त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिने ४३ जनामध्ये १४ जनालाई प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि ‘शर्टलिस्ट’ मा छनोट गरिएको छ।
संक्षिप्त सूचीमा पर्नेहरूमा बौद्धिक चोरीको आरोप लागेका त्रिविका पूर्व उपकुलपति तीर्थ खनियाँ पनि छन्। २०७२ सालमा उपकुलपति बन्नुअघि नै टर्कीका एक भाषाविद्को कार्यपत्रको ५३ पंक्ति स्रोत नखुलाई नेपाल अंग्रेजी भाषा अध्यापक संघ (नेल्टा)को शोधपत्रमा हूबहू सारेको उनलाई आरोप छ।
यो घटना सार्वजनिक भएसँगै सेतोपाटीले टर्कीका लेखकसँग कुराकानी गर्दा उनले खनियाँबारे भनेका थिए, ‘बौद्धिक चोरी गर्ने खनियाँको नियुक्ति विश्वविद्यालयका लागि दुर्भाग्यपूर्ण हुनेछ।’
त्यस्तै, विश्वविद्यालयको दीक्षान्त समारोहमा अघिल्ला उपकुलपति हिराबहादुर महर्जनको भाषण हूबहू सारेको आरोप पनि खनियाँलाई छ। ४०औं, ४१औं र ४२औं दीक्षान्त समारोहको भाषण हूबहू मिलेका थिए। बौद्धिक चोरीको आरोप लागेका व्यक्तिले उपकुलपतिको निवेदन दिनु नै औचित्यहीन भएको शिक्षाविद्हरूले भनिरहँदा उनको नाम संक्षिप्त सूचीमा परेको छ।
यस्तै, पोखरा विश्वविद्यालयबाट नयाँ कलेजहरूलाई सम्बन्धन दिने लगायत आर्थिक क्रियाकलापमा भ्रष्टाचार गरेको आरोपमा २०७१ सालमा मुद्दा खेपेका पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति केशरजंग बराल पनि संक्षिप्त सूचीमा परेका छन्। पूर्व उपकुलपति बराल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा हालेको थियो। आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा बरालले गैरकानूनी सम्बन्धनका साथै कर्मचारी नियुक्तिमा आर्थिक चलखेल गरेको आरोप लगाएको थियो।
यसैगरी, बौद्धिक चोरी र भ्रष्टाचारको आरोप खेपेका व्यक्तिहरूले नै उपकुलपति पदका लागि निवेदन दिंदा छनोट समितिले सामाजिक छवि पनि हेर्नुपर्ने शिक्षाविद्हरूको सुझाव थियो। तर छनोट समितिले ४३ जना आवेदकको व्यक्तिगत विवरण सहित कार्ययोजना र शोधपत्र मूल्यांकनका आधारमा संक्षिप्त सूचीमा परेको बताएको छ।
संक्षिप्त सूचीमा पर्ने अन्य उम्मेदवारमा कुसुम शाक्य, गोविन्द सुवेदी, चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्रप्रसाद पौडेल, टंकनाथ धमला, नारायणप्रसाद बेलवासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्रप्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुसाल र सूर्यबहादुर थापा छन्।