प्रहरीबीचको झडपमा आठ प्रहरी र एक नाबालकको ज्यान गयो। त्यसको अर्को दिन कर्फ्यूबीच थारू समुदायका व्यक्तिको घर छानीछानी आगजनीको घटनाले सुशील र मलाई नराम्ररी हल्लायो।
त्यो दिन टीकापुरमा थारू आन्दोलनकारीको एउटै उद्देश्य थियो, टीकापुर नगरपालिकाको कार्यालयमा थरुहट स्वायत्त प्रदेशको ब्यानर टाँग्नु र कोणसभा गर्नु। तर अनावश्यक हस्तक्षेपपछि नसोचेको घटना भयो।
भाषा हराए संस्कृति हराउँछ, संस्कृति हराए पहिचान। हामीलाई लाग्यो- थारू भाषा, संस्कृतिको संरक्षण नहुँदासम्म आन्दोलनकारीले माग गरेको नाम मात्रको ‘थरुहट प्रदेश’ को औचित्य रहन्न। सुशीलसँग बिहान-बेलुकाको कैयौं कफी गफको निष्कर्षमा दशैंको छेको पारेर काठमाडौंबाट कञ्चनपुरसम्म जनमत बुझ्न थारू साहित्यिक गोरपासु (अभियान) लिएर जाने योजना बन्यो।
२०७२ दशैंको छेकोमा काठमाडौंबाट कञ्चनपुरसम्म थारू साहित्यिक गोरपासुले दाङ देउखुरी, बाँके, बर्दियासम्म पाइला टेक्दै पाँच स्थानको साहित्यिक कार्यक्रममा सहभागिता जनायो। कैलाली, कञ्चनपुरको यात्रा अपूरो रह्यो। तर अभियानको ठूलो उपलब्धि थारू साहित्यिक मेलाको परिकल्पनाले मलजल पायो।
नेपाल लिटरेचर फेस्टिभल लगायत नेपाली भाषाका साहित्यिक कार्यक्रम भइरहेका थिए। त्यस्तै, थारू साहित्यकेन्द्रित शुरूआत गर्नुपर्नेमा सबैले जोड दिए। त्यसपछि राजधानी फर्किए लगत्तै २०७२ सालबाटै प्रत्येक वर्ष थरुहट क्षेत्रका जिल्लामा थारू साहित्यिक मेला आयोजना गर्ने गृहकार्य थालियो।
सम्मेलनका आठ वर्ष
२०७२ चैतको अन्तिम साता दाङको घोराहीमा पहिलो थारू साहित्यिक मेला तय गरियो। तर विविध कारणवश सारेर २०७३ वैशाख ३ र ४ मा मात्रै भयो। घोराहीमा उद्घाटन र राजपुर गाउँमा विमर्श सत्र सञ्चालन गरिएको पहिलो थारू साहित्यिक मेलामा थारू कविता, आख्यानदेखि दाङ र कैलालीको थारू साहित्यको अवस्थाबारे पनि कार्यपत्र प्रस्तुत गरिए।
त्यस्तै, लावा डग्गर थारू साहित्यिक त्रैमासिकको यात्रा र जंग्रार साहित्यिक बखेरीको साहित्यिक अभियान, थारू भाषामा मानकताको प्रश्न गरी ६ वटा कार्यपत्र प्रस्तुत गरिएका थिए। कार्यक्रममा थारू भाषाको पहिलो पत्रिका गोचाली (२०२८) का संस्थापक महेश चौधरी र भगवती चौधरी लगायत चार जनालाई सम्मान गरियो।
यसै कार्यक्रममा थारू लेखकहरू संगठित हुनुपर्ने महसूस गरी पंक्तिकारको संयोजकत्वमा थारू लेखक संघ नेपाल गठन भयो। अहिले जिल्ला प्रशासन कार्यालय, कैलालीमा थारू लेखक संघ नेपाल दर्ता छ। यसका चार दर्जन संस्थापक सदस्यसँगै आजीवन सदस्यता लिनेहरूको चासो बढ्दो छ।
थारू साहित्यिक मेलाको दोस्रो संस्करण कैलालीको पटेला (धनगढीबाट पाँच किमी पूर्व) मा २०७३ चैत १९ र २० मा भयो। यसमा कार्यपत्र प्रस्तुतिको फर्मेट हटाएर अन्तर्संवादलाई जोड दिइयो। बोझिलो कार्यपत्रभन्दा अन्तर्संवादले सहभागीलाई बढी जाँगरिलो बनाएको महसूस भयो।
लेखनमा भर्खर पाइला चालेको थारू भाषामा मानकताको प्रश्न ज्वलन्त छ। नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले डंगौरा थारू भाषाको मानकताबारे २०७३ साउमा घोराहीमा गोष्ठी गरेको थियो। त्यसमा सहजकर्ता रहेका भाषाविद् पदम राईले थारू भाषाको मानकताबारे साहित्यिक मेलामा पनि प्रस्तुति दिए।
२०७० को दशकमा थारू भाषाको लेखनशैलीबारे निकै सार्थक बहस अघि बढेको छ। अनि विद्यालय तहमा नेपाल (नेवारी) भाषा लागू गर्नुपर्ने अभियानका अभियन्ता दीपक तुलाधरले भाषा जोगाउन थरुहट क्षेत्रको विद्यालयमा पनि थारू भाषाको अनिवार्यतामा जोड दिएका छन्। अहिले काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रका विद्यालयमा नेपाल भाषालाई अभियानकै रूपमा अघि बढाइसकेको छ भने थरुहटको विद्यालयमा थारू भाषाको पढाइको अवस्था शून्यप्रायः छ।
पहिलो वर्षको साहित्यिक मेलामा करीब एक दर्जन स्रष्टाले वर्ष दिनभित्र पुस्तक प्रकाशन गर्ने वाचा गरेका थिए। त्यो वाचाले दोस्रो वर्षमै सार्थकता पायो, ६ जना स्रष्टाको पुस्तक संयुक्त विमोचन भयो। साहित्यिक मेलामा कविता वाचन र वाचित कविताउपर समीक्षाले पनि विशेष स्थान पायो।
दोस्रो थारू साहित्यिक मेलाका लागि सरकारी, गैरसरकारी कुनै निकायबाट एक रुपैयाँ पनि सहयोग नलिई स्थानीय शुभेच्छुकको सहयोगबाट कार्यक्रम सफल भएको थियो। यो निकै उदाहरणीय अभियान थियो।
तेस्रो संस्करण २०७४ माघको पहिलो साता बर्दियाको बढैयाताल किनारमा भव्यताका साथ सम्पन्न भयो। हरि तिमिल्सिना, किरण आचार्य लगायत गैरथारू साहित्यकारले थारू भाषामै थारू लोकसंस्कृति संरक्षणको बहसमा भाग लिए।
त्यस्तै, नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्व सचिव सनत रेग्मीले थारू समुदाय भाषागत हिसाबले देशको चौथो ठूलो संख्या रहे पनि साहित्य जुन गतिमा बग्नुपर्ने हो, त्यो नभएकोमा चिन्ता व्यक्त गरेका थिए। तेस्रो संस्करणबाट थारू साहित्य मेलालाई थारू साहित्य राष्ट्रिय सम्मेलन नामकरण गरेका थियौं।
लेखनमा थारू महिला, थारू लोककथामा समालोचनात्मक दृष्टि, थारू रंगमञ्चका चुनौती, रेडियोमा थारू भाषा, स्थानीय विकासमा बरघर लगायत विषयमा गहन छलफल भयो।
सम्मेलनको पूर्व सन्ध्यामा प्रतियोगिताका लागि थारू भाषामै नाटक पठाउन आह्वान गरिएको थियो, जसमा प्रणव आकाशको ‘करोट’ नाटक उत्कृष्ट भएको थियो। त्यस्तै, १२ जना स्रष्टाको १३ वटा पुस्तक विमोचन हुनु आफ्नै मातृभाषामा लेखन अभियानको एउटा कोशेढुंगा थियो।
पहिलो संस्करणका सबै कार्यपत्र नेपाल प्रज्ञा-प्रतिष्ठानले सयपत्रीमा नेपाली र थारू भाषामा तथा लावा डग्गर पत्रिकाले थारू भाषामा प्रकाशन गरेका छन्। थारू साहित्य सम्मेलनको पहिलोदेखि तेस्रो संस्करणसम्मको दस्तावेजकीरण स्वरूप बिहान (२०७५, कात्तिक) वार्षिक पत्रिकाले विशेषांक प्रकाशित गरेर गुन लगाएको छ।
त्यसपछि चौथो थारू साहित्य राष्ट्रिय सम्मेलन २०७५ चैत २२ र २३ मा रुपन्देहीको सैनामैनामा भयो। त्यसमा थारू मानक भाषा बहसमा महेश चौधरी, डा. कृष्णप्रसाद पौड्याल र रामबहादुर चौधरीले संवाद गरे। थारू भाषाको पहिलो पत्रिका गोचालीका प्रधानसम्पादक महेश चौधरीले २०२८ सालमा प्रकाशन गरेको पत्रिकाको भाषा परिवर्तन गर्नुपर्ने आवश्यकता नरहेको जिकिर गरे। समय अनुसार थारूभाषीले बोलाइमा नेपालीकरण गर्दै गएकाले लेखाइमा नेपाली व्याकरण अनुसार थारू लेखनशैली बनाउनुपर्ने धारणा राखेका थिए।
तर डा. कृष्णप्रसाद पौड्याल र रामबहादुर चौधरीले थारू भाषा मात्रै होइन, जुनसुकै भाषा पनि बोलाइ अनुसार लेख्नुपर्ने अभिव्यक्ति दिएका थिए। ती दुवैले डंगौरा थारू भाषामा त, थ, द, ध को उच्चारण नभएकाले आगन्तुक शब्द तथा व्यक्तिको नाउँ, गाउँ बाहेक अरूमा प्रयोग नगरे पनि हुने धारणा राखेका थिए।
२०७६ सालमा सुनसरीमा गर्ने तय भएको थारू साहित्य सम्मेलन कोरोनाभाइरसको महामारीले स्थगित भयो। त्यसपछि सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको नयाँ गाउँस्थित कर्णाली थारू होमस्टेमा पाँचौं थारू साहित्य राष्ट्रिय सम्मेलन २०७७ चैत २१ र २२ मा भयो।
चौथो र पाँचौं संस्करणमा सहभागी नेपाल प्रज्ञा-प्रतिष्ठानका मातृभाषा साहित्य विभागकी प्रमुख लक्ष्मी मालीले थारू समुदायले यसखाले साहित्य सम्मेलन गरेर थारू साहित्यको संरक्षण र प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने बताएकी थिइन्।
आख्यानकारद्वय महेशविक्रम शाह र नयनराज पाण्डेसँग शेखर दहितले ‘आख्यानको ओज’ शीर्षकमा छलफल चलाएका थिए। लामो समय कैलालीको टीकापुरछेउको थारू गाउँ भगरैयामा बसाइँ भएकाले आफ्ना कथामा थारू पात्र जीवन्त भएर आएको शाहको भनाइ थियो। आफ्नो आख्यानमा मधेशी पात्र बढी आउनुमा ती पात्रहरूसँगको संगत नै कारक रहेको पाण्डेले सुनाएका थिए।
त्यस्तै, ‘थारू गीतको बाटो कता’ शीर्षकमा सुशील चौधरी, राज कुश्मी र सानु चौधरीसँग अनिल कुश्मीले संवाद गरेका थिए। थारू लोकलय हराउँदै गएकाले थारू गायकले आधुनिक गीतसँगै लोकगीतको संरक्षणमा ध्यान दिनुपर्ने निचोड थियो।
थारू भाषाको मानकीकरण विषयमा थारू व्याकरण लेखक भोलाराम चौधरी तथा कृष्णराज सर्वहारीले प्रस्तुति राखेका थिए। थारू वर्णको पहिचान भइसकेकाले थारू लवजबाट जस्तो उच्चारण हुन्छ, त्यस्तै लेखनशैली अपनाउनुपर्ने दुवैको राय थियो।
सुर्खेतमा पाँचौं थारू राष्ट्रिय साहित्य सम्मेलन भएपछि लगत्तै त्यहाँ साहित्यकार मानबहादुर पन्नाको संयोजकत्वमा लखागिन थारू साहित्य उत्थान मञ्च गठन भयो। मञ्चले पाँचौं थारू राष्ट्रिय साहित्य सम्मेलनको गतिविधि समेत समेटेर लखागिन जर्नल प्रकाशन, सख्या गीतको दस्तावेजीकरण, वृत्तचित्र निर्माणदेखि थारू पुस्तकालयको शुरूआत गरेको छ।
कञ्चनपुरको कृष्णपुर-६, सिंहपुर गाउँमा २०७८ फागुन १२ देखि १४ सम्म भएको छैटौं थारू साहित्य राष्ट्रिय सम्मेलन सुदूरपश्चिम विशेषमा थारू साहित्यबारे बहस गरियो। त्यहाँका थारू गीतसंगीत, थारू साहित्यिक पत्रकारिता, बरघर प्रणाली, थारू योद्धाको खोजी, नारी सशक्तीकरणको अवस्थाबारे चर्चा भएको थियो।
साहित्यकारद्वय शिवानीसिंह थारू र रामलाल जोशीले आख्यान यात्रामा आआफ्ना अनुभव साटेका थिए। थारूले काठमाडौंमा एक दिन उपन्यास पूर्वी मधेशको विषयमा रहेकोमा आउने उपन्यास नेपालगन्ज क्षेत्रलाई केन्द्रित गरी पश्चिम मधेशको विषयमा रहने सुनाएकी थिइन्। पश्चिम क्षेत्रको विषयमा धेरै आख्यान लेखिएकाले आफ्नो ध्यान पूर्वी क्षेत्रको विषयमा रहने जोशीको भनाइ थियो।
यसै क्रममा सातौं राष्ट्रिय थारू साहित्य सम्मेलन २०७९ माघ २० देखि २२ सम्म गोचाली समाज नेपालको सहकार्यमा बाँकेको राप्तीसोनारी गाउँपालिका-६, सिधनवामा भयो। सम्मेलनमा ६ वटा विविध विषयमा छलफल-बहस गरिएको थियो।
सम्मेलनमा ‘आख्यानमा थारू जीवन’ सेसनमा लेखक महानन्द ढकालले राज्यको केन्द्रीय भूमिकामा थारूको उपस्थिति अहिले पनि कमजोर भएको धारणा राखेका थिए। भूमिका थारूले सञ्चालन गरेको ‘थारू साहित्यमा युवा’ शीर्षकको संवादमा नाटककर्मी प्रणव आकाश, साहित्यकारद्वय सागर कुश्मी तथा गीताञ्जली पछल्डंग्या लगायतले धारणा राखेका थिए।
यस्तै, सम्मेलनको अनुसन्धाता डा. गोविन्द आचार्यले विद्वत्प्रवचन राख्दै थारू साहित्यकार सतही रचनामा रमाउनुभन्दा अध्ययन-अनुसन्धान गरेर कलम चलाउनुपर्ने धारणा राखेका थिए।
पुरस्कार तथा सम्मान
थारू लेखक संघ नेपालले २०७७ सालबाट थारू भाषा-साहित्यको श्रीवृद्धिमा योगदान गर्ने स्रष्टालाई हरेक वर्ष थारू साहित्य पुरस्कार प्रदान गर्दै आएको छ। पहिलो वर्ष ठाँह्रा कथासंग्रहका लागि कथाकार शेखर दहितलाई, २०७८ सालमा दाङदेउखुरीका गीतकार तथा गायक दोषहरण चौधरीलाई, २०७९ सालमा राना थारूको लोककथा ‘सोरठ’ का लागि लक्ष्मी राना थारूलाई पुरस्कार प्रदान गरिएको थियो।
२०७९ देखि थारू महिला प्रतिभा संघर्ष पुरस्कार शुरू गरिएको छ। यो पुरस्कार मुक्त कमलरी दाङकी मन्जिता चौधरीलाई प्रदान गरिएको छ। धनगढीका चन्द्रसिंह चौधरीले आफ्नी स्वर्गीय धर्मपत्नी प्रतिभा चौधरीको नाममा थारू लेखक संघका लागि पुरस्कार स्थापना गरिदिएका हुन्।
यस्तै, पूर्वी थारू साहित्यको संवर्द्धनमा लागेका स्रष्टा सुनसरीका रामसागर चौधरीलाई २०८० सालको थारू साहित्य पुरस्कार तथा थारू महिला प्रतिभा संघर्ष पुरस्कार बाराकी शान्ति चौधरीलाई प्रदान गरिने भएको छ। ४७ जना संघको संस्थापक सदस्य तथा आजीवन सदस्यबाट पनि पाँच हजार रुपैयाँ तथा कार्यक्रमबाट जोगाएर साढे ६ लाख रुपैयाँ पुरस्कारका लागि अक्षयकोष जम्मा गरिएको छ। यसलाई बढाउँदै लैजाने योजना छ।
शुभेच्छुकको शक्ति
थारू पुस्तक, पत्रिका प्रवर्द्धनको पाटो थारू साहित्यिक सम्मेलनको सबैभन्दा ठूलो ‘इभेन्ट’ हो। स्टेशनरी पसलमा कहिल्यै नझुन्डिने थारू पुस्तक-पत्रिका सम्मेलनको स्टलमा झुन्डिन्छ। थारू साहित्यको कुम्भमेलामा गैरथारू साहित्यकारको पनि सार्थक उपस्थिति हुन थालेको छ।
खुशीको कुरा थारू साहित्य राष्ट्रिय सम्मेलनको ज्वारभाटाले थारू भाषा साहित्य केन्द्रले काठमाडौंमा नियमित मासिक रूपमा साहित्यिक बसघरा कार्यक्रम गर्दै बसघरा वार्षिक पत्रिका पनि शुरू गरेको छ। २०४२ सालमै स्थापना भएको सुनसरीको हौली परिवारले हौली पत्रिकालाई पुनः निरन्तरता दिन थालेको छ।
हौलीका संस्थापक सचिव रामसागर चौधरी सुनसरीको खनारबाट लामो यात्रा तय गर्दै प्रत्येकजसो थारू साहित्य राष्ट्रिय सम्मेलनमा सहभागी हुँदै आएका छन्। उनले कडी जोड्दै आएकैले हौली परिवारको मूल संयोजनमा यसपालि आठौं थारू साहित्य राष्ट्रिय सम्मेलन सुनसरीको गढी-२, गढदेवथानमा २०८० माघ २६ देखि २७ गते हुँदै छ।
सुशील चौधरी, जो पंक्तिकारसँगै थारू साहित्य राष्ट्रिय सम्मेलनका सूत्रधार हुन्, उनी वर्ष दिनदेखि ‘ब्रेन ह्याम्रेज’ भएर बर्दियाको मयूरबस्ती गाउँमा थलिएका छन्। सधैं थारू साहित्य सम्मेलनको तयारी के भइरहेको छ भनेर खोजीनिती गरिरहने उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनका परिवारजनलाई सघाउन सप्रेम अनुरोध गर्छु।
थारू साहित्य राष्ट्रिय सम्मेलनलाई प्रायोजन गर्न हालसम्म कुनै व्यापारिक घराना खोज्न सकिएको छैन। गएको सम्मेलनको एक लाख रुपैयाँ ऋण तिर्नै बाँकी छ। थारू लेखक संघ नेपालको केन्द्रीय अध्यक्षको नाताले थारू साहित्य राष्ट्रिय सम्मेलनको यात्रा कठिन महसूस गरेको छु। तर धेरै शुभेच्छुकको साथले कठिन स्थितिलाई चिर्ने ताकत हरेक वर्ष बढ्दै गएको छ।